भर्खरै :

ब्रिक्सको भविष्य उज्ज्वल छ

ब्रिक्सको भविष्य उज्ज्वल छ

ब्रिक्सको १८ औँ शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा भदौ २७ र २८ गते सम्पन्न भयो । सन् २००६ मा संरा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घीय महासभाको सिलसिलामा ब्राजिल, रुस, भारत र चीन सदस्य रहेको ब्रिक्स स्थापना भएको हो । सन् २०१० मा दक्षिण अफ्रिका थपिएपछि ब्रिक्स भनिएको हो । ब्रिक्सको पहिलो शिखर सम्मेलन तीन वर्षपछि सन् २००९ मा रुसमा भएको थियो । हालसम्म ब्रिक्समा ११ पूर्ण सदस्य– ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इरान, यूएई, साउदी अरब, इजिप्ट, इथियोपिया, इन्डोनेसिया छन् भने १० साझेदार देशमा बेलारुस, बोलिभिया, क्युवा, कजाखस्तान, मलेसिया, नाइजेरिया, थाइल्यान्ड, युगान्डा, उज्वेकिस्तान, भियतनाम छन् । ब्रिक्सका २१ देशको ३७ अरब अर्थात् संसारको ६० प्रतिशत जनसङ्ख्या र संसारको कुल अर्थतन्त्रको ४० प्रतिशत हिस्सा रहेको सार्वजनिक भयो ।
सार्वजनिक भएअनुसार यसपालिको ब्रिक्स सम्मेलनको पहिलो दिन भारतका प्रधानमन्त्री मोदीले अरूले थोपरेको नियम मानेर बस्न नसक्ने, आफैले नियम बनाउनुपर्ने, ब्रिक्सको एकतालाई ठोस परिणाममा पु¥याउन आगामी २० वर्षको लागि महत्वपूर्ण कार्यसूची बनाउनुपर्ने र विश्व शासन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । रुसका राष्ट्रपति पुटिनले पश्चिमा निर्णयबाट मुक्त भएर विश्वको आर्थिक वृद्धि गर्न यो डबलीलाई उपयोग गर्नुपर्ने र ब्रिक्स कुनै पनि देशविरूद्ध लक्षित नरहेको तथा सदस्य देशहरूको साझा हितको पक्षमा रहेको स्पष्ट पारे । चीनका राष्ट्रपति सी चिनफिङको मत थियो, पश्चिम एसियामा (इरान, प्यालेस्टिन, इजरायल) मा चलिरहेको युद्ध कसैको हितमा छैन ।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले ब्रिक्समा सम्बोधन गर्दै अमेरिकी डलरबिना सदस्य देशबिच कारोबार गर्नुपर्नेमा जोड दिए । अमेरिकी र पश्चिमा राष्ट्रहरूले रुस र इरानविरूद्ध आर्थिक प्रतिबन्ध तथा चीनविरुद्ध भन्सार कर वृद्धिजस्ता व्यापार युद्ध थोपर्दै आएको छ । केही पर्यवेक्षकहरूले तत्काललाई संसारमा अमेरिकी डलरको साम्राज्य चालू नै रहने, चीन र भारतले डलर कारोबार अहिले नै त्याग्न नसक्ने दाबी गरेका छन् । यतिबेला अमेरिकी सरकारको मुख्य काम डलर छाप्दै संसारमा चलाउन लगाउने सुन कब्जा गर्ने भइरहेको छ ।
केही विश्लेषकहरूले ब्रिक्सलाई चीन र रुसले आ–आफ्ना प्रभाव विस्तार गर्न डबली बनाएको बताए । तर यो झूटा हो । चीनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र कुनै पनि देशमा सेना र हतियार तैनाथ नगर्ने स्पष्ट अडान राख्दै आएको छ । अमेरिकी सरकारले युक्रेनलाई हतियार पठाएर रुसविरुद्ध जबरजस्ती युद्धमा पठाएको घामजतिकै स्पष्ट विषय हो ।
ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन नै सदस्य देशका नेताहरूले वृक्षरोपण गरी १४० बुँदाको घोषणापत्र पारित गरे । प्रदूषणको कारण पृथ्वीको तापक्रम बढ्दै आएको हुँदा भदौ १० गते नेपालको रसुवाको भोटेकोसीमा हिमपहिरो आयो र निकै जनधनको क्षति भयो । घोषणापत्रमा संयुक्त राष्ट्रसङ्घको पुनःसंरचना, जलवायु परिवर्तन, साझा मुद्रा, अन्तर्राष्ट्रिय द्वन्द्वदेखि बहुध्र्रुवीयता, वैश्विक सुशासनलगायत विषय उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने, परिषद्को सदस्यतामा विकासोन्मुख देशहरूको प्रतिनिधित्व हुनुपर्ने, ८० वर्षभन्दा लामो इतिहासमा नभएको महिला महासचिव चयन हुनुपर्ने पनि ब्रिक्स घोषणामा उल्लेख छ ।
विश्व व्यापार सङ्गठनको घोषणाविपरीतका एकपक्षीय भन्सार शुल्क, संरक्षणवाद, नाकाबन्दीप्रति चिन्ता व्यक्त गर्दै ब्रिक्स घोषणामा इजरायलले प्यालेस्टिनविरूद्धको जातीय नरसंहार गरेको विरोध गरियो र संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनलाई पूर्ण सदस्यता दिनुपर्ने, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुसार प्रदूषण फाल्ने देशहरूले पीडित देशलाई सहयोग दिनुपर्ने, आतङ्ककारी गतिविधिको विरोध, अन्तरिक्षको शान्तिपूर्ण प्रयोगसम्बन्धी विषय पनि उल्लेख छ । यो घोषणाअनुसार काम भए विश्व शान्तिमा थप मद्दत पुग्नेछ ।
बैठकको पहिलो दिन ‘विश्वव्यापी समावेशी, सुशासन र बहुध्रुवीयताको सुदृढीकरण’ विषयमा छलफल गरियो भने दोस्रो दिन १० साझेदार देशका प्रतिनिधिहरूसहित ‘उत्थानशीलता नवप्रवर्तन, सहकार्य र दिगोपना ः समावेशी विश्वव्यापी वृद्धिका लागि भविष्यको स्वरूप’ विषयमा छलफल गरियो । ब्रिक्सको संयन्त्र र सहकार्यको आधार समावेशी र खुलापना तथा जीत जीत सहकार्य भएको हुँदा यसको भविष्य उज्ज्वल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *