आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
वडाध्यक्षको डायरीबाट
प्रथम प्रहरको समय चलिरहेको थियो । वडामा सेवाग्राहीहरूको अलि भिड थियो । म समयमै वडा कार्यालयमा पुगी सेवाग्राहीहरूसँग छलफल गर्न व्यस्त थिएँ । छलफलकै क्रममा वडा कार्यालय अगाडिकै कृष्ण सुवाल (नाम परिवर्तित) र उसकी श्रीमती शोभा सुवाल (नाम परिवर्तित) को पालो आएपछि के समस्या भयो भनी प्रश्न राखेँ । उहाँहरूको घर वडा कार्यालयअगाडि थियो । घर पुरानो र जीर्ण अवस्थामा थियो । त्यही भएर त्यस घरमा एक जना बुढी आमामात्र बस्नुहुन्थ्यो । बुढी आमा कृष्ण दाइकी आमा हुनुहुन्थ्यो । घर २०७२ सालको भूकम्पले जीर्ण र बस्ने अवस्था नभएकोले उहाँ घर पछाडि जसोतसो टहरा बनाएर बस्नुभएको थियो । त्यस टहरामा पहिले एकचोटि कृष्ण दाइ र भाउजू बत्ती हाल्न मिटरको लागि सिफारिस लिन आउनुभएको थियो । तर, उहाँहरूसँग त्यस जग्गाको पुर्जा नभएकोले लामो अवधिसम्म सिफारिस रोकिएको थियो । पछि फिल्ड निरीक्षण गरी व्यवहारिकरूपमा सिफारिस दिएको थिएँ । त्यसपछि उहाँहरूले आफ्नो टहरामा बत्ती बाल्न पाउनुभएको थियो । धाराको लागि पनि उहाँहरूले सिफारिस माग्न आउनुभएको थियो ।
शोभा भाउजू ठुलो स्वरले भन्न थाल्नुभयो, “यो संसारमा आफ्नो भन्ने कोही छैन । हामी गरिब भएकोले सबैले हेपे । अब त दाजुभाइले समेत हामीलाई बस्नै दिएन । जसोतसो गरी बनाएर बसेको टहरासमेत छिमेकीले भत्काई दिन्छु भनी धम्की दियो । कहाँ न्याय माग्न जाने ? हामीलाई टहरामा पनि बस्न नदिने भयो । तपार्इँले हामीलाई बाँच्ने वातावरण बनाई दिनुप¥यो । अब भएको टहरा पनि छिमेकीले भत्काएपछि हामी कहाँ गएर बस्न जाने हो ?”
शोभा भाउजूको घरायसी समस्या थियो भन्ने विषयमा मलाई अलि अलि थाहा थियो । मैले कृष्ण दाइतिर फर्केर समस्या बताउन अनुरोध गरँे । त्यसपछि उहाँले भन्नुभयो, “सर, हामी चार जना दाजुभाइ छौँ । बुढी आमा पनि हुनुहुन्छ । उहाँ जीर्ण घरमै बसिराख्नुभएको छ । घर पछाडिको टहरामा हामी बसिरहेका छौँ । मेरा तीनै जना भाइहरू ठेकेदार छन् । त्यही भएर तीनै जना काठमाडौँमा घर बनाएर बसेका छन् । उनीहरूलाई यहाँको घरको आवश्यकता छैन । उनीहरू चाडपर्वबाहेक घर नै आउँदैनन् । हामी गरिब छौँ । कमाइ छैन । मेरो काम धन्दा केही छैन । भएको टहरा पनि भत्काई दिन्छु भन्छ छिमेकीले । भाइहरूकै आड पाएर छिमेकीले पनि हेपेको हो । घर बुबाको नाममा छ । बुबा बित्तिसकेकोले आमाको नाममा नामसारी गरेर मेरो भाग जत्ति भए पनि कित्ताकाट गरिदिएमा सानो घर बनाएर बस्न पाए हुन्छ । सरले भाइ र आमालाई वडामा बोलाएर एकपटक छलफल गर्ने वातावरण बनाइदिनुप¥यो ।”
मैले भाइ, आमाको नाम र मोबाइल नम्बर टिपेँ । अनि एउटा सामान्य निवेदन लिखितरूपमा दिन अनुरोध गरेँ । त्यसपछि मैले भाइहरूलाई कल गरेँ । भाइहरूलाई भोलि प्रथम प्रहरमा वडामा आएर घरायसी सम्पत्ति बाँडफाँड विषयमा छलफल गर्न अनुरोध गरेँ । भाइहरूले वडामा आउन तयार भएको जानकारी दिनुभयो ।
भोलिपल्ट चारजना दाजुभाइ समयमै वडामा आउनुभयो । आमा पनि आउनुभयो । जनप्रतिनिधिहरू पनि आउनुभयो । प्रथम प्रहर भएकोले वडामा अलि सेवाग्राहीहरूको भिड थियो । मैले बैठक सुरु गरेँ । सबैभन्दा पहिले आमालाई बोल्न अनुरोध गरेँ । आमाले भन्नुभयो, “मेरो लोग्ने मरिसक्यो । मेरो जीउ छउन्जेल कसैलाई बाँडेर दिन्न । जग्गा अलिकति पनि बाँकी छैन । यो घर त बाँडेर दिन्न । म मरे पनि दिन्नँ । कसलाई यो घर चाहियो भनेको बाबु ? म त दिन्न है ।” त्यसपछि कृष्ण दाइलाई बोल्न अनुमति दिएँ । तर, उहाँ बोल्न मान्नुभएन । त्यसपछि श्रीमतीले बोल्न थाल्नुभयो, “छोराहरू तिनै जनाको घर छ । हामी गरिब भएकोले घर पनि छैन । पुख्र्यौली घर र जग्गा अलि भएको पनि नदिए हामी कहाँ गएर टहरा बनाउने त ? हामीलाई पनि एक तला दिनुस् । नभए हामीलाई भाग लाग्ने जति जग्गा दिनुस् ।”
त्यसपछि भाइहरूलाई बोल्ने अवसर दिएँ । तिनै जना भाइको एउटै स्वर थियो, “आमाले जे भन्नुहुन्छ त्यही गर्ने । उहाँको इच्छाबिना कसरी सम्पत्ति बाँडफाँड गर्ने र ? आमा मान्छ भने बाँडफाँड गर्दा नि राम्रो । नभए यत्तिकै होस् ।” मैले भाइहरूलाई भनेँ, “यहाँ वडामा उजुरी आएको अवस्थामा यथास्थितिमा सम्पत्ति रहन सक्दैन । तपाईँहरूको काठमाडौँमा घर छ । दाइ विचरा टहरामा बस्छ । आमा जीर्ण घरमा बस्छ । अनि तपाईँहरू सम्पत्ति नबाँड्ने भनेर कहाँ हुन्छ ? तपाईँहरू सकारात्मक हुनुप¥यो ।” ज्येष्ठ जनप्रतिनिधिले भन्नुभयो, “घरमा एक्लै बुढी आमा एकजना मात्र बस्नुहुँदैन । तीन जना छोरा काठमाडौँमा बस्ने भएकोले आमा कोही न कोही छोरासँग बस्नुपर्छ । जेठो छोरा टहरामा बसिरहेको छ । त्यो टहरा पनि अरुले आफ्नो जग्गामा परकोले भत्काएको अवस्था छ । त्यसैले, जेठो छोरालाई उसको भागको जग्गा दिनुपर्छ । उसले सानो टहरा भए पनि बनाउँछ । बुढी आमा पनि जेठो छोरासँग बस्ने गए पनि हुन्छ । नभए काठमाडौँमा बस्ने तीन जना छोरामध्ये एकजना आमासँग बस्न आउनुस् । सबै परिवार मिलेर बस्नुपर्छ । परिवार नमिलेपछि अरुले हेपिहाल्छ ।” त्यसपछि महिला सदस्यले भन्नुभयो, “बुढी आमालाई एक्लै घरमा राख्नु हुँदैन । चारजना छोरामध्ये एक न एक जनाले पाल्नैपर्दछ । नभए सम्पत्ति अंशबन्डा गर्नुस् । आमालाई पनि एक भाग राख्नुस् र आमाको भाग पाल्ने छोराले लिनुस् । यसमा विवाद गर्नुपर्ने केही देख्दिनँ ।”
