नेपाल संवत् ११४६ नयाँ वर्षको शुभकामना ¥यालीमा सहभागी होऔँ !
- कार्तिक ८, २०८२

तिहार सुरू भइसकेको छ । यो उज्यालो दीपावलीको पर्वमात्र होइन यो नेपाली समाजको सुसंस्कृत मूल्य, आत्मीयता र आपसी सम्बन्धलाई उजागर गर्ने अवसर पनि हो । प्रकृति, पशुपन्छी कृतज्ञता र परिवारप्रति माया र सम्बन्धमा समर्पणको भाव हो । दिदी बहिनी–दाजुभाइबिचको स्नेह र सम्बन्धलाई सुदृढ बनाउने भाइटीकाको परम्परा नेपाली समाजको भावनात्मक एकताको सुन्दर अभिव्यक्ति हो । तिहारले सद्भाव, सहअस्तित्व र समृद्धिको पाठ सिकाउँछ । घर–घरमा झिलिमिली बत्ती बाल्नु मनमा उज्यालो बाल्नु पनि हो । नेपालीको संस्कृति केबल प्रदर्शन गर्न होइन सुसंस्कृत समाज बनाउन चेतना जगाउन हो, आचरण राम्रो बनाउन हो । सङ्कट र अन्योलको यो घडीमा सही मार्गमा लागेर देश बनाउने र जोगाउने काममा लाग्नुपर्ने देखिन्छ । यो बेला विगतको सत्तासीन दलका नेताहरूझैँ लोभलालचमा फसेर, दलगत र व्यक्तिगत स्वार्थमा लागेर होइन समग्र देश र जनताको सेवामा जुट्नुपर्छ ।
उज्यालोको किरण घरघरमा मात्र होइन जन जनको मनमा पुग्नुपर्छ । जनताको मन पोलिरहेको छ भने घर एक दुई दिन उज्यालो भएर हुँदैन । हो, हामीले हाम्रो संस्कृति संरक्षण गर्नुपर्छ† संस्कृतिलाई जीवन्तता दिनुपर्छ । नेपालीको संस्कार र संस्कृतिमा विदेशी संस्कृति भिज्नु हुँदैन, विदेशी संस्कृति छिर्नु हुँदैन । आफ्नो संस्कृतिको मौलिकता कायम गर्नुपर्छ । संस्कृति छाडा भयो, उच्छृङ्खल भयो, खर्चिलो र भड्किलो भयो भने त्यसले नयाँ पुस्तामा गलत सन्देश छर्छ; गलत छाप पर्छ र हाम्रो संस्कार र संस्कृति लोप हुँदै जान्छ । आफ्नो संस्कृति छोडेर अरूको संस्कृति आत्मसात गर्दा नेपाली समाजमा विदेशी प्रभाव बढ्नेछ । त्यो एक किसिमको सांस्कृतिक आक्रमण हुनेछ । आगजन्य पटका पड्काउने, भुइँचम्पा उडाउने हाम्रो संस्कृति र संस्कार होइन । मनोरञ्जन र खुसियालीको नाउँमा पटका पड्काएर, भुइँचम्पा उडाएर बालबालिकाहरूको आँखा गुमेको, घरहरू आगलागी भएको दिन हामीले भुल्नु हुँदैन । जुवा, तास खेलेर साथी साथी झगडा भएको र परिश्रम गरेर कमाइएको वर्षभरिको आम्दानी बारमास्या खेलेर सकेको दिन पनि हामीले भुल्नु हुँदैन ।
यस्तै पर्व या मेलामा कालोबजारी हुन्छ; तस्करी हुन्छ; गुणस्तरहीन सामानको बिकाउ हुन्छ । पटका र भुइँचम्पामा मात्रै करोडौँ अरबौँ खर्च हुन्छ । नेपाल–भारत खुला सीमा भएकोले पनि अवैध सामान भित्रिएको हुन्छ । नाकामा जसले जे सामान ल्याए पनि निरीक्षण हुँदैन; अनुसन्धान हुँदैन । त्यसमाथि तस्करी नियन्त्रण गर्ने निकाय नै मिलेमतोमा लागेको हुन्छ । कार्तिक ३ गते प्रकाशित ‘नागरिक’ दैनिकमा लेखियो, ‘सीमादेखि सहरसम्म तस्करको रजगज’ । पर्सादेखि सप्तरीसम्म भइरहेको तस्करीले मधेस प्रदेशलाई तस्करहरूको स्वर्णभूमि बनाएको स्थानीय जनता बताउँछन् । दुईदिने जेन–जी आन्दोलनपछि सुरक्षा व्यवस्था कमजोर रह्यो । सुरक्षाकर्मीहरू जिल्ला प्रशासन कार्यालयकेन्द्रित भए । उनीहरूमा अहिले पनि जोश जाँगर पलाएको देखिँदैन । फेरि केही होला कि भन्ने शङ्का उनीहरूमा हटेको छैन । सुरक्षाकर्मीहरू गस्ती गस्तीमा नरहेको हुँदा, पुग्न नसकेको हुँदा या नखटाइएको हुँदा कहाँ कहिले के हुन्छ भन्न सकिने स्थिति छैन । त्यसैले अहिले जिल्ला जिल्लाको ठाउँ–ठाउँमा सुरक्षा व्यवस्था कमजोर देखिएको छ या सुरक्षा व्यवस्थापन व्यवस्थित भएको देखिँदैन ।
जेन–जी आन्दोलनको क्रममा जिल्ला जिल्लाका प्रहरी चौकी तथा इलाका कार्यालयहरूमा तोडफोड र आगजनी भएका कारण एवं कार्यालय सञ्चालनमा आएको छैन । कति नगरपालिका, गाउँपालिका र वडा कार्यालयको काम सुरक्षाकर्मीको रोहवरमा गरिएको हुन्छ । सुरक्षाकर्मीहरू उपस्थित नभएको कारण जनताको गर्नुपर्ने काम हुन सकिरहेको छैन । प्रहरी रोहबरमा मुचुल्का उठाउनुपर्ने हुन्छ । यसको कारण जनताका दैनिक काममा अवरोध भएको छ । कति उद्योग, कारखाना, फर्निचर, सःमिललगायत अन्य काममा बाधा पुगेको छ । उनीहरूको सट्टा अर्को विकल्प पनि नरोज्ने र प्रहरी पनि उपस्थित नहुने हुँदा अन्तरिम सरकारले यसको व्यवस्थापन शीघ्रातिशीघ्र गर्नुपर्छ । मधेस प्रदेशको धनुषामा सबै नाकाबाट तस्करी भइरहेको खबर प्रकाशमा आएको छ । कति ठाउँमा तस्करसित झगडा भएको हुन्छ । झगडाकै क्रममा घाइते भएको हुन्छ । तस्करी नियन्त्रणको नाउँमा परिचालन भएका घुमुवाहरू पनि सही ढङ्गले परिचालन हुँदैन । यी यावत कारण देशको स्थिति चित्तबुझ्दो देखिँदैन । साधन र मनोबल कमजोर भएको मौका छोपी तस्करहरू सबलाएको दखिन्छ । अन्तरिम सरकारको यतातर्फ ध्यान पुग्नुपर्ने देखिन्छ ।
Leave a Reply