भर्खरै :

चोथाका दिन नवदुर्गा देवगणको नृत्यनाथमा विशेष पूजा

  • भाद्र २८, २०८३
  • नारायणमान वनमाला
  • विचार
चोथाका दिन नवदुर्गा देवगणको नृत्यनाथमा विशेष पूजा

हरेक वर्ष निरन्तर सञ्चालन हुने सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको मानव समाजमा आधारित जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगण जात्रा नेपालकै लामो जात्रा हो । यो जात्रा वर्षभरिमा ८ महिना मकुन्डोसहितको विभिन्न तिथिमितिमा हुन्छ भने ४ महिना मकुन्डोबिनाको जात्रा हुन्छ । ऐतिहासिक परम्पराअनुसार हरेक वर्ष मङ्गल चौथीको दिन (चोथा पूजा) मा यो वर्ष भदौ २९ गते सोमबारको दिन नवदुर्गा देवगणहरूको विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम हुन्छ । सोही क्रममा देवगणहरूबाट बिहानैदेखि आ–आफ्नो घरमा विशेष पूजा तयार गरी मन्दिरमा पूजा सामग्री भित्याइने गर्छ ।
देवगणहरू आ–आफ्नो देवताको जिम्मेवारी ग्रहण गरी सेतो जामा (घाजि नं) पहिरन गर्दै भ.न.पा. ९ वडास्थित झतापो नासद्यो मन्दिरमा पुग्छन् । नाचको तालिम सिद्ध हुनको लागि सम्पूर्ण देवगणहरू लामबद्ध प्रस्थान गरी नित्य पूजा गर्छन् । कर्मचार्यको तान्त्रिक विधिका साथ बलि चढाएर पूजा सम्पन्न गर्ने चलन छ । नित्यनाथ पूजापश्चात् प्रसाद ग्रहण गरी मन्दिरमा तालिम लिइरहेका देवगणहरूले मकुन्डोबिनाको सेतो जामा (घाजि नं) पहिरन गरी मन्दिरको मूल चोकमा नाच प्रदर्शन गर्छन् । त्यहाँ गणेश, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, महाकाली, भैरव र सिमदुमहरूको पालैपालो नाच प्रस्तुत गरिन्छ । सर्वप्रथम मङ्गल सिद्धि नाच प्रदर्शन हुन्छ । अन्तमा, सम्पूर्ण देवगणहरूको गोसौतानेगु नाच हुन्छ । केही नाच बाजाको तालमा प्रस्तुत हुनेछ । त्यसपछि चोथा पूजाका सामग्रीहरू तयार गर्दै मन्दिरमा चढाउनुपर्ने विशेष पूजाका साथ देवगणका परिवारहरूले चोथा पूजा सम्पन्न गर्ने गर्छन् । दोस्रो दिन सम्पूर्ण देवगणहरू मन्दिरमा भेला गरी विजया दशमीको लागि ब्रह्मायणी पिठमा यज्ञको लागि आवश्यक काठ तयारी गर्न पिपलको दाउरा मन्दिरमा भित्याउने परम्परा छ । साँझपख देवगण परिवारको पूजाका साथ प्रसाद ग्रहण गरी दोस्रो दिन सम्पन्न हुन्छ ।
घण्टाकर्ण च¥हे (गाथा मङ्गल च¥हे) पछि नयाँ देवगणहरूले विजया दशमीसम्ममा तालिम प्राप्त गरी आफ्नो जिम्मेवारी निभाउनुपर्ने परम्परा रहेको छ । यस नाचको भाषा, ताल लिपिबद्ध रहेकै कारण सबै विद्या घोकेको हुन्थ्यो र सोहीअनुसार परापूर्व कालदेखि चल्दै आएको अवस्था छ । हरेक वर्ष यस संस्कृतिलाई निरन्तरता दिन जुसिबजु, चित्रकार, कर्माचार्य, प्रजापति, मानन्धर, साही, शाक्य र उजाजू (वनमाला) जातिहरूको सक्रियता रहेको हुन्छ । जात्रामा संलग्न हुने व्यक्तिहरूको निम्ति कार्य विभाजनबाट यो संस्कृति अगाडि बढेको हुन्छ । जस्तै ः
उजाजु (वनमाला) : देवगणको भूमिका वर्षभरि नै जिम्मेवारीका साथ जात्रा सञ्चालन गर्ने परिवार मानिन्छ ।
जुसिबजु (ज्योतिष) : नामकरणको दिनमा उहाँहरूको पुस्ताको आधारमा देवगणहरूको नाम सूची (नामधलं) तयारी गर्ने विशेष जिम्मेवारी हुन्छ ।
पुन्चा (चित्रकार) : देवगणका सम्पूर्ण मकुन्डोहरू तयार गर्ने विशेष जिम्मेवारी हुन्छ ।
आचाजु (कर्माचार्य) : देवगण जात्रामा विशेष तान्त्रिक पूजाको जिम्मेवारी हुन्छ ।
हाकुज्या (प्रजापति) : देवगणको लागि आवश्यक माटाका कलश, माटाका भाँडाकुँडासमेत तयार गर्ने जिम्मेवारी बहन गरिएको हुन्छ ।
सायमी (मानन्धर) : भ.न.पा. ६ याछेँमा विजया दशमीका दिन मकुन्डो घरमा लिन जाँदा कंह बाजा बजाउने जिम्मेवारी बहन गरिएको हुन्छ ।
जुगिचा : गाथामग च¥हेको दिन जात्राको लागि माहालीं बाजा बजाउने जिम्मेवारी रहेको पाइन्छ ।
नाय्चा (साही) : विजया दशमीको खमे जात्रा बलि दिने नायोखिङ बाजा बजाउने तथा राँगो बलि दिने काम हुन्छ ।
बारेजु (शाक्य) : देवगणलाई आवश्यक चाँदीको दृष्टि चढाउने चाँदीका जाँय्घंघला धुलाई गरी देवगणलाई भोजन चढाउने काम गर्ने ।
मुस्याख्व : खँमे जात्रामा खँमे समाउने साथै खिं बाजा मर्मतको लागि आर्थिक सहयोग गर्ने जिम्मेवारी बहन गर्ने ।
न्हुसुवाल (बेताल) : विजया दशमीको दिनमा मकुन्डो हस्तान्तरण गर्ने बेलामा देवगणहरूलाई जलपान, (गुचु गुचु) गर्ने जिम्मेवारी निभाउने ।
मगजु : देवगणहरूलाई आवश्यक कमलको फूल र पात सहयोग गर्ने ।
राज उपाध्याय : देवगणहरूको बेलविवाह, तिथि मितिको पूजाको लागि सरसल्लाह र सिजानकेगु (अन्तिम भोजन) खुवाउने जिम्मेवारी बहन गर्ने ।
अन्तमा, प्रत्यक्ष या अप्रत्यक्ष श्रद्धालु भक्तजनहरूको अपार सहयोगमा यस संस्कृति परापूर्व कालदेखि हालसम्म जात्रा सञ्चालन भइरहेको हो ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *