भर्खरै :

एनजीओ साम्राज्यवादको नोकर !

एनजीओ साम्राज्यवादको नोकर !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू विश्वभरझैँ क्रियाशील छन् । दोस्रो विश्वयुद्धपछि साम्राज्यवादी देशहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा नवउपनिवेशवाद सुरुआत गरे । विश्व साम्राज्यवादको प्रमुख उद्देश्य भूमण्डलीकरण, उदारीकरण र निजीकरणको नाउँमा राज्यलाई कमजोर गरेर प्राकृतिक संशाधनको दोहन गर्नु हो । दलाल पुँजीपतिवर्गको उदयमार्फत राज्यलाई कमजोर बनाउने काम एनजीओले गर्छ । राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई क्षयीकरण गर्नु, वर्गसङ्घर्षको भावनालाई अन्त मोडेर जातीय, क्षेत्रीय र सामुदायिक द्वन्द्वको सिर्जना गर्नु एनजीओको अर्को उद्देश्य हो । आज संसारभर साम्राज्यवादको इसाराअनुसार एनजीओहरू सञ्चालन भइरहेका छन् । पुँजीवादी व्यवस्था भएको नेपालमा पनि साम्राज्यवादी देश अमेरिकाले आइएनजीओ सञ्चालन गरेको छ । बारबरा फाउन्डेसन र अमेरिकी युथ युनियनका यसका दृष्टान्त हुन् । आश्चर्यको कुरा नेपालका कम्युनिस्ट भनिने कति दलका नेताहरू पनि साम्राज्यवादको स्वार्थ पूरा गर्न या स्वार्थ अनुकूल क्रियाशील छन् । उनीहरूले एनजीओलाई पैसा कमाउने मेसो या आधार बनाएका छन् । यो कम्युनिस्टहरूको कम्युनिस्टविरोधी चरित्र हो । वर्तमान सरकार पनि विदेशीको उठबसमा चलिरहेको विश्लेषण छ ।
भिजन पब्लिकेसन, काठमाडौँले ‘एनजीओः एक खतरनाक साम्राज्यवादी जालो’ शीर्षकको पुस्तक नै प्रकाशित गरेको छ । जेम्स पेत्रास र हेनरी वेल्तमेयरले ‘एनजीओ : साम्राज्यवादको नोकर’ शीर्षकको लेख लेखे । एनजीओहरूले शोषित पीडित जनतालाई दिग्भ्रमित पार्न, आन्तरिक द्वन्द्व चर्काउन, सामुदायिक भावना फैलाएर देशलाई कमजोर पार्न प्रयोग गरिने गैरसरकारी संस्थाको निम्ति करोडौँ, अरबौँ डलर खर्च गरिरहेका हुन्छन् । एनजीओका सञ्चालकहरू एकातिर तानाशाही र मानव अधिकार उल्लङ्घनको आलोचना गरेको देखाउँछन् भने अर्कोतिर चालै नपाइकन अधिकार प्राप्तिको निम्ति हुने जनआन्दोलनको दिशालाई मोड्ने काम गर्छन् ।
प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारको नाउँमा प्रजातान्त्रिक आन्दोलन, प्रजातान्त्रिक पद्धति र प्रक्रियाकै धज्जी उडाउने काम एनजीओले गरिरहेको हुन्छ । विदेशी धन प्रयोग गरेर स्वदेशीलाई भड्काउने, झगडा गराउने, सेवाभावलाई मोड्ने र पैसामा फसाएर जीवनको उद्देश्य भुलाउने काम एनजीओले गरिरहेकोमा शङ्का छैन । सर्वसाधारण जनताको सङ्गठित शक्तिलाई निष्क्रिय बनाउने, आन्दोलनलाई मत्थर पार्ने काममा एनजीओ क्रियाशील भइरहेकोमा शङ्का छैन । गैरसरकारी संस्थाको रुपमा परिचालन भइरहेको एनजीओले विदेशी सरकारबाट धन प्राप्त गर्छ । उनीहरूको विदेशी सरकारी एजेन्सीहरूसँग साँठगाँठ हुन्छ । उनीहरूले ल्याएको बजेटबारे स्थानीय तहलाई केही जानकारी दिएको हुँदैन; कुन निकायका कसले कति लागतमा के गर्दै छ भन्ने कुरा स्थानीयका जनप्रतिनिधिलाई थाहा हुँदैन या थाहा दिँदैन । गैरसरकारी संस्थाले अर्ध खुला अर्ध गोप्यको रूपमा काम गरिरहेको हुन्छ । उनीहरू घरेलु विदेशी सरकारी एजेन्सीहरूसँग साँठगाँठ गर्छन् । उनीहरूको विकास योजना स्थानीय तह या स्थानीय जनताप्रति उत्तरदायी हुँदैन । किनभने, उनीहरू विदेशी दाताहरूप्रति उत्तरदायी हुन्छन् ।
राजनीतिक दलका कति नेता तथा कार्यकर्ताहरू विदेशी सहयोग पाउनकै निम्ति एनजीओको खोजीमा लाग्छन् । उनीहरू विदेशी दाताहरूको लक्ष्यअनुसार योजना छनोट गर्छन् । आफ्नो देशको राजनीतिप्रति अनास्था बढाउन, वर्गीय एकतामा भाँजो हाल्न देशी–विदेशी शोषक र जालीफटाहाविरुद्धको आन्दोलनलाई शिथिल बनाउन एनजीओ खडा गरेको हुन्छ । सामाजिक परिवर्तन गर्ने उद्देश्यलाई तोडमोड गर्ने, कोही सीमित वर्गको स्वार्थमा केन्द्रित रहेर बहुसङ्ख्यक जनताको भावनालाई लत्याउने एनजीओलाई सरकारले स्थान दिनुहुँदैन । राजनीतिक रुपमा एनजीओ साम्राज्यवादी रणनीतिसँग मिलेको हुन्छ । राजनीतिक दलका सच्चा नेता तथा कार्यकर्ताहरू एजनीओदेखि सतर्क रहन्छन् । उनीहरू एनजीओबारे जनतालाई सुसूचित पार्छन् । यो समयको आवश्यकता हो । यसको बेवास्ता गरिए देश झन्झन् पराधीन हुँदै जानेछ । पराधीन देशमा अभाव, अन्योल र सङ्कट बरोबर देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *