भर्खरै :

पुरानो टेकोमा अडेको सुनसान जनघर, मेरो धरोहर

पुरानो टेकोमा अडेको सुनसान जनघर, मेरो धरोहर

सुनसान सुनसान छ
कतै बेखबर बेपर्वाहझैँ
एकान्त कुनामा उभिएको छ
निर्धक्क शानले मेरो धरोहर
सायद पुराना टेकाहरू बलिया छन् ।

लस्कर लहसिएर मक्किएका दलिनहरू
वर्षौंदेखि नफेरिएको कुर्सी, गुन्द्री
उही विश्रान्ति बिसौनीका आसनी चकटी
दुरुस्तै उस्ताउस्तै फेरिएको छैन ।

अतिथि सत्कार, संस्कारको मिठो वचन
तीर्खा मेटाउने एक गिलास पानी
थकाई बिसाउने एक कप कालो चिया
भोक भगाउने एउटा बिस्कुट भाग्यमा नहुनु
के हामी गरिब हुनुको पहिचान हो ?
सायद ¤ सर्वहाराकृत हुनुको सुन्दरतम अनुशरण
कृपया बुझाई देउन श्यामल काका
अरुलाई सोध्ने आँट कहाँ ?

बाबु, सबैको आ–आफ्नै ठाउँ छ
गजबको मतलबी गजपिप्पली गाउँ छ
आजकल गाउँ सहर बनेको छ
सहर गाउँजस्तै भएको छ
सहर, गाउँमा डेरा सरेको छ
त्यसैले हाम्रो धरोहर सुनसान छ ।

यो धरोहर पहुँच नपुगेकाहरूको
योग्यताविहीन चरिनङ्ग्रेहरूको
विश्वास र आस्थाको केन्द्र हो
आशा र भरोसाको खम्बा हो
उत्प्रेरणा र जागरणको द्वारपाल हो
जन–जनमतको जनघर यो
आज सुनसान चौघेराभित्र विलखबन्द
छ ?

‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’
सुन्दर वाणीका ठेलीहरू आलमारीमा थुप्रिएका छन्
ज्ञानका कमारीहरू जागिरे जोगाडमा
आफ्नै वाणी पछ्याउँदै एक्लाएक्लै
सफर जिन्दगीका बिदाको दिन गन्दै
मधुर– मिठो सपना बुन्दै छन्
कसलाई फुर्सद यहाँ ?

न जागीर ख्वाउनेलाई फुर्सत ?
न जागीर खानेलाई फुर्सत ?
अफसोच, एकलासको,
हाम्रो जनघर ?
हाम्रो धरोहर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *