भर्खरै :

क्रान्तिकारी पार्टीबिना देशमा आमूल परिवर्तन असम्भव

देशमा परिवर्तनको लागि क्रान्तिकारी पार्टीको खाँचो हुन्छ । क्रान्तिकारी पार्टीबिना देशमा आमूल परिवर्तन असम्भव हुन्छ । क्रान्तिकारी पार्टीका नेता तथा कार्यकर्ता जनताका आँखा र कान हुन्† देश र समाजका सम्पत्ति हुन् । पार्टीको विचार क्रान्तिकारी छैन, नेता तथा कार्यकर्ताहरू क्रान्तिकारी छैनन् भने जतिसुकै दल ठुलो भए पनि, जति पटक सरकारमा गए पनि मौलिक परिवर्तन हुँदैन; देशमा भइरहेको पनि छैन । देशमा एमाले र माओवादीजस्ता ठुला भनिने कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार पुगेकै हो† सरकार सञ्चालन भएकै हो । तर, कम्युनिस्टको सिद्धान्त, विचार र मूल्य–मान्यताअनुसार यहाँ कुनै सरकारी गतिविधि भएन, सरकारी निर्णय भएन । बरू उल्टो ती दलका नेताहरूको कारण कम्युनिस्ट पार्टीहरूको बदनाम भयो; अन्य सच्चा कम्युनिस्ट पार्टीलाई पनि अप्ठेरो भयो । यसकारण, देशमा परिवर्तन चाहने देशभक्त पार्टी, नेता, कार्यकर्ता तथा जनताले कम्युनिस्टको नाउँमा कम्युनिस्टविरोधी गतिविधि गर्ने, कम्युनिस्टको सिद्धान्त र विचार उल्लङ्घन गरी पुँजीपतिवर्गको पृष्ठपोषण गर्ने, विदेशी दलालको सेवा गर्ने दल र दलका नेता तथा कार्यकर्ताहरूलाई जनताले चिन्नुपर्छ ।
आज देशमा क्रान्तिकारी दल, क्रान्तिकारी नेता र कार्यकर्ताहरूको खाँचो छ । यसकारण, कुन दल ठुलो र सानोभन्दा पनि कुन दलको विचार सही र व्यापक जनताको पक्षमा छ, कुन दलले कुन वर्गका जनताको सेवा गरिरहेको छ ? त्यसको पनि जनताले सही मूल्याङ्कन गर्नुपर्छ । क्रान्तिकारी दल, क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूको विरोध गर्ने दल र दलका नेताहरूले देशमा परिवर्तन गर्दैनन्; गर्न चाहँदैनन् । परिवर्तनकामी दल र दलका नेता र कार्यकर्ताहरूको विरोध गर्नु परिवर्तनविरोधी विचार हो† त्यो देश र जनताकै अपमान हो । देशमा परिवर्तन नचाहने दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू पुँजीवादी व्यवस्थामा हुने निर्वाचनबाटै समाजवाद स्थापना गर्नसक्ने भ्रम फैलाउँदै छन् । तिनीहरू कम्युनिस्टको सिद्धान्त र विचार छोड्दै विदेशी शक्ति राष्ट्रहरूको पछि लाग्दै छन्; तिनीहरूको दबाबमा सरकार चलाउँदै छन् ।
चीनका लुसुनले समाज परिवर्तनको निम्ति साहित्य रोजे र क्रान्तिकारी साहित्य लेखेर जनचेतना जगाउने काम गरे । क्यानडाका डाक्टर नर्मन बेथुन क्यानडा कम्युनिस्ट पार्टीको निर्देशनमा स्पेन पुगे र क्रान्तिकारी जनताको सेवा गरे । पछि उनी चीन पुगे । चिनियाँ जनताले जापानी आक्रमणको विरोधमा सङ्घर्ष गरिरहेको बेला घाइते र रोगीहरूको रातदिन सेवा गरे । अर्जेन्टिनाका डाक्टर चे ग्वेभारा पनि क्रान्ति र समाजवादको बाटोमा लागे । क्युवाली विद्रोहीहरूसँग क्रान्ति र समाजवादबारे चे ग्वेभाराले छलफल गरे र क्युवाको क्रान्तिलाई समाजवादी क्रान्तिमा फेर्ने वचन दिए र त्यस कार्यमा खटे ।
तर, नेपालमा आफूलाई ठुला भनिने कम्युनिस्टहरू कहिले पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलसँग त कहिले प्रतिक्रियावादी त कहिले सङ्घीय र क्षेत्रीयवादी दलसँग साँठगाँठ गर्न पुगे । तिनै दलका नेताहरू जनताको विश्वास जित्न या जनतामा विश्वास जगाउन कहिले समाजवादी मोर्चा, कहिले समाजवादको कुरा खोकेर जनतामाझ झूट कुरा फलाक्छन् । पुँजीपतिवर्गले कम्युनिस्टको विरोध गर्नु स्वाभाविक हो । तर, नेपालमा कम्युनिस्टले कम्युनिस्टको सिद्धान्तको विरोध गर्छ । कम्युनिस्टको विरोध गरेर पुँजीपतिवर्गलाई खुसी पार्छ; विदेशी दलाल र विदेशी शक्ति राष्ट्रहरूलाई खुसी पार्छ । यो कम्युनिस्टविरोधी चरित्र हो । ठुला भनिने शासक कम्युनिस्टहरूको यस्तै गतिविधि र चरित्रले गर्दा देशमा पुँजीवादी पार्टी, प्रतिक्रियावादी र स्वतन्त्र भनिने दलले फाइदा लिइरहेका छन् । यसले नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई पछि धकेल्छ र देशको परिवर्तनमा पछाडि धकेल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *