‘मार्च फर अस्ट्रेलिया’ को ¥यालीमा झल्किएको नश्लवाद
- भाद्र २६, २०८२
युगको विशेषताले नै साहित्य र कलाको क्षेत्रमा पनि परिवर्तन ल्याउँछ र यिनै परिवर्तित प्रवृत्तिहरूलाई आधुनिकता भनिन्छ । परम्परालाई मात्र स्वीकार गर्नु, प्राचीनतालाई नै गर्वको वस्तु ठान्नु र पुरानै बाटोमा चलिरहनु प्रतिभाशालीको काम होइन । परम्पराको विकासमा नै व्यक्तित्व देखिन्छ, प्रतिभा झल्कन्छ, प्रगति हुन्छ । केवल नवीनता र परिवर्तन आधुनिकता होइन । वर्तमानलाई भूत र भविष्यसँग जोड्ने वस्तु मात्र आधुनिक हुन्छ, नयाँ हुन्छ, प्रगतिशील हुन्छ । ऐतिहासिक विकास नभई कुनै तत्व प्रकट हुँदैन, त्यसै आकाशबाट झर्दैन । वर्तमान भूतकालको परिणाम हुन्छ । परम्परा र वर्तमान तत्वको अन्तरविरोधबाट भविष्यको आधार बन्न थाल्छ, मार्ग प्रस्ट हुँदै आउँछ र मानिसको चेतनामा यो भाव र विचार पस्दै आएपछि आदर्शको रूपमा प्रेरक शक्ति बन्छ र स्वप्न यथार्थमा बदलिन थाल्छ । अतः वर्तमानलाई चलाउनमा भूतकालको जत्तिकै भविष्यसम्बन्धी कल्पना वा अड्कलको पनि महत्व छ ।
जीवन र जगत्् साहित्य र कलामा समाजशास्त्र, धर्म, नीति, सौन्दर्य, दर्शन र मनोविज्ञानको रूपमा ओर्लन्छन् र हामी त्यसलाई भाव, रूप, शैली, अभिव्यञ्जना आदि नाम दिन्छौँ । साहित्य र कला जगत्का गतिविधिहरू वास्तविक जीवन र जगत्का गतिविधिहरूको छायाँ हो । तर, भाव–जगत्को स्पन्दनले व्यवहार–जगत्मा पनि ठुलो प्रभाव पार्छ, त्यसैले त साहित्य र कलाको सामाजिक महत्व भयो । आजका राज्यहरूले कला र साहित्यमा चाख लिन थालेका छन् । व्यक्ति र समाज, वातावरण र चेतनाको असङ्गति र अन्तद्र्वन्द्व नै आजका विभिन्न साहित्यिक र कलात्मक प्रवृत्तिहरूको मूलमा पाइन्छ र लेखक वा कलाकारका सामाजिक स्थिति र चेतनाको चरित्र जस्तो हुन्छ अभिव्यक्तिको रूप पनि त्यसै अनुरूप हुनु स्वाभाविकै हो । स्थापना र मान्यताहरू, प्रतिमान र मूल्यहरू, सौन्दर्यबोध र भावधारा आदि सबै थोक त्यसैबाट निर्धारित हुन्छ । आजको युगको विशेषता हो, सबै कुराको व्यावसायीकरण, व्यापक प्रचार, शिक्षा र विज्ञापन, विज्ञान र शिल्पको असाधारण प्रगति, विश्वव्यापी युद्ध, शीतयुद्ध र अन्य व्यापक उथलपुथलहरू, अस्थिरता, जीवनका सबै क्षेत्रमा राज्यको बढ्दो नियन्त्रण र मध्यम वर्गीय स्थिति तथा अभिजात्य संस्कृति र सभ्यताको द्रुतगतिले ¥हास । हक्सले, एच.जी. वेल्स, हेमिंग्वे, स्टिनवेक, जे.बी. प्रिस्टले, आर केस्लर, जर्ज अरबेल, रोमा रोलाँ, बर्नाड शा, जिँ पाल शात्र, लुई अरागाँ, इल्या इहरेन बुर्ग, सोलोखोव, टेगोर, प्रेमचन्द, कामु आदि सबैले विभिन्न रूपले आजको युगको विशेषतालाई अभिव्यक्त गरेका छन् । नेपालको विगत दुई–तीन हजार वर्षदेखि जोगाउँदै ल्याएको सामन्ती सभ्यता र संस्कृतिमा पनि यी विश्वव्यापी लहरहरूले विगत सात–आठ वर्षदेखि केही प्रभाव पार्न थालेका छन् । सापेक्षतावाद, क्वान्टम फिजिक्स, विकासवाद र अतिरिक्त मूल्यको सिद्धान्तले न्युटनीय यान्त्रिक–चक्रगतिको खण्डन भएपछि यान्त्रिक भौतिकवाद, सामाजिक परमाणुवाद, व्यक्तिवाद र मनोगत आदर्शवादका बुर्जुवा मध्यमवर्गीय सिद्धान्तहरूलाई ठुलो धक्का लाग्यो र प्रथम महायुद्ध पछिको दस–पन्ध्र वर्षमै पाश्चात्य चिन्तनमा ठुलो अन्तरविरोध र असङ्गति उत्पन्न भयो । जीवन र दृष्टिमा उत्पन्न भएका यी उथलपुथलहरूले साहित्य र कलामा ती तत्व जन्माए जसलाई अत्याधुनिकता, नयाँ साहित्य, आधुनिक कला, सामाजिक यथार्थवाद, ‘मनोवैज्ञानिकता’ आदि भनिन्छ ।
यस नयाँ प्रवृत्तिका पछाडि दुई शक्तिहरू देखिन्छन् । एकातिर द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको दर्शनद्वारा प्रभावित, श्रमजीवी वर्गप्रति सहानुभूति भएका वा मानवको उदात्तरूपमा चाह राख्ने र उन्नतिशील परिवर्तन चाहने तत्वहरू र अर्कोतिर फ्रायड, एडलर, नित्सेका दर्शन र मोर्गन मेन्डलका जीवन–विज्ञानका विचारधारा र आधुनिक नूतन रहस्यवादी दर्शनबाट प्रभावित, मध्यम वर्गलाई अतिशय महत्व दिने, श्रमजीवीहरूको शक्ति बढ्दै गएकोमा आत्तिएका, बृहत् सामाजिक मानवलाई खुम्च्याएर आफ्नै अन्तरमा पिल्सिएको साँघुरो ‘व्यक्ति’ बनाउन चाहने, मध्ययुगको आध्यात्मिक मुक्तिको भावनामा झैँ व्यक्तिले समाजबाट मुक्ति पाउन पर्छ भन्ने विकृत सङ्कीर्ण निरर्थक र खोक्रो स्वाङ रच्ने र देख्दा ज्यादै अनौठो, ज्यादै नयाँ, ज्यादै रहस्यमय, अग्राह्य, अद्भूत, अव्यवस्थित, परम्परा र मान्यताको सबै तत्वप्रति उच्छृङ्खल विद्रोही, प्राकृतिक अवस्था अर्थात् पशु अवस्थाको गौरव गाउने, त्यसैलाई आदर्श मान्ने र सभ्यताको नयाँ र विकसित रूपप्रति नाक चेप्य्राउने, कुनै अनुशासन नमान्ने, कुनै नैतिकतामा पनि विश्वास नभएका, सबै नियम र सामाजिक आदर्शका विरोधी, देख्दा महाक्रान्तिकारीजस्ता, अराजकतावादीजस्ता तर अन्तरमा खोक्रो, कायर, विकृत, पलायनवादी, अतीतमुखी प्रवृत्तिहरू र पाखण्डी तत्वहरू छन् । यी दुई तत्वको बिचमा समन्वय गर्न चाहने तत्व पनि छन् । पहिलो शिविरलाई सामाजिक यथार्थवादी भन्छन् र दोस्रो शिविरलाई ‘मनोविज्ञानवादी’ । बिचका तत्वहरू प्रायः एक न एकतिरै झुकेको देखिन्छ । दुवै शिविरमा अनेक मतमतान्तर छन् । दुवै शिविरको ऐतिहासिक परम्परा र सामाजिक आधार छ । यो सानो लेखमा यी दुई शिविर र यसमा पर्ने अनेक प्रभावहरूको ऐतिहासिक विश्लेषण, वर्तमान आधार, आधारको भौतिक कारण, सैद्धान्तिक असङ्गति र वैज्ञानिक आधार, शिल्प र रूप विधानका विशेषता आदि सबै थोक प्रस्ट पार्नु असम्भव भएकोले केवल सङ्क्षिप्त रूपरेखाको वर्णनसम्म गर्ने प्रयास गर्दछु ।
मनोवैज्ञानिक शिविरका सबैजसो सम्प्रदायहरूमा फ्रायड र एडलरका सिद्धान्तहरूको प्रभाव परेको छ । व्यक्तिको चेतन मन र अवचेतनामा दमित कामवासनाको सङ्घर्ष वा अवचेतनमा बसेको भावको क्षतिपूर्ति गर्ने प्रयास नै सम्पूर्ण व्यक्तिगत र सामूहिक मानव व्यवहार र मानव मनको मूल हो भन्ने रहस्यवादी, व्यक्तिवादी, आदर्शवादी, यान्त्रिक भौतिकवादी सिद्धान्त आजको वैज्ञानिक मनोविज्ञानमा मान्न छाडिसकियो तर साहित्य र कलाको क्षेत्रमा अझ पनि मानिएकै छ । कला जगत्को विशेषता नै यो हो कि त्यहाँ लोकप्रिय असत्य र भ्रान्ति धेरै कालसम्म टिकिरहन्छन् । इगो, ईड, लिविडो, सुपरईगो, इरोज, सेन्सरसिप, ईडिपस र इलेक्ट्रा कम्प्लेक्सहरू, अनेक फोबिया र म्यानियाहरू पौराणिक–दार्शनिक तान्त्रिक अवधारणाहरू जस्तै छन् । भौतिक स्पष्टता र वैज्ञानिक प्रामाणिकता ती नाम र सत्ता दुवैमा आंशिक मात्र छ र त्यही आंशिक सत्यको पनि भौतिकवादी मनोविज्ञानले झन् स्पष्ट व्याख्या गरिसक्यो । गेस्टाल्ट मनोविज्ञान, स्नायुविज्ञानको आधारमा खोजिएको मनोविज्ञान, प्रायोगिक मनोविज्ञान, मिनेसोटा विश्वविद्यालयमा यता केही वर्षमा गरिएका धेरै प्रयोगहरू, रुसी वैज्ञानिक पावलोव र अमेरिकी मनोवैज्ञानिक वाटसनको उच्चतर स्नायु क्रिया–प्रतिक्रियासम्बन्धी विस्तृत खोजहरू, इलेक्ट्रोनिक र साइवरनेटिक्स विज्ञानका हालैका चमत्कारहरू, न्युरोसिस र साइकोसिस उत्पन्न गर्न र निको पार्न मिल्ने रासायनिक र यान्त्रिक विधिहरू एल.एस.डी. २५, सोडियम पेन्थीलेट, आध्यात्मिक अवस्थामा पु¥याइदिने मेस्कालिन, मुस्कारिन, ब्ल्याक हेनवेन आदि औषधि, मस्तिष्कको चिरफार र विद्युत् धक्का, व्यायाम र श्रम चिकित्सा, योग, रक्तदान, इन्सुलिन शक, विद्युत् निद्रा, एमिनासाइन, कन्डिसन्ड रिफलेक्स विधिहरू, सव्लिमिनल एडभर्टाइजिङ, इच्छाशक्ति नष्ट पार्न मिल्ने र हिप्नोसिस पैदा गर्ने विधि र यन्त्रहरू, इच्छाले चल्ने प्रोस्थेटेमिक यन्त्रहरू आदिले मनोविज्ञानलाई दर्शन, टुनामन्तर, सरल विश्वास र रहस्यवादबाट परिपक्क विज्ञानतिर लान थालेको छ । सिल्लीपन र मानसिक विकृतिमा होड गरेर प्रतिभाको चमत्कार देखाउने आवश्यकता छैन । आजको मनोविज्ञानले सृजनालाई एक प्रबुद्ध प्रक्रिया मान्दछ, फ्रायडवादले झैँ स्नायुविक विकृति मान्दैन । फ्रायडवादी मनोवैज्ञानिक साहित्यमा व्यक्ति अर्थात् अवचेतन मन समाज अर्थात् चेतन मनको विरुद्ध जान्छ । अवचेतनालाई नै रोमान्टिक साहित्यमा हृदय भनिन्थ्यो, आध्यात्मिक साहित्यमा आत्मा भनिन्थ्यो र धार्मिक र भक्ति साहित्यमा ईश्वर, अन्तस्करण प्रेरणा र भगवत दर्शन भनिन्थ्यो । चेतन मन बुद्धि, सङ्गठन, सामाजिकता, उदारता, विराटता, महानता र उदात्त यथार्थ जीवन सङ्घर्षका प्रतीक हुन् । हेगेलीय आदर्शवादमा झैँ फ्रायडवादी साहित्यमा पनि भौतिक द्वन्द्वको काल्पनिक छायाँलाई नै वास्तविक द्वन्द्व मान्दछन् । फ्रायडवादी मनोवैज्ञानिक साहित्यमा पात्रहरू स्वतन्त्र अर्थात् सङ्कीर्ण र सामाजिक दायित्वबाट पर भाग्ने खालका न्युरोटिक हुन्छन्, उनका व्यवहार फ्रायडीय सिद्धान्तअनुसार चल्छ । वर्तमान यथार्थबाट होइन कि बाल्यकालमा बनेका कप्लेक्सेजका कठपुतलीझैँ यान्त्रिक किसिमबाट तिनका पात्रहरू चालित हुन्छन् । शिशु अवस्थाका ग्रन्थिबाट प्रेरित भएकाले बच्चाहरूको जस्तो गोलमाल भाव र प्रवल उद्वेगहरू, आत्मकरुणा, आत्मप्रेम, रुदन, आत्महिंसा र अद्भूत व्यवहारहरू गर्छन्, जीवनको यथार्थ सङ्घर्षबाट भाग्दछन् । मिथ्या अहङ्कारमा गुम्सेका हुन्छन्, विचारै मात्र गरिरहन्छन् । झूटो दार्शनिकता मात्र देखाइरहन्छन् । काम विकृति उनको विशेषता हुन्छ । भाव र रूपमा अराजकतावादी उच्च्छुड्खलता, स्वप्नमयता, असामाजिकता र फ्रि–एसोसियसन टेक्निक (अर्थात् भाव शृङ्खलालाई स्वाभाविक रूपमै आउन दिने, कुनै बौद्धिक अनुशासनमा नराख्ने, सामाजिक भाषा र सर्वस्वीकृत शब्द, ध्वनि, सङ्केतहरू नमान्ने, आफ्नै निजी चित्र शृङ्खला र ध्वनिहरूलाई अभिव्यक्त गर्ने पद्धति) को प्रयोग गर्छन् । डी.एच. लरेन्स, डोरोथी रिचार्डसन्, मार्लेल प्राउस्ट, डस पैसस्, जेम्स ज्वायस, मेरी किलफोर्ड, प्रयाङ्क, कोलिट, भर्जिनिया उल्फ, काफ्का, ग्याब्रियट’ड एनन्जिया, आन्द्रेजिद, हेनरी जेम्स र हिन्दी साहित्यका अज्ञेय, इलाचन्द्र जोशी, धर्मवीर भारती, जैनेन्द्र, बङ्गालीमा बुद्धदेव वसु आदि र नेपाली साहित्यका विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, शङ्कर लामिछाने, विजय मल्ल, पोषणप्रसाद पाण्डेय आदिलाई विभिन्न प्रकारका फ्रायडवादी मानिन्छ ।
सर–रियलिज्यमा फ्रायडवादको सबभन्दा बढ्ता प्रभाव परेको छ । यसका प्रवर्तक हुन् चाल्र्स बोदलेयर, आन्द्रेजिद, आन्द्रे ब्रेतन आदि । चित्रकलाबाट निस्केर यो वाद साहित्य र विशेषरूपले काव्यको क्षेत्रमा पुगेको हो । सर–रियलिस्ट कलाकार त्रिआयात्मक (श्री डाइमेन्सनल) प्रभाव उत्पन्न गर्न वास्तविक जगत्सँग नमिल्ने अनौठो रूप र विचार दिन, कुनै चेतन मान्यता र व्यवस्था पालन नगर्ने, कुनै क्रम नियम मर्यादा र विवेक नमान्ने हठ गर्दछन् । सर–रियलिस्ट कलाकारहरूमा साल्भाडोर डाली, म्याक्स अर्नेस्ट, आदि प्रख्यात छन् । पिकासो पनि केही वर्षसम्म यसै सम्प्रदायमा पर्दथे । लुई अरागाँ र पाल इल्यार सँगसँगै यिनले पनि यस काल्पनिक विद्रोहबाट बिदा लिएर क्युविज्म र सामाजिक यथार्थवादको क्रान्तिकारी सम्प्रदायतिर लागे । बेलायतमा हर्बट रिडले सर–रियलिज्मको प्रचार गरेका छन् । घोर कलाविरोधी, अव्यवस्था र विध्वंशमा मात्र सौन्दर्य देख्ने दादाइज्म नामक कला आन्दोलनबाट फुटेर सर–रियलिज्म निस्केको हो । जारा, फिलिप सुपोल र जेम्स ज्वायस दादाइज्ममै अडिरहे, आन्द्रे वेतन र पल इल्यार सर–रियलिज्मतर्फ भए ।
प्रयोगवाद विषयवस्तु र रूप दुवैमा आधुनिक यथार्थको अनुरूप अत्याधुनिक तत्वहरू प्रकाशमा ल्याउने घोषणा गर्छ, तर प्रयोग गर्ने साधनको ठाउँमा साध्य हुन जाँदा अस्वस्थ प्रवृत्ति बन्न गएको देखिन्छ । अस्वस्थ रूपमा यो सम्प्रदाय अनास्था, अनिश्चय, आत्म–करुणा, अश्लीलता, वीभत्सता, कुरुचि, पाण्डित्य प्रदर्शन, अस्पष्टता, कुण्ठा आदिले ग्रस्त देखिन्छ । आफ्नो स्वस्थ रूपमा प्रयोगवादले उपमा, अलङ्कार, रूपक, अन्योक्ति, वक्रोक्ति, अत्युक्ति, ध्वनि, लय, ताल, भाव, उच्चारण, ध्वनिहरूको नृत्य र स्वरको उकालो ओरालो, प्रतीक र सङ्केत आदि सबैलाई समृद्ध पारेको छ । प्रयोगवादीहरूमा फ्रायड, वाटसन र विलियम जेम्सका मनोवैज्ञानिक सिद्धान्तका अनुयायी पनि छन्, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका अनुयायी पनि । पहिला खालका प्रयोगवादीहरू आफूलाई ‘वादहरूबाट स्वतन्त्र’ भन्ने घोषणा गर्छन् ‘शुद्ध चेतना’ मा चलेको छु भन्छन्, विषयवस्तु र शिल्प विज्ञान जीवनका गतिविधिबाटै चेतन–अचेतनरूपमा निर्धारित हुन्छन् भन्ने बिर्सन्छन् । उनका नायक असामाजिक हुन्छन् र त्यसैलाई व्यक्तित्व ठान्दछन् । दोस्रो खालका प्रयोगवादीहरू भने व्यक्तिभित्र समाज र समाजभित्र व्यक्ति छ र यो द्वन्द्वात्मक प्रक्रिया नबुझी मनोविज्ञान बुझिन्न, व्यक्ति र समाजप्रतिको यान्त्रिक दृष्टिकोणले गर्दा नै जीवनका विविध क्षेत्रमा समन्वय हुन नसक्ने खालका अन्तरविरोध, असङ्गति उत्पन्न हुन्छन् र परम्परागत समाज सभ्यता र संस्कृति तथा अर्थ व्यवस्था र राजनीति ¥हासोन्मुख हुन्छ, रोग ग्रस्त हुन्छ र नष्ट भएर जान्छ भन्ने कुरामा विश्वास गर्छन् र व्यक्तिहरूको समाज टिक्न सक्दैन, सामाजिक व्यक्तिहरूको समाज मात्र टिक्छ भन्छन् । भाषा, संस्कार, अनुभूति, संस्कृति, रुचि, विचार, दर्शन दृष्टिकोण कुनै कुरा पनि रोजेर लिइने होइन, परिवार समाज र वातावरणबाट स्वतः चेतन–अचेतन रूपमा प्राप्त हुने कुरा हुन् । छान्न पाइने र छान्न सकिने त परिपक्व भएपछि मात्र हो । साधारणतः सामाजिक र मनोवैज्ञानिक नियमले निर्धारित कुरा या अवस्था नै धेरैजसो मानिसले छान्दछन् । उच्च शिक्षितवर्ग र बुद्धिजीवीहरू झन् बढी कन्डिसन्ड हुन्छन् । व्यापक नियमहरूको ज्ञान र उच्च आदर्श, प्रबल लगन र इच्छा शक्ति भएका महापुरुषहरू मात्र आर्थिक–सामाजिक हठवादिता, वर्ग–स्वार्थ र विचारको असङ्गतिबाट धेरथोर मुक्त हुन्छन् । यही प्रक्रियाले नै कला र काव्यको उत्पत्ति भो । समाजले वर्तमान अवस्थासम्म विकास गर्न सक्यो । प्रत्येक बाह्य सत्तामा मानवीय अर्थात् सामाजिक चेतनाको आरोपण नगरी मानिस विचारै गर्न सक्तैन† यो एक वैज्ञानिक नियम हो । संसारका सबै भाषा, सङ्केत, ध्वनि र भावुक तथा स्पष्ट कथनमा र अनुभूतिमा यो तथ्य छँदै छ । अन्तर र बाह्यको परस्पर क्रिया–प्रतिक्रिया, व्यक्ति र समाजको विरोधात्मक एकता, वस्तु यथार्थ र रूप यथार्थमा फरक र एकता, अनुभूति र अभिव्यक्तिको विरोध र समागम, ऐतिहासिकरूपले गतिशील काल र वातावरण, अंशहरूको योगभन्दा पूर्ण अधिक हुन्छ भन्ने तथ्य, परिमाणको गुणमा प्रभाव र गुणको परिमाणमा प्रभाव, सूक्ष्मको व्यापकता र व्यापकको सूक्ष्मतामा भइरहने विच्छिन्न रूपान्तर आदिको, ज्ञान र सतत् परिवर्तन भइरहेको स्थितिसँग परिचय आदिले मात्र प्रयोग, नवीनता, उच्चस्तरमा सन्तुलन, मनोवैज्ञानिकता, सौन्दर्य बोध, स्वस्थ आस्था र इच्छापूर्ति, मूल्य र प्रतिमानको वैज्ञानिकता, भाव तथा विचारको मौलिकता र उदात्तता उत्पन्न हुन्छ । निर्लक्ष्य र अविवेकी बालकोचित प्रयोगबाट सत्य शिव सुन्दर केही पनि निस्कन सक्तैन । बीसौँ शताब्दीका महान् सामाजिक यथार्थवादीहरू– मिसपर्लबक, स्टिफन ज्वेग, रोमारोलाँ, प्रेमचन्द, बर्नाड शा, समरसेट, टैगोर, गोर्की, लुसुन, सोलोखोव, थोमस मुन, पाब्लो नेरुदा, लुई अरागाँ, अनातोले फ्रान्स, मालरो, निराला, विलियम कवनर, जिन स्टिवेक, हेमिंग्वे, सिन्केयर लिविस, ज्याक लन्दन, थियोडोर ड्रेसर, एच.जी. वेल्स, डस पैसस र बालकृष्ण सम आदिले पनि त मनोवैज्ञानिक साहित्य उत्पन्न गरेका छन् । मानवको प्रत्येक सामाजिक व्यवहारको आन्तरिक पक्ष मनोवैज्ञानिक हुन्छ । फ्रायड, एडलर, चारकोट, मोर्टन, प्रिन्स, मेस्मर, म्याकडुगल, जुङ आदिको नामै नसुनिएको युगमा पनि गहन मनोवैज्ञानिकता भएको साहित्य प्रशस्त निस्केको छ । उदाहरणको निम्ति ग्रिक नाटककारहरू, सेक्सपियर, गेटे, मोपाँसा, अस्कर वाइल्ड, दोस्तोवस्की आदि नै छन् । व्यक्तिको व्यवहार बुझ्न व्यक्तिहरूको व्यवहार बुझ्नु आवश्यक हुन्छ र व्यक्तिहरूले व्यवहार गर्न थाल्नासाथ सामाजिक तत्व प्रकट हुन्छ । अतः समाजशास्त्रको घेराभित्र परिहाल्छ । समाजशास्त्र बुझ्न सम्पूर्ण भौतिक जीवन नै बुझ्नुपर्यो, इतिहास र उत्पादन प्रक्रियाको सम्बन्ध बुझ्नुपर्यो । सेक्स र न्युरोसिस र यस्तै अन्य छेउका कुरा पक्डेर समाज र इतिहासको व्याख्या हुन सक्तैन, ज्ञान हुन सक्दैन, समाधान निस्कन सक्तैन । गहन अन्तर्दृष्टि, व्यापक ज्ञान र अनुभव, विराट् पृष्ठभूमि र लगनशील साधनाबाट मात्र महान् रचना उत्पन्न हुन्छन् । आँखालाई फुटकर चीजहरूमै अल्झाइरह्यो भने रूखहरू त देखिन्छ, जङ्गल देखिन्न, व्यक्तिहरू देखिन्छन् टाइप प्रारूप देखिन्नन्, मानिसहरू हिँडेको देखिन्छ समाज हिँडेको देखिन्न, फुटकर सामान्य व्यक्तिगत घटनाहरू देखिन्छन् तर व्यापक गतिविधि देखिन्न, कार्यकारणको सम्बन्ध नै बुझिन्छन्, विकासवान् र ¥हासोन्मुख तत्वहरू चिन्न सकिन्न । प्रकृतिवादी वा फोटो यथार्थवादी रचना यस्तै हुन्छन् । उन्नाइसौँ शताब्दीलाई प्रकृतिवाद पनि ठिक्कै थियो तर आज त भूत, वर्तमान र भविष्य एकैपल्ट देखिरहेको छ । आँखीझ्यालबाट सहर हेर्दा दुर्गन्धी गल्ली मात्र देखिन्छ । विमानबाट हेर्दा सम्पूर्ण सहरको गतिविधिको दर्शन हुन्छ । गोर्कीले लेखेका छन् – “महान् लक्ष्य नै महान् कालको श्रेष्ठ हुनसक्छ, जति माथि उक्लेर हेछौँ उति टाढासम्म देख्छौँ, उति गहिरो देख्छौँ ।”
स्रोत : गोविन्द लोहनीका दार्शनिक रचनाहरू
Leave a Reply