भर्खरै :

किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’ अझै ताजा, आणविक हतियारसहित अमेरिकी वार्तामा खुला

किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’ अझै ताजा, आणविक हतियारसहित अमेरिकी वार्तामा खुला

सियोल, ६ असोज (एएफपी) । प्रजग कोरियाका सर्वाेच्च नेता किम जोङ उनले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘मनपर्ने सम्झना’ अझै ताजा रहेको बताउनुभएको छ । उहाँले यदि आफ्नो आणविक शस्त्रागार कायम राख्न पाउने हो भने अमेरिकासँग भविष्यका वार्ताका लागि खुला रहने सङ्केत दिनुभएको छ ।
किम र ट्रम्पबिच ट्रम्पको पहिलो कार्यकालमा तीनपटक उच्चस्तरीय शिखर बैठक भएको थियो । तर, प्योङयाङले आफ्नो आणविक कार्यक्रमबारे के छुट दिनसक्ने भन्नेमा सहमति नजुटेपछि सन् २०१९ मा हनोईमा भएको अन्तिम वार्ता असफल भयो ।
वर्षौँदेखि अमेरिकाले आणविक निःशस्त्रीकरणको माग गर्दै आएको छ । यो नै दुवै देशबिचको मुख्य अड्चन हो । प्रजग कोरियाले भने संयुक्त राष्ट्रसङ्घका कठोर प्रतिबन्धका बिच आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ ।
किमले संसद्मा दिएको विस्तृत भाषणमा भन्नुभयो, “यदि अमेरिकाले आणविक निःशस्त्रीकरणको भ्रम त्यागेर वास्तविकतालाई स्वीकार्छ र शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी तयार छौँ । म अझै पनि राष्ट्रपति ट्रम्पसँगका मनपर्ने सम्झनाहरू राख्छु ।”
तर, उहाँले प्रजग कोरियाले आफ्नो आणविक हातियार कहिल्यै नछाड्ने स्पष्ट पार्नुभयो । “अमेरिकाले अरूलाई आणविक हतियार त्याग्न बाध्य पारेपछि के हुन्छ भन्ने कुरा विश्वलाई थाहा छ । हामीले आफ्नो हतियार कहिल्यै छाड्ने छैनौँ ।”
किमले प्रतिबन्धहरूले उल्टै प्रजग कोरियालाई बलियो र आत्मनिर्भर बन्न मद्दत गरेको दाबी गर्नुभयो ।
दक्षिण कोरियासँगको सम्बन्धबारे भने उहाँले कडा शब्दमा ‘हामीसँग उनीहरूसँग बस्नुपर्ने कुनै कारण छैन’ भन्दै कुनै पनि प्रकारको सहकार्य अस्वीकार गर्नुभयो । प्रजग कोरियाले हालसालै दक्षिण कोरियालाई प्रमुख शत्रु घोषणा गर्दै दुवैलाई जोड्ने रेल र सडक अवरोध गरेको छ ।
रुससँगको नजिक सम्बन्ध
विश्लेषकहरूका अनुसार किम युक्रेन युद्धपछि अझ उत्साहित हुनुभएको छ । मस्कोसँग मिलेर हजारौँ सैनिक पठाएको र ठुलो मात्रामा हतियार उपलब्ध गराएको प्रजग कोरियाले रुसबाट ठुला सुरक्षा सहयोग पाएको छ ।
गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्योङयाङ भ्रमणको क्रममा दुवै मुलुकले आपसी रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
दक्षिण कोरियाली सरकारले भने रुसले उत्तर कोरियालाई संवेदनशील सैन्य प्रविधि हस्तान्तरण गर्ने जोखिम बढेको पटक–पटक चेतावनी दिएको छ ।
एपीईसी शिखर सम्मेलन र सम्भावित
आश्चर्य
आगामी महिना दक्षिण कोरियाको क्वाङ्जु सहरमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनमा ट्रम्पको दक्षिण कोरिया भ्रमण अपेक्षित छ । विशेषज्ञहरूका अनुसार किमको यो टिप्पणी त्यही भ्रमणलाई लक्षित छ ।
“यो टिप्पणीले अनपेक्षित शिखर बैठकको सम्भावना सङ्केत गरेको छ, साथै ट्रम्पको नोबेल पुरस्कारप्रतिको चाहनालाई पनि छेडेको छ,” दक्षिण कोरियाको क्युङ्नाम विश्वविद्यालयका लिम युल–चुलले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *