भर्खरै :

‘देखेको देश’मा देखिएको देश

-नीरज
यसअघि प्रकाशित मोहन मैनालीका दुई वटा कृतिहरू–‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ पढेका पाठकको लागि ‘देखेको देश’ फरक लयको पुस्तक लाग्नु स्वाभाविक हो । ‘उपल्लो थलो’ नेपालको उत्तरी भेगको यात्रा वृत्तान्त हो र ‘मान्ठा डराएको जुग’ द्वन्द्वकालीन नेपालको फिल्ड रिर्पोटिङ । दुवै पुस्तक भिन्न–भिन्न विषयमा लेखिएका अलग–अलग दुई लयका पुस्तक थिए । तर मैनालीको तेस्रो कृति ‘देखेको देश’ भने एउटै पुस्तकभित्र धेरै लय समावेश भएको पुस्तक हो । यसर्थ विषयवस्तुका आधारमा अघिल्ला दुई कृति एकल गायन हुन् भने तेस्रो कृति सामूहिक गायन हो ।
‘देखेको देश’ विषयवस्तुका आधारमा क्वाँती कृति हो । क्वाँती ९ थरी गेडागुडी मिसाएर पकाएको सुप हो । जसरी क्वाँती मिठो र पोषणयुक्त हुने गर्दछ, ‘देखेको देश’ पनि उत्तिकै मिठो र पोषणयुक्त कृति बनेको छ । मैनालीले कृतिमा हिमालदेखि विकाससम्म, किताबदेखि राजनीतिसम्म, पर्यावरणदेखि भूकम्पसम्म, द्वन्द्वदेखि पत्रकारितासम्मका विषयमा कतिपय आत्मगत, कतिपय रिर्पोटिङ, कतिपय आफ्नो विचारमा आधारित निबन्धहरू प्रस्तुत गरेका छन् । आफैं पनि लामो समयदेखि खोज पत्रकारितामा लागेका र धेरैलाई खोज पत्रकारिता सिकाउ“दै हिंडेका उनका लेखाइमा खोजमूलक सामग्री हुनु स्वाभाविक र अपेक्षित हुन् । कृतिमा उल्लेखित विभिन्न पुस्तकहरूका नामले पनि उनको खोजीको परिधिको बिराटता पाठकले महसुस गर्न सक्छन् । सामान्यतः किताब पसलको कुनामा थन्काइएका, पुस्तकालयभित्र पनि सबभन्दा दुर्गम ¥याकमा वर्षौंदेखि नपल्टाइएका र इस्यु पेजमा मिति नचढेका पुस्तकभित्र पसेर त्यसभित्रका मणि समाजसामु ल्याउनु पनि खोज पत्रकारिता नै हुुनुपर्दछ । मणि खोज्दै नागको दुलोदेखि सडकको धुलोसम्म चलाउ“दै हिंड्ने मैनालीले यो कृतिमा तिनै खोजका मणि समाजलाई हस्तान्तरण गरेका छन् ।
अघिल्ला कृतिहरूमा जस्तै यो कृतिमा पनि मैनालीको सबभन्दा शक्तिशाली पक्ष भनेको उनको लेखन शैली हो । नेपालको समकालीन लेखनमा लेखन शैली राम्रो, तर विषयवस्तु खोक्रो भएका कृतिको कमी छैन । मैनालीका हालसम्मका तीन वटै कृति भने विषयवस्तु र शैली दुवै हिसाबले भरिला कृति हुन् । पीडित समुदायको अगेनासम्म पुगेर तिनले भोगिरहेका समस्या उधिन्ने र त्यसलाई मायालु पाराले लेख्ने मैनालीको शैलीले पुस्तकलाई मिठो मात्र नभई भरिलो पनि बनाएको हुन्छ । वास्तवमै उनले मिठो र पोषिलो क्वा“ती जस्तै बनाएका छन्–पुस्तकलाई ।

नेपाली समाजको पिंधमा बसेका समस्या र विकृतिलाई मैनालीले सतहमा ल्याएका छन् । विद्यार्थी राजनीतिको नाममा भइरहेका अराजकता र हुलदङ्गादेखि ठूला राजनीतिक दलले चुनाव जित्न गर्ने पैसाको छेलोखेलो र त्यही ‘लगानी’ उठाउन गर्ने भ्रष्टाचारका कुरालाई लेखकले निखारेका छन् । पुस्तौं पुस्तादेखि बस्दै आएको पुख्र्यौली थलोबाट आदिबासीलाई उठिबास गर्दा उनीहरूको संस्कृति र रहनसहनमा पर्ने प्रभावको बारेमा मैनालीले नेपालका विभिन्न उदाहरणहरू सहित चर्चा गरेका छन् । चितवनको पदमपुर र मकवानपुरबाट कुलेखानी जलविद्युत्त्को जलाशय बनाउन विस्थापित भएका मानिसहरूको कथाले मानव बसाइसराइले घर र जग्गामात्र सकिने नभई उनीहरूको संस्कृति र जीवनपद्धतिमा समेत नकारात्मक प्रभाव पर्ने मैनालीको खोज नतिजा छ । विकासका नाममा संस्कृतिमाथिको हमला आज अझ भयावह रुपमा फैलिएको छ । पुस्तकमा समावेश सोसम्बन्धी लेख आजको सन्दर्भमा पनि उत्तिकै सिक्नलायक छन् । कम्तीमा विकास र समृद्धिको नारा फलाक्दै आदिबासी संस्कृतिको अर्थ नजानेका असभ्यहरूलाई आगामी दिनमा यस्ता पाठ पढाउन जरुरी छ ।
खोज पत्रकारिताको तालिम दिन अफगानिस्तानमा जा“दा मैनालीले भोगेको त्रासद समय र त्यहीबीच फुलेको आशाको ज्योतिको अनुभव लेखन पाठकको लागि रोचक हुनसक्छ । हिमालसम्बन्धी लेखकको जानकारी र आकर्षण दुवै लोभलाग्दो छ । पुस्तकको अन्तिम सामग्री मैनालीप्रति सद्भाव राख्ने जोकोहीलाई सबभन्दा रोचक सामग्री हुन सक्छ । त्यसमा उनले आफ्ना रुचि र रोजाईका विभिन्न विषयबारे चर्चा गरेका छन् ।
काठमाण्डौमा एउटा घर ठडिएवापत गाउँमा एउटा घर रित्तिने भाव बोेकेको ‘भत्केको गाउँ, बनेको शहर’ मा जनसङ्ख्या केन्द्रिकरणले निम्त्याइरहेका समस्याबारे रोचक चर्चा गरिएको छ । केन्द्रिकरणकै कारण देशको विकास भएन (सा“च्चै त्यही कारणले मात्र देशको विकास नभएको हो त) भन्नेहरू पनि आज सङ्घीय बन्दोबस्तमा सबै अधिकार आफ्नै गोजीमा कोच्ने ढ·का व्यवहार गरिरहेका छन् ।
मैनालीले अनेकन नैतिक प्रश्न पनि पुस्तकमा उठाएका छन् । शिक्षा, पत्रकारिता, राजनीतिक दल, करदाता र कर उठाउने सरकार आदिका नैतिकता र नैतिक स्खलनका कुरा पनि पुस्तकमा उजागर गरिएको छ ।
विभिन्न मितिमा विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा प्रकाशित लेखहरूको सङ्ग्रह भएकाले पुस्तकमा कतिपय प्रसङ्ग दोहोरिएका पनि छन् । त्यसले लेखक ती विषयमा कति गम्भीर छन् भन्ने कुरा प्रतिविम्बत गरेको छ । लेखक मात्र लेख्ने जिम्मेवारीमा सीमित बन्दा त्यो लेखन खोक्रो बन्ने सम्भावना प्रबल हुने गर्दछ । तर लेखक जब स्वंय अभियन्ता बन्ने गर्दछ भने त्यो लेखनमा विचारको प्रभाव पनि बलियो रहने गर्दछ । ‘देखेको देश’ त्यस्तै विचार र शैली दुवैको मिश्रणयुक्त सामग्री हो । अघिल्ला कृतिहरूको तुलनामा यो कृतिले मैनालीको लेखकीय र अध्येताको आयामलाई अझ फराकिलो बनाइदिएको छ । मैनाली जस्ता लेखक र खोजअभियन्ताहरूले धेरै–धेरै लेखे नेपाली समाजको ज्ञानको खडेरीमा क्रमशः मनसुन लाग्दै जाने आशा गर्न सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *