नयाँ पुस्ता
- भाद्र १९, २०८३
हिमालको काखमा जन्मिएको देश
आज आफ्नै आँसुमा भिजेको छ
जहाँ हिजो हाँसो गुञ्जिन्थ्यो
आज त्यहाँ मौनता छाएको छ ।
जहाँ जहिल्यै घाम मुस्कुराउँथ्यो
आज बादलले छोपेको छ आकाश
कसैको घर उजाडिएको छ
कसैको हातबाट छुटेको छ सास ।
बाढीले बगायो घर मात्र कहाँ हो र !
कति सपना बगे होलान्
पहिरोले पु¥यो माटो मात्र कहाँ हो र !
कति आफ्ना मान्छे हराए होलान् ।
आमाको आँखामा प्रश्न छ –
“मेरो छोरो फर्किन्छ कि फर्किँदैन ?”
बाबुको मौनताले चिच्याउँछ –
“मेरो परिवार फेरि जोडिन्छ कि जोडिँदैन ?”
कति चाडहरू अधुरा भए
कति आँगन सुनसान भए
कति चुल्हाहरू निभे
कति सपनाहरू अनाथ भए ।
हिजोको त्यो विनाशकारी भूकम्पपछि पनि
हामी उठेका थियौँ
भग्नावशेषबाट आशा खोजेका थियौँ
आँसु पुछ्दै नयाँ घर बनाएका थियौँ ।
आज फेरि प्रकृतिले हाम्रो परीक्षा लिएको छ
फेरि माटो रोएको छ फेरि नेपाली मन दुखेको छ
ढलेका घर फेरि बनाउनेछौँ टुटेका बाटा फेरि जोड्नेछौँ
हराएका सपनाहरूलाई फेरि नयाँ आकाश दिनेछौँ ।
आज हामी रोएका छौँ तर भोलि यही आँसुबाट
नयाँ इतिहास लेख्नेछौँ
हामी हिजो पनि उठेका थियौँ आज पनि उठ्नेछौँ,
र भोलि अझ बलियो भएर उभिनेछौँ,
भोलि अझ बलियो भएर उभिनेछौँ ।।
Leave a Reply