त्यसपछि मैले बोल्ने अनुमति लिएँ र भनेँ, “तपाईँहरू वडाको एक प्रतिष्ठित परिवार हो । फेरि आर्थिकरूपमा पनि त्यत्ति कमजोर परिवार होइन । सक्नेले नसक्ने दाजुभाइलाई सहयोग गर्नुपर्दछ जस्तो लाग्दछ । दाजुभाइबिच पनि धेरै बेमेल र वैमनस्यता हुनु राम्रो होइन । दाजुभाइ नमिले अरुले हेप्छ । अनि तपाईँहरू वडामा अरुलाई सहयोग गरेर हिँड्ने मान्छे, अहिले आएर आफै झगडा गर्नु अलि मज्जा आएन । त्यसैले आमाको समस्या र जेठो छोरा कृष्ण दाइको समस्यालाई सम्बोधन गर्नुपर्दछ । नभए सबै दाजुभाइ यही टोलमा बस्न आउनुस् । सबै मिलेर घर बनाउनुस् ।” मेरो र अन्य जनप्रतिनिधिहरूको कुरामा उनीहरूको सहमति देखिएन । सबैले आ–आफ्नो तर्क राखे । मैले फेरि बैठक बस्ने गरी समापन गरिदिएँ ।
त्यसपछिका दिनहरूमा कृष्ण दाइ, शोभा भाउजू र उसको छोरा वडामा दैनिकजस्तो आउन थाल्नुभयो । तर, आमालाई मैले सम्झाउनै सकिनँ । कति पटक म आफै आमाकै घरमा गएर सम्झाएँ । छोराहरूलाई कति पटक फोनमार्फत सम्झाएँ । अनि वडामा एक्लाएक्लै राखेर धेरैपटक सम्झाएँ । त्यसपछि बल्ल छोराहरू दाइलाई उसको भाग घर वा टहरा बनाउनको लागि भए पनि मञ्जुरनामा दिन तयार हुनुभयो । त्यसपछि बल्ल मलाई अलिकति आशा पलायो । छोराहरू मानेपछि बुढी आमा पनि मान्नुभयो । त्यसपछि मैले जनप्रतिनिधिसहितको बैठक राखे । बैठकले एउटा सहमति ग¥यो । भाइहरूले एउटा नक्सा पनि बनाएर ल्याउनुभएको थियो । सानो भाइले भन्नुभयो, “हामी सगोलमा घर बनाउन लागेको सर । हामी पनि भक्तपुर बस्न आउन खोजेका छौँ । यसको लागि सरले सहयोग गर्नुपर्छ । दाइको भागजत्ति मात्र मञ्जुरनामा दिने र दाइले हामीलाई पनि घर बनाउन मञ्जुरनामा दिने कागज बनाउनुपर्छ र आवश्यक ठाउँमा हामी र दाइले सगोलमै हस्ताक्षर गर्ने भयो भन्ने हामी सहमत छाँै ।” भाइको कुरामा शोभा भाउजूको अलिकति विमति रह्यो तर कृष्ण दाइ र छोराको सहमति भएकोले त्यहीअनुसार माइन्युट तयार भई सबैको हस्ताक्षर गरियो । त्यसपछि सबैको हस्ताक्षर गराई मैले बैठक समापन गरेँ । बैठक समापन भएको करिब एक वर्षपछि भाइहरूले सगोलमा पाँचतले घर बनाए । कृष्ण दाइले पनि आफ्नो भागमा घर बनाउनुभयो ।
Leave a Reply