भर्खरै :

विद्यार्थी निकेतनमा बधाई तथा मार्गनिर्देश कार्यक्रम

विद्यार्थी निकेतनमा बधाई तथा मार्गनिर्देश कार्यक्रम

भक्तपुर, २७ असार । हामीले ग्रहण गर्ने शिक्षाले अन्याय, अत्याचार, असमानता र अपराधविरुद्ध आवाज उठाउन सिकाएमात्र त्यसको औचित्य हुन्छ । शिक्षाले बोल्न सिकाउने, असमानताविरुद्ध आवाज उठाउन सिकाउनुपर्दछ । समाजको वर्गीय विभेदलाई कम गर्नको लागि गरिबीबाट पिल्सिएकाले अझ धेरै अध्ययन गरी समाज परिवर्तनको लागि योगदान दिनु आवश्यक छ ।
उक्त भनाइ बाग्मती प्रदेश सांसद सृजना सँैजुले विद्यार्थी निकेतन माध्यमिक विद्यालयद्वारा आयोजित एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गदर्शन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट राख्नुभएको हो ।
उहाँले राज्यले गलत निर्णय गर्दा सचेत र देशभक्त विद्यार्थीहरूले खबरदारी गर्नु आवश्यक रहेको विचार राख्नुभयो । उहाँले राज्यले आफ्नै स्वाधीन अर्थतन्त्र विकास गरी देशमै युवा विद्यार्थीलाई रोजगारी सिर्जना नगरी वैदेसिक ऋण लिई देश सञ्चालन गर्न खोज्दा देश डुब्न सक्ने कुरा उल्लेख गर्दै त्यसले देशको सार्वभौमिकता झन् कमजोर हुने बताउनुभयो ।
कार्यक्रमका सभापति, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सामाजिक ज्ञान नै सर्वोत्तम ज्ञान भएको हुँदा विद्यालयले सिकाइको घेरा फराकिलो बनाई समाजलाई कक्षाकोठाको रूपमा प्रयोग गर्न अब ढिला गर्न नहुने विचार राख्नुभयो ।
उहाँले विद्यालय अनुगमन भनेको शिक्षकलाई तर्साउने औपचारिक कार्यक्रम नभई विद्यालयको वातावरण थप प्रगतिउन्मुख बनाउने प्रोत्साहनमुखी प्रक्रिया भएको हुँदा हरेक विद्यालयहरूले व्यवहारिक ज्ञानलाई प्रश्रय दिई सामाजिक ज्ञान प्रदान गर्नु आवश्यक रहेको विचार राख्नुभयो । उहाँले अङ्क केन्द्रित ज्ञानभन्दा संवेगात्मक ज्ञानमा जोड दिनुपर्ने कुरा प्रस्तुत गर्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरूले जीवनमा अगाडि बढ्न निरन्तर मेहेनत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जीवनमा परिश्रम गर्दा सफलता हासिल भयो भनी विश्राम नलिई निरन्तर अगाडि बढिरहनुपर्ने विचार राख्नुभयो । ‘आफ्नो ज्योति आफै बन्ने’ भन्ने बुद्धको विचारबाट प्रेरित भई आफूले कार्य गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा विद्यार्थी प्रतिनिधिको रूपमा सुस्मिता चौलागाई र अस्मिता तामाङले आफ्नो विचार राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक एन.बी. खाताखोले स्वागत, शिक्षिका सङ्गीता कायष्ठले धन्यवादज्ञापन तथा शिक्षक उद्धव दाहालले सञ्चालन गर्नुभएको थियो ।
एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो तथा सम्मानपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *