भर्खरै :

विषयविज्ञ, सुरक्षा निकाय तथा सङ्घसंस्थाबिच छलफल कार्यक्रम र समन्वय गर्नुपर्नेमा जोड

विषयविज्ञ, सुरक्षा निकाय तथा सङ्घसंस्थाबिच छलफल कार्यक्रम र समन्वय गर्नुपर्नेमा जोड

भक्तपुर, २५ भदौ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बिहीबार बस्यो । बैठकमा रसुवामा आएको बाढीपहिरोबाट भएको क्षति, जिल्ला विपद् व्यवस्थापन, पूर्वाधार विकास, आपूर्ति शृङ्खला व्यवस्थापनलगायत विविध विषयमा छलफल भयो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी खड्काले रसुवामा आएको विनाशकारी बाढीपहिरोको क्रममा भक्तपुरका एक जनाको मृत्यु भएको र १९ जना अझै हराइरहेको जानकारी गराउँदै खोजी तथा उद्धार कार्यमा आवश्यक समन्वय भइरहेको बताउनुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकका लागि एक द्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आह्वान गर्नुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले यस्ता विपद्का घटना विगतमा पनि घट्दै आएको उल्लेख गर्दै विपद्का विषयविज्ञहरूलाई ल्याएर सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाबिच छलफल तथा समन्वयको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैबिच, भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लको नेतृत्वमा १३ सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले रसुवाको बेत्रावतीस्थित होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनुभयो ।
बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी तथा नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एकमुष्ट रु. ७५ लाख ७१ हजार ६७९ रुपैयाँ ५२ पैसा प्रधनमन्त्री राहत कोषमा सहयोग गरेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य रुकेश रञ्जितले विपद्बाट भएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सबै पक्ष एकजुट भएर सहयोगी भावनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य राजीव खत्रीले जलवायु परिवर्तनका कारण हुने क्षतिप्रति ध्यान दिनुपर्ने उल्लेख गर्दै विपद्को समयमा मानव सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकोले विपद् व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण भूमिका हुने र छिमेकी पालिकाबिच पनि प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।
बैठकमा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्लाका उपाअध्यक्ष न्हुछेभक्त फोंजुले भक्तपुरमा अवैध जग्गा प्लटिङ रोक्नुपर्ने, मापदण्डविपरीत घर निर्माण तथा जोखिमयुक्त क्षेत्रमा बस्ती बसाल्न दिन नहुनेमा जोड दिनुभयो । अवैध जग्गा प्लटिङका कारण भक्तपुरका धेरै ठाउँमा बस्ती नै जोखिममा परेको उल्लेख गर्दै उहाँले नदी तथा खोला छेउमा मापदण्डविपरीत घर निर्माण रोक्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु. ५५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग गरेको र उद्धार कार्यका लागि शववाहनसमेत पठाइएको बैठकमा जानकारी दिनुभयो ।
बैठकमा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले भक्तपुर तथा आसपासको विपद्को अवस्था, जोखिम र पूर्वतयारीका विषयमा जानकारी गराएका थिए । उक्त बैठकमा बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न बजार अनुगमनलाई तीव्र बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *