भर्खरै :

काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्नेमा जोड

काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्नेमा जोड

भक्तपुर, १६ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्का जात्रा २०८०/८१ शान्तिपूर्ण, मर्यादित र भव्यताका साथ सम्पन्न गर्न योगदान गर्ने सरोकारवाला सबै सङ्घ संस्था र सहयोगीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम आइतबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले देशको कला र संस्कृति सभ्यता हो, हाम्रो कला र सभ्यतालाई अझ विशिष्टीकृत ढङ्गले प्रदर्शन गर्न पाउनु सबैको लागि गौरवको विषय भएको बताउनुभयो ।
जात्रामा सरकारी निकायबाट उल्लेखनीय काम भएको बताउँदै उहाँले बिस्का जात्रा सबै उमेर समूह र देश विदेशका जनताले हेर्न पाउने व्यवस्था हुनु सुखद पक्ष भएको बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनु उपयुक्त हुने धारणा राख्दै दाङलाई सङ्घीय राजधानी बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल–भारतबिचको खुला सिमानाका कारण नेपालको आन्तरिक मामिलामा समेत भारतको हस्तक्षेप बढ्दै गइरहेको बताउँदै उहाँले शासन सत्तामा बस्ने पदाधिकारीहरूमा देश विकासको खाका नहुँदा देश अनियन्त्रित ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।
चिकित्सकहरूको दरबन्दी नथपिँदा नेपालबाट विदेश जाने चिकित्सकहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको बताउँदै उहाँले जनशक्ति पलायन हुने प्रवृत्तिले नेपालको अर्थतन्त्रमै क्षति पुगिरहेको बताउनुभयो । उहाँले विदेशी लगानीले देशलाई अरूको उपनिवेश बनाउने खतरा रहेको उल्लेख गर्नुभयो ।
खाद्य पदार्थमा हुने मिसावटका कारण उपभोक्ताले गुणस्तरहीन खाद्यपदार्थको उपभोगबाट जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताउँदै उहाँले खाद्य पदार्थमा मिसावट गर्नु कानुनीरूपमा दण्डनीय रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रामा प्रत्यक्ष र अप्रत्यक्षरूपमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सरोकारवाला टीम, क्लव, दाफा–भजन तथा स्थानीय जनतालाई भनपाको तर्पmबाट धन्यवाद व्यक्त गर्नुभयो ।
जात्रा अवधिभर भक्तपुर नपाले वडा–वडामा नर्स र स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरी प्राथमिक उपचार कक्षको व्यवस्था गरेको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षणले राष्ट्रिय गौरवलाई अझ उँचो बनाएको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुरका चाडपर्व तथा जात्राहरू धार्मिक तथा सांस्कृतिक महत्वका हुनुका साथै विज्ञानसम्मत पनि भएको बताउँदै प्रकृतिसँग जोडिएका सम्पदाको महत्वबारे नयाँ पुस्तामा हस्तान्तरण गर्ने व्यवस्था आवश्यक भएको बताउनुभयो ।
भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठले बिस्का जात्राबारे आफ्नो अनुभव सुनाउँदै यस वर्षको बिस्का जात्रा भव्य, सभ्य र शान्तिपूर्णरूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
बिस्का जात्राबारे जिल्ला प्रशासन कार्यालयले गरेको पूर्व तयारी र सम्बन्धित सरोकारवालाहरूसँग भएको समन्वयबारे जानकारी गराउँदै उहाँले स्थानीय जात्रा पर्वहरू प्रहरी प्रशासनको संलग्नताविना नै जात्रा शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
गुठी संस्थानका प्रमुख खिमा वलीले भक्तपुरवासी जनताको साथ र सहयोगकै कारण बिस्का जात्रा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको स्मरण गर्दै जात्राका चुनौती र समस्याहरूलाई आउँदो वर्षमा सुधार अगाडि बढ्ने प्रतिबद्धना जनाउनुभयो ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *