भर्खरै :

जनधनको क्षतिको लागि प्रधानमन्त्री र मन्त्री भएकाहरू मुख्य दोषी

जनधनको क्षतिको लागि प्रधानमन्त्री र मन्त्री भएकाहरू मुख्य दोषी

भक्तपुर, ६ असोज । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा शुभकामना आदानप्रदान र समसामयिक विषयमा प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले भदौ २३ गते नयाँ पुस्ताले गरेको आन्दोलनको माग जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र भ्रष्टाचारशून्य सुशासन कायम गर्नु सार्वजनिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले यो माग २०१९÷२० सालदेखि उठाउँदै आएको हो । सरकारमा गएका प्रम र मन्त्रीहरूले नेमकिपाको आवाजलाई बेवास्ता गर्दै आए । यसकारण, भदौ २३ गतेको जनधनको क्षतिको लागि प्रधानमन्त्री र मन्त्री भएकाहरू मुख्य दोषी छन् ।” सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नुभन्दा पनि भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था जरूरी भएको सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्री फेरिँदैमा देश र जनताको समस्या समाधान हुने होइन । वर्गीय समाज अन्त्य हुने संवैधानिक व्यवस्था जरूरी हुन्छ ।”
सचिव सुवालले भन्नुभयो, “खेलाडीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राखेर समाजलाई सचेत बनाउने जिम्मेवारीसमेत पूरा गर्नु आवश्यक छ ।”
भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखु र भक्तपुर जिल्ला बक्सिङ सङ्घका सचिव साजन लघुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *