भर्खरै :

चीनको ‘कृत्रिम सूर्य’ मा ठुलो सफलता

चीनको ‘कृत्रिम सूर्य’ मा ठुलो सफलता

चीनको ‘कृत्रिम सूर्य’ भनिने ‘एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक’ को फ्युजन रियाक्टरका लागि दुईओटा मुख्य सुपरकन्डक्टिङ म्याग्नेटको विकास र परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।
यस सफलतासँगै परियोजनाका सबै मुख्य प्रविधिहरू शतप्रतिशत चीनमै बनेका छन् । यो सफलता पूर्वी चीनको अनहुई प्रान्तको हेफेईमा रहेको ‘चाइनिज एकेडेमी अफ साइन्सेज’ को ‘इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्स’का अनुसन्धानकर्ताहरूले प्राप्त गरेका हुन् ।
टोरोइडल फिल्ड म्याग्नेट
यो म्याग्नेट ‘डी’ अक्षर आकारको छ । यसको लम्बाइ २१ मीटर, चौडाइ १२ मिटर र उचाइ ३.३ मिटर छ भने कुल तौल ५८२ मेट्रिक टन रहेको छ । यसले अत्यधिक तातो प्लाज्मालाई रियाक्टरको भित्तामा ठोक्किन नदिई एकै ठाउँमा बाँधेर राख्छ । यसले सिर्जना गर्ने चुम्बकीय क्षेत्रको शक्तिले नै भविष्यको प्लाज्माको तापक्रम र घनत्व निर्धारण गर्छ ।
विशेषज्ञहरूका अनुसार यो म्याग्नेट बाक्लो स्टिनलेस स्टिलबाट बनेको एउटा बन्द खोरजस्तै हो, जसले तातो प्लाज्माको आगोको डल्लोलाई बाहिर फैलिन दिँदैन । यो नभएमा न्युक्लियर फ्युजन प्रतिक्रिया सम्भव हुँदैन ।
अन्तर्राष्ट्रिय फ्युजन रियाक्टरको तुलनामा यो चिनियाँ म्याग्नेट आकारमा १.३ गुणा ठुलो छ र यसको ऊर्जा भण्डारण क्षमता तीन गुणा बढी छ । यो हालसम्मकै विश्वको सबैभन्दा ठुलो फ्युजन रियाक्टर सुपरकन्डक्टिङ म्याग्नेट हो । यस्ता १६ वटा म्याग्नेटहरू सँगै जोडेर एउटा पूर्ण चुम्बकीय क्षेत्र बनाइनेछ, जसले केन्द्रमा ६.५ टेस्लाको चुम्बकीय शक्ति पैदा गर्नेछ ।
सेन्ट्रल सोलेनोइड क्वाइल
यो उच्च–तापक्रममा काम गर्ने कन्डक्टिङ क्वाइल हो, जसको परीक्षण पनि सफल भएको छ । यसले प्लाज्मालाई प्रज्वलित गरी आगोको डल्लो बनाउने र त्यसको स्थानलाई नियन्त्रण गर्ने दुवै काम गर्छ । यो क्वाइलले ६० किलो एम्पियरको विद्युत् प्रवाहलाई सुरक्षित रूपमा धान्न सक्छ र ६०.३ मेगाजुल ऊर्जा भण्डारण गर्छ । यसको कार्यक्षमता अन्तर्राष्ट्रिय रूपमा अग्रणी स्तरको छ । यो प्रविधिले लामो समयसम्म र उच्च शक्तिमा फ्युजन प्रतिक्रिया गराई निरन्तर ऊर्जा उत्पादन गर्न मद्दत गर्नेछ । यो प्रविधि प्रयोगात्मक चरणबाट व्यावहारिक प्रयोगमा लैजान निर्णायक साबित हुनेछ ।
दुवै म्याग्नेटको डिजाइन, कच्चा पदार्थ (विशेष स्टिल र कन्डक्टिङ सामग्री) देखि निर्माणसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा चीनभित्रै गरिएका हुन् । यस सफलताले चीनलाई फ्युजन रियाक्टर निर्माणका लागि बलियो जग दिएको छ । यसले चीनमा न्यून–तापक्रम र उच्च–तापक्रम दुवैखाले सुपरकन्डक्टरका दुईओटा ठुला औद्योगिक सञ्जाल तयार पारेको छ, जसले समग्र उद्योगको विकासमा सहयोग पु¥याउनेछ ।
(ग्लोबल टाइम्सबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *