भर्खरै :

सामुदायिक र निजी विद्यालयबिच शिक्षाको गुणस्तरमा तुलना

सामुदायिक र निजी विद्यालयबिच शिक्षाको गुणस्तरमा तुलना

– कृष्टिना कोजू, प्रशिक्षार्थी
भक्तपुर, २५ भदौ । नेपालमा बालबालिकाको शिक्षाका लागि सामुदायिक विद्यालय र निजी विद्यालयबिच कुन राम्रो भन्ने विषयमा अभिभावक, विद्यार्थी र समाजमा चर्चा भइरहेको छ । दुवै प्रकारका विद्यालयले विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आए पनि शिक्षण पद्धति, शुल्क, भौतिक ÷ सुविधा, व्यवस्थापन र विद्यार्थीहरूप्रति ध्यानमा केही फरक देखिन्छ । यही कारणले धेरै अभिभावकहरूले आफ्ना बालबालिकाका लागि विद्यालय छनोट गर्दा विभिन्न पक्षलाई विचार गर्ने गरेका छन् ।
सामुदायिक विद्यालयमा शुल्क कम हुने भएकोले सबै आर्थिक अवस्थाका परिवारका बालबालिकाले शिक्षा लिन सक्छन् । पछिल्लो समयमा केही सामुदायिक विद्यालयले प्रविधिको प्रयोग र आफ्नो शैक्षिक वातावरणमा सुधार गर्दै आएका छन् । सामुदायिक विद्यालयमा विभिन्न आर्थिक तथा सामाजिक पृष्ठभूमिका विद्यार्थीहरू सँगै पढ्ने भएकाले एकअर्कासँग घुलमिल हुने र सामाजिक विविधता बुझ्ने अवसर मिल्छ ।
तर, केही सामुदायिक विद्यालयमा पर्याप्त कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला तथा अन्य शैक्षिक सामग्रीको अभाव देखिन्छ । कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै हुँदा शिक्षकले प्रत्येक विद्यार्थीलाई पर्याप्त समय दिन कठिन हुन सक्छ ।
तर, निजी विद्यालयमा अध्ययन गर्दा शुल्क बढी लाग्न सक्छ । विद्यालयको स्तरअनुसार मासिक शुल्कसँगै विभिन्न खर्च पनि हुन सक्छ । यसकारण, आर्थिक रूपमा कमजोर परिवारका लागि निजी विद्यालयमा बालबालिकालाई पढाउन कठिन हुन सक्छ । त्यसैले धेरै सुविधा भएको विद्यालय नै सधँै राम्रो दिने विद्यालय हुन्छ भन्ने आवश्यक छैन ।
शिक्षाको गुणस्तर विद्यालय सामुदायिक वा निजी भएकै आधारमा मात्र निर्धारण हुँदैन । शिक्षकको क्षमता, पढाउने तरिका, विद्यालयको व्यवस्थापन, विद्यार्थीमैत्री वातावरण, अभिभावकको सहयोग र विद्यार्थीको मेहनत पनि उत्तिकै महत्वपूर्ण हुन्छ । राम्रो व्यवस्थापन र योग्य शिक्षक भएको सामुदायिक विद्यालयले पनि राम्रो शिक्षा दिन सक्छ भने सुविधा भएको निजी विद्यालयमा पनि शिक्षण कमजोर हुन सक्छ ।
अतः सामुदायिक विद्यालय वा निजी विद्यालयमा कुन राम्रो भन्ने प्रश्नको एउटै निश्चित उत्तर छैन । राम्रो विद्यालय त्यो हो, जहाँ विद्याथीहरू गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण, योग्य शिक्षक र सिक्ने पर्याप्त अवसर पाउँछन् । त्यसैले सामुदायिक विद्यालय र निजी विद्यालयलाई मात्र प्रतिस्पर्धाका रूपमा हेर्नुभन्दा दुवै क्षेत्रका कमजोरीहरू सुधार गरी सबै बालबालिकाहरू समान अवसरसहित गुणस्तरीय शिक्षा पाउने वातावरण निर्माण गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *