श्री पद्म माविद्वारा भ्रामक प्रचारको खण्डन
- भाद्र २५, २०८३
काठमाडौँ, २५ भदौ । जेनजीहरूको सहयोग र साथको नेतृत्वमा बनेको वर्तमान सरकारको विरोध जेनजीका अभियन्ता, घाइते र घाइतेका परिवारहरूले गर्न थालेका छन् । जेनजीहरूको उद्देश्यअनुसार काम नगर्ने, जेनजीको भावना नबुझ्ने, जेनजीका अगुवाहरूको नेतृत्वमा बनेको वर्तमान सरकारका मन्त्रीहरूको राजीनामा माग स्वयम् जेनजीका अगुवाहरूले गर्न थालेका छन् । जेनजी सहिद परिवारको सम्मान गर्दै सहिद पार्क उद्घाटन कार्यक्रममा समेत सहिदका परिवारहरूले सरकारको निन्दा र विरोध गरे । पीडित परिवारहरूको निन्दा र विरोधकै कारण पार्क उद्घाटन कार्यक्रमसमेत स्थगित भयो । ललितपुरस्थित सात दोबाटोमा निर्माण भएको जेनजी सहिद पार्कमा सहिदको अनुहार अलिकति पनि नमिलेको कारण सोको विरोध भएको हो । उक्त स्थानमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा सहिद घोषणा भएका ४५ जना सहिदको सालिक निर्माण गरिएको थियो ।
प्रश्न उठाइयो, सहिदको रूप रङ्ग नै नमिलाइकन सहिदको प्रतिमा (सालिक) कसरी बनाइयो ? केको र कसको फोटो हेरेर बनाइयो ? रूप रङ्ग नै नमिलाइकन सालिक बनाएपछि सर्वसाधारणलाई नै चित्त बुझ्दैन भने पीडित परिवारलाई कसरी चित्त बुझ्छ ? के यो सहिदहरूकै अपमान होइन ? सहिदका पीडित परिवारहरूको अपमान होइन ? के यो खेलबाड भएन ? सहिदको स्मृतिमा सालिकसहितको पार्क निर्माणकै खिस्सी उदाएको जस्तो भएन ? एकातिर सहिदकै अनुहार नमिलेर सहिदका परिवारहरू आक्रोशित भए भने अर्काेतिर सभास्थलमै विरोध चर्केर कार्यक्रम नै स्थगित भएर सरकार या स्वयम् गृहमन्त्री सुधन गुरुङलाई समेत नमज्जा भयो । कार्यक्रम उद्घाटन गर्न पुगेको गृहमन्त्रीकै बेइज्जत !
जेनजीको नेतृत्वमा बनेको सरकारप्रति जेनजीका घाइते र घाइतेका परिवारहरू पनि सन्तुष्ट छैनन् । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई न्याय नदिएको मात्र होइन बेवास्ता गरेको विरोधमा उनीहरू आन्दोलित छन् । जेनजी दिवस मनाइरहेको बेला जेनजीहरू नै सरकारको विरोधमा उत्रे । मन्त्रीहरूको राजीनामा माग गर्दै जेनजीहरूले सडक तताउने काम गरे । जेनजीहरूको आन्दोलनको कारण सरकार बने पनि जेनजीहरूले नै जेनजी दिवसमा विरोध प्रदर्शन गरे । घाइतेहरूले राज्यबाट पाउनुपर्ने सुविधासमेत नपाएकोमा उनीहरू खुसी छैनन् । जेनजी आन्दोलनको क्रममा थुनामा परेका व्यक्तिहरू रिहाइ नभएकोमा उनीहरूले सरकारको विरोधमा आक्रोश पोखेका हुन् । सुशासनको लागि र भ्रष्टाचारविरुद्ध भएको सो आन्दोलनमा अनाहकमा राज्यको दमनबाट घाइते हुँदा उनीहरूले न रोजगारी पाए न राज्यले उचित सम्बोधन नै गर्नसक्यो । घाइते र थुनामा परेका जेनजीहरूको भनाइ छ, “वास्तविक जेनजी अझै सडकमा छन् । सहिदहरूको रगतमा टेकेर संसद्मा पुगेका, मन्त्री बनेकाहरूले पछाडि फर्केर हेरेनन्, सडकबाट सदनमा पुगे, आफ्नो स्वार्थ पूरा गरे ।”
घाइतेहरूको स्थिति अहिले पनि बेहाल छ । आफ्नै र नाता कुटुम्बहरूको आर्थिक सहयोग र साथमा उनीहरूको उपचार भइरहेको छ । कति घाइतेहरू अहिले पनि मर्नु न बाँच्नुको दोसाँधमा रहेका छन् । घाइतेहरूको दर्दनाक स्थिति हेरेर पीडित परिवारका सदस्यहरू सरकारको बेवास्ताप्रति हैरान भएका छन् । घाइते, अभियन्ता र पीडितहरूमात्र होइन रास्वपाका सांसदहरू नै कि त समस्या सम्बोधन गर्नुप¥यो कि त मन्त्रीहरूले राजीनामा दिनुप¥यो भनी मन्त्री र सरकारको ध्यानाकर्षण गर्न थालेका छन् । रास्वपाकै सांसदहरूले आक्रोशित हुँदै भने, “मन्त्री र सांसदहरू दौडधूप गरेको, समितिको बैठक बसेको र प्रगति रिपोर्ट तयार गरेको देखाएर पार लगाउने होइन† मुख्य कुरा नतिजा देखिनुप¥यो† काम देखिनुप¥यो ।” नतिजालाई आधार मानेर मात्र कामको मूल्याङ्कन हुने उनीहरूको भनाइ हो । ग्यास अभाव भएको दुई तीन महिना भयो । कर्मचारी, विद्यार्थी, सर्वसाधारणले अझै ग्यास पाएका छैनन् । पर्याप्त ग्यास उपलब्ध गराइनुपर्छ† अभाव नहोस् भनी ग्यास पर्याप्त भण्डारण गर्नुपर्छ । ग्यास बिक्री पसलमा खालि सिलिन्डर छोडेको १५/२० दिन भए पनि, कहीँ महिना दिन बिते पनि ग्राहकले अहिलेसम्म ग्यास पाएका छैनन् । यसतर्फ सरकारको ध्यान खोइ ? पैसा तिरेर पनि महिनौँसम्म किन ग्यास उपलब्ध भएन ? भदौ २५ गतेको ‘कान्तिपुर’ दैनिकले लेख्यो, ‘उपत्यकामा ग्यास आउँछ, कहाँ हराउँछ ?’
सोही दिनको ‘अन्नपूर्ण’ दैनिकले लेख्यो, ‘नीतिगत भूलले बिग्रियो उपत्यकाको ग्यास आपूर्ति !’ ग्राहकहरूले पालोका लागि नाम टिपाएका छन्, कुपन लिएका छन् । तर, ग्यास कहिले पाइन्छ, निश्चित जानकारी उनीहरूले पाएका छैनन् । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै जाँदा यसको पछाडि सरकारको कमजोर निर्णय, आपूर्ति व्यवस्थापनमा देखिएका असन्तुलन, उपभोक्ताको अतिरिक्त सञ्चय र ढुवानी अवरोधको प्रभाव देखिएको बताइएको छ । नेपाल आयल निगमको अनुमानअनुसार काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख खाली सिलिन्डर घर तथा विभिन्न स्थानमा थन्किएका छन् । जनताको यो समस्या समाधान कहिले हुने हो ? उपत्यकामा भइरहेको ग्यासको हाहाकार कहिले अन्त्य हुने हो ?
Leave a Reply