नेपालको आर्थिक विकासको सन्दर्भ
- भाद्र २८, २०८३
हरेक वर्ष निरन्तर सञ्चालन हुने सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको मानव समाजमा आधारित जीवित देवताको रूपमा पुजिने नवदुर्गा देवगण जात्रा नेपालकै लामो जात्रा हो । यो जात्रा वर्षभरिमा ८ महिना मकुन्डोसहितको विभिन्न तिथिमितिमा हुन्छ भने ४ महिना मकुन्डोबिनाको जात्रा हुन्छ । ऐतिहासिक परम्पराअनुसार हरेक वर्ष मङ्गल चौथीको दिन (चोथा पूजा) मा यो वर्ष भदौ २९ गते सोमबारको दिन नवदुर्गा देवगणहरूको विशेष पूजा तथा सांस्कृतिक कार्यक्रम हुन्छ । सोही क्रममा देवगणहरूबाट बिहानैदेखि आ–आफ्नो घरमा विशेष पूजा तयार गरी मन्दिरमा पूजा सामग्री भित्याइने गर्छ ।
देवगणहरू आ–आफ्नो देवताको जिम्मेवारी ग्रहण गरी सेतो जामा (घाजि नं) पहिरन गर्दै भ.न.पा. ९ वडास्थित झतापो नासद्यो मन्दिरमा पुग्छन् । नाचको तालिम सिद्ध हुनको लागि सम्पूर्ण देवगणहरू लामबद्ध प्रस्थान गरी नित्य पूजा गर्छन् । कर्मचार्यको तान्त्रिक विधिका साथ बलि चढाएर पूजा सम्पन्न गर्ने चलन छ । नित्यनाथ पूजापश्चात् प्रसाद ग्रहण गरी मन्दिरमा तालिम लिइरहेका देवगणहरूले मकुन्डोबिनाको सेतो जामा (घाजि नं) पहिरन गरी मन्दिरको मूल चोकमा नाच प्रदर्शन गर्छन् । त्यहाँ गणेश, ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, महाकाली, भैरव र सिमदुमहरूको पालैपालो नाच प्रस्तुत गरिन्छ । सर्वप्रथम मङ्गल सिद्धि नाच प्रदर्शन हुन्छ । अन्तमा, सम्पूर्ण देवगणहरूको गोसौतानेगु नाच हुन्छ । केही नाच बाजाको तालमा प्रस्तुत हुनेछ । त्यसपछि चोथा पूजाका सामग्रीहरू तयार गर्दै मन्दिरमा चढाउनुपर्ने विशेष पूजाका साथ देवगणका परिवारहरूले चोथा पूजा सम्पन्न गर्ने गर्छन् । दोस्रो दिन सम्पूर्ण देवगणहरू मन्दिरमा भेला गरी विजया दशमीको लागि ब्रह्मायणी पिठमा यज्ञको लागि आवश्यक काठ तयारी गर्न पिपलको दाउरा मन्दिरमा भित्याउने परम्परा छ । साँझपख देवगण परिवारको पूजाका साथ प्रसाद ग्रहण गरी दोस्रो दिन सम्पन्न हुन्छ ।
घण्टाकर्ण च¥हे (गाथा मङ्गल च¥हे) पछि नयाँ देवगणहरूले विजया दशमीसम्ममा तालिम प्राप्त गरी आफ्नो जिम्मेवारी निभाउनुपर्ने परम्परा रहेको छ । यस नाचको भाषा, ताल लिपिबद्ध रहेकै कारण सबै विद्या घोकेको हुन्थ्यो र सोहीअनुसार परापूर्व कालदेखि चल्दै आएको अवस्था छ । हरेक वर्ष यस संस्कृतिलाई निरन्तरता दिन जुसिबजु, चित्रकार, कर्माचार्य, प्रजापति, मानन्धर, साही, शाक्य र उजाजू (वनमाला) जातिहरूको सक्रियता रहेको हुन्छ । जात्रामा संलग्न हुने व्यक्तिहरूको निम्ति कार्य विभाजनबाट यो संस्कृति अगाडि बढेको हुन्छ । जस्तै ः
उजाजु (वनमाला) : देवगणको भूमिका वर्षभरि नै जिम्मेवारीका साथ जात्रा सञ्चालन गर्ने परिवार मानिन्छ ।
जुसिबजु (ज्योतिष) : नामकरणको दिनमा उहाँहरूको पुस्ताको आधारमा देवगणहरूको नाम सूची (नामधलं) तयारी गर्ने विशेष जिम्मेवारी हुन्छ ।
पुन्चा (चित्रकार) : देवगणका सम्पूर्ण मकुन्डोहरू तयार गर्ने विशेष जिम्मेवारी हुन्छ ।
आचाजु (कर्माचार्य) : देवगण जात्रामा विशेष तान्त्रिक पूजाको जिम्मेवारी हुन्छ ।
हाकुज्या (प्रजापति) : देवगणको लागि आवश्यक माटाका कलश, माटाका भाँडाकुँडासमेत तयार गर्ने जिम्मेवारी बहन गरिएको हुन्छ ।
सायमी (मानन्धर) : भ.न.पा. ६ याछेँमा विजया दशमीका दिन मकुन्डो घरमा लिन जाँदा कंह बाजा बजाउने जिम्मेवारी बहन गरिएको हुन्छ ।
जुगिचा : गाथामग च¥हेको दिन जात्राको लागि माहालीं बाजा बजाउने जिम्मेवारी रहेको पाइन्छ ।
नाय्चा (साही) : विजया दशमीको खमे जात्रा बलि दिने नायोखिङ बाजा बजाउने तथा राँगो बलि दिने काम हुन्छ ।
बारेजु (शाक्य) : देवगणलाई आवश्यक चाँदीको दृष्टि चढाउने चाँदीका जाँय्घंघला धुलाई गरी देवगणलाई भोजन चढाउने काम गर्ने ।
मुस्याख्व : खँमे जात्रामा खँमे समाउने साथै खिं बाजा मर्मतको लागि आर्थिक सहयोग गर्ने जिम्मेवारी बहन गर्ने ।
न्हुसुवाल (बेताल) : विजया दशमीको दिनमा मकुन्डो हस्तान्तरण गर्ने बेलामा देवगणहरूलाई जलपान, (गुचु गुचु) गर्ने जिम्मेवारी निभाउने ।
मगजु : देवगणहरूलाई आवश्यक कमलको फूल र पात सहयोग गर्ने ।
राज उपाध्याय : देवगणहरूको बेलविवाह, तिथि मितिको पूजाको लागि सरसल्लाह र सिजानकेगु (अन्तिम भोजन) खुवाउने जिम्मेवारी बहन गर्ने ।
अन्तमा, प्रत्यक्ष या अप्रत्यक्ष श्रद्धालु भक्तजनहरूको अपार सहयोगमा यस संस्कृति परापूर्व कालदेखि हालसम्म जात्रा सञ्चालन भइरहेको हो ।
(लेखक नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हुनुहुन्छ ।)
Leave a Reply