भर्खरै :

‘भारतीय शासक वर्ग नेपालको लुम्बिनी डुबाउने नियतमा’ – सांसद सुवाल

‘नेपालमा भारतको सांस्कतिक आक्रमण बढेको छ । भारतीय शासक वर्गले नेपालको संविधान संशोधन गराई सरकारी कामकाजको भाषामा दबाब दिइरहेको र बुद्ध जन्मेको नेपालको लुम्बिनी डुबाउन सिमानामा बाँध र तटबन्ध बनाएको छ । यसकारण भारतको सांस्कृतिक अतिक्रमणको विरोध गर्नुपर्छ ।’
उक्त विचार नेमकिपाका केन्द्रीय एवं सांसद प्रेम सुवालले वाला म्हेन्दो सांस्कृतिक समूहद्वारा आइतबार काभ्रेको बालुवापाटीमा आयोजित २८५३ औं सोनाम (ज्या ल्हो–चरा वर्ग) ल्होछारको अवसरमा विविध भाषा सांस्कृतिक र साहित्यिक कार्यक्रममा राख्नुभएको हो ।
उहाँले जाती, भाषा र क्षेत्रको आधारमा सङ्घ राज्यको नेमकिपाले सुरुदेखि नै विरोध गर्दै आएको बताउँँदै नेपालीको वर्गीय एकता र देश विकासको लागि प्रत्येक प्रदेशमा हिमाल, पहाड, तराई समावेश १४ प्रदेश गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भारतीय शासक वर्गकै सम्पूर्ण तरार्ई मधेस एक प्रदेश बनाउने नियतका साथ प्रदेश नं. ५ अलग गर्न दबाब दिइरहेकोले नेमकिपाले देशघाती संविधान संशोधन विधेयकको सडक र सदनमा विरोध गरिरहेको प्रस्ट्याउनुभयो ।
प्रजातन्त्रमा राजनीतिक अधिकार प्राप्त भए पनि जनतालाई निःशुल्क स्वास्थ्य, शिक्षा तथा रोजगारीको बन्दोबस्त नहुने भएकोले समाजवादी व्यवस्था आवश्यक भएको प्रस्ट पार्र्नुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले साहित्य र स·ीतबाट जनताको दुःखकष्ट र पीरव्यथा बोल्नुपर्ने विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य नारायणबहादुर दुवालले पूँजीवादी व्यवस्थामा मजदुर किसानले सुख नपाउने भएकोले मजदुर किसानको नेतृत्वमा समाजवादी क्रान्ति हुने कुरा सन् १८४८ मा माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्रमा लेखेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सचिव नरेश खत्रीले नेपाल जहानिया राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था अन्त्यको लागि धेरै सहिदहरूले बलिदान गरेको तर सहिदहरूको भावनाविपरीत शासक दलहरूले देशको सार्वभौमिकता र स्वाधीनतामा आँच पु¥याएको बताउनुभयो ।
नेमकिपा काभ्रेका कृष्णबहादुर तामाङले जाँड रक्सीको कुसंस्कारले तामाङ समुदाय पछाडि परेको कारण नयाँ वर्षमा नयाँ विचार लिई त्यस्तो कुसंस्कार त्याग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा धनबहादुर तामाङ, डोल्मा तामाङ, दिलमान तामाङ, तारा तामाङलगायतले ल्होछारको शुभकामना दिनुभयो ।
कार्यक्रमको बीचबीचमा विभिन्न गीत तथा नृत्यहरू प्रस्तुत गरियो । सांस्कृतिक कार्यक्रममा कलाकार विनोद विक, सूर्य वाइवा, प्रशान्त तामाङलगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *