भोलि अझ बलियो भएर उभिनेछौँ
- भाद्र १९, २०८३
लौन नयाँ पुस्ता तिमी अब चाँडै उठ्नुपर्छ
अत्याचारी, दमनकारी र शोषकसँग जुध्नुपर्छ
हाम्रो राष्ट्रमा अवश्य सुनौलो बिहानी छाउनुपर्छ
राष्ट्र निर्माणमा तिमीले मुख्य भूमिका खेल्नैपर्छ ।
ए नयाँ ! पुस्ता तिमीले नयाँ नीति नियम ल्याउनैपर्छ
चन्द्रमा पुग्ने उद्देश्य लिएर अघि बढ्नैपर्छ
आफ्नो मातृभूमिलाई दह्रो बनाई विश्वसामु चिनाउनै पर्छ
नयाँ जोस जाँगर र उमङ्गका साथ कदम चाल्नैपर्छ ।
नयाँ पुस्ता तिमीसँगसँगै आधुनिक काल बनेको छ
विज्ञान र प्रविधिले आज चमत्कारी ल्याएको छ
यस्तो समयलाई तिमीले अवश्य समाउनुपर्छ
परिवर्तित समाजको विकास गरी आफ्नो देशमा रमाउनुपर्छ ।
नगरे असम्भव केही छैन भन्ने मनसाय तिमी राख
केही पल हार होला, हार नै जितको लक्षण भनी विश्वास राख
आफ्नो मेहनत, रगत र पसिना यही देशको माटोमा मिसाऊ
नयाँ पुस्ता तिम्रो मनको गहु्रङ्गो भारी स्वदेशमै बिसाऊ ?
अघि बढ, जाग नयाँ पुस्ता तिम्रो काँधमा जिम्मेवारी छ
यो देश बनाउने अब तिम्रो कठिन दायित्व रहेको छ
नबस अब तिमी हात बाँधेर समय कहिल्यै पर्खदैन
तिम्रो त्याग, तपस्या र परिश्रमबिना देशको मुहार फर्कदैन ।
आज देश रोइरहेको छ, हँसाउने कर्तव्य तिम्रै छ ।
मनमा लाखौँ पिर बोकेर पनि देशको लागि अघि सर्नेछ ।
समस्या अनेक आइपर्छ समाधान गर्न पनि तिमी सिक
तिम्रो बलबुद्धिले भ्याएसम्म आफ्नो पाइला रोक्दै नरोक ।
नयाँ पुस्ता हौ तिमी यो देशको एक आधार
भोलिका राष्ट्र निर्माणको एक मुख्य कर्णधार
तिमीप्रति सबैले आशा र भरोसा राखेका छन्
देशमा शान्ति र परिवर्तन आउला भनी प्रतिक्षा गरिरहेका छन् ।
Leave a Reply