भर्खरै :

स्थानीय स्रोत, साधन र जनसहभागिताबाट विकास निर्माणको काम गर्दा दिगो

स्थानीय स्रोत, साधन र जनसहभागिताबाट विकास निर्माणको काम गर्दा दिगो

भक्तपुर, २७ असार । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शनिबार एक समारोहबिच पुरानो जगातीस्थित ऐतिहासिक पुलको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ‘हाम्रो ठाउँ हामीले नै बनाउने’ भन्ने भावनाअनुसार स्थानीय स्रोत, साधन र जनसहभागिताबाट विकास निर्माणको काम गर्दा दिगो हुने बताउनुभयो ।
उहाँले नेपालको पहिचान पुर्खाले छोडेर गएको कला, संस्कृति र सम्पदा भएकोले तिनको संरक्षण र मौलिक शैलीमा पुनर्निर्माण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले ऐतिहासिक महत्व बोकेको पुल पुनः सञ्चालनमा आउनु सुखद भएको बताउँदै नेपाल मजदुर किसान पार्टीको जनमुखी सोचअनुसार भक्तपुर नगरपालिकाले सधैँ जनताको हितमा काम गर्दै आएको धारणा राख्नुभयो ।
सम्पदाहरूको मौलिक शैलीमा पुनर्निर्माणले नगरको पहिचान जोगाएको र प्रचारभन्दा पनि जनतालाई प्रत्यक्ष लाभ पुग्ने कामलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । साथै अनुशासित समाज निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजूले पुल पुनर्निर्माणका लागि ५३ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ४४ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्दै लिबालीमा चिस्यान केन्द्र पनि अब छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वडा नं. ८ का संयोजक लक्ष्मीनारायण दुवाल, उपभोक्ता समितिका अध्यक्ष बालगोविन्द तचामोले निर्माण कार्यको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थानीय रामप्रसाद किसी र जगतसेर गोसाईंले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा सदस्य कृष्णलाल किसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *