विदेशीको तलब खानेहरूबाट देशलाई जोगाउन सकिन्न, नेपाली जनता सचेत हुनु जरुरी छ
- कार्तिक ८, २०८२

नेपाल क्रान्तिकारी युवा सङ्घ जुवातास र विकृतिविरुद्ध सङ्घर्ष गर्दै आएको सङ्घ हो । यसले देशको सार्वभौमिकता, भूअखण्डता रक्षा गर्न र सीमा अतिक्रमणविरुद्ध सभा तथा जुलुस गरेको हामीलाई सम्झना छ । पहिले प्रत्येक वर्ष भक्तपुरमा दसैँ र तिहारमा खेल्ने जुवातास र लङ्गुरबुर्जाविरुद्ध सभा र जुलुस हुन्थ्यो । जुवातास र लङ्गुरबुर्जा झन्डै हटेको थियो । अब फेरि जेन–जी आन्दोलनपछि दूधपाटीदेखि कमलविनायक लान्चाफल्चासम्म, कासानदेखि गपली सूर्यविनायकसम्म जहाँतहीँ लङ्गुरबुर्जा छ्यापछ्याप्ती पाइन्छ । त्यस विकृतिमा पनि युवाहरू नै बढी देखिन्छ । भक्तपुर बाहिरको जस्तो देखिने ती युवाहरू कतै भक्तपुरका युवाहरूलाई गलत बाटोतर्फ दोहो¥याउन त उद्यत छैनन् भन्ने मनमा प्रश्न उब्जिएको छ । यस्ता विकृतिहरू बढेको देख्दा जो कुनै युवालाई मनमा चिसो पस्नु स्वाभाविक हो ।
युवा अवस्था जोश जाँगर र उमङ्गले भरिएको हुन्छ । त्यस्तो युवा शक्ति एकत्रित गर्न सकेको खण्डमा राष्ट्र निर्माण, विकासलगायत सङ्ठगनलाई पनि विकास गर्न सकिन्छ । युवा हरेक राष्ट्रको निर्णायक तत्व मानिन्छ । देशमा परिवर्तन ल्याउन युवा शक्तिको महत्वपूर्ण भूमिका रहन्छ । राष्ट्रको स्वतन्त्रता र भूअखण्डता जोगाई राख्न कष्टसाध्य कार्यमा समेत युवा शक्तिको प्रमुख दायित्व रहिआएको छ । यस्ता युवाहरू निष्क्रिय भएमा विकृति बढ्छ । नयाँ वर्षले देश र जनताको सेवा गर्ने र देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्ने प्रेरणा मिलोस् भने शुभकामना छ ।
युवाहरूको बानीलाई मर्का पु¥याउने पुँजीवादीहरूको घृणित हतियार लागुपदार्थ, वेश्यावृति र जुवातासले युवाहरूको काम, शिक्षा, व्यापार, सामाजिक, कार्यमा नोक्सान पु¥याउँछ र अनैतिक कार्यमा सहभागी गराउँछ । यसरी समाजमा हानि पु¥याउने विकृतिविरुद्ध युवाहरूलाई सचेत पार्न शारीरिक तथा बौद्धिक क्रियाकलाप गरिरहनुपर्ने हुन्छ । विकासको लागि खेलकुद अथवा अनुशासन, मित्रता र विकासको लागि सञ्चालन गरी युवाहरूलाई सक्षम योग्य बनाई युवा जगत्लाई अनुशासित, लगनशील, धैर्यवान र शोषितपीडित वर्गको पक्षमा सङ्घर्षशील बनाउनु आजको आवश्यकता हो । युवाहरूलाई पुँजीवादी सञ्चारमाध्यम टीभी च्यानलले दिग्भ्रमित गर्ने, सामाजिक कार्य र सांस्कृतिक अस्मिता संरक्षणमा बाधा पु¥याउने खालको छाडा संस्कृति, सस्तो मनोरञ्जन, अश्लीलता, व्यभिचार र नग्न चलचित्रजस्ता आत्मघाती सन्देश दिने भएकोले आत्महत्यादेखि हत्या, लुट एवम् बलात्कार र लागुपदार्थजस्ता जघन्य अपराधमा संलग्न हुन्छ ।
खेलकुद मानव जीवनको अभिन्न अङ्ग हो । खेलले मानिसको स्वास्थ्यमा फूर्तिलो, निरोगी र अनुशासित बनाउँछ । यो दीपावली र नयाँ वर्ष (न्हुदँ ११४६) को पर्वमा भएको लामो बिदामा युवाहरूलाई रचनात्मक र प्रगतिशील गतिविधिमा लगाउनु आवश्यक छ । युवाहरूलाई यस कार्यमा नेपाल क्रान्तिकारी युवा सङ्घको ध्यान जानुपर्ने देखिन्छ । यसमा जिल्लाका सुरक्षाकर्मीहरू के हेरेर बसे ? लामो समयपछि सबभन्दा बढी लङ्गुरबुर्जा खेलेको समय बन्यो यो वर्षको तिहार ।
Leave a Reply