देश जोगाउन र विकास गर्न स्वदेशी दृष्टि आवश्यक
- कार्तिक ५, २०८३
आधुनिकता र समृद्धिको परिभाषा के हो ? प्रविधिको अत्यधिक प्रयोग, भौतिक सुख–सुविधाका साधन र भौतिक अट्टालिकाहरू नै मानव सभ्यताका अन्तिम लक्ष्य हुन् ? आजको विश्वले भोगिरहेको गम्भीर मानसिक, वातावरणीय र शैक्षिक सङ्कटले यो प्रश्नलाई पुनः विमर्शको केन्द्रमा ल्याइदिएको छ । एकातिर पश्चिमा समाज आफ्नै भौतिक समृद्धिको चरम सीमामा पुगेपछि सिर्जित आध्यात्मिक शून्यता मेटाउन पूर्वीय ज्ञान, दर्शन र अध्यात्मतर्फ फर्किँदै छ† अर्कातिर हामी भने आफ्नै पुर्खाको हजारौँ वर्षको साधनाबाट प्राप्त अमूल्य धरोहरलाई उपेक्षा गर्दै उनीहरूले छाड्दै गएका गल्तीहरूलाई ‘आधुनिकता’ सम्झेर अँगाल्न उद्यत छौँ ।
पश्चिमा जगत्ले विज्ञान र प्रविधिको अभूतपूर्व विकास गरेपछि भौतिक सुख–सुविधाले मात्र मानव जीवनलाई पूर्णता र आन्तरिक शान्ति दिन सक्दैन भन्ने सत्य महसुस ग¥यो । भौतिकताको जगमा खडा भएको समृद्धिले दिएको मानसिक तनाव र आत्मिक शून्यताको समाधान खोज्दै उनीहरू श्रीमद्भगवद्गीता, उपनिषद् र बौद्ध दर्शनको गहिरो अध्ययनमा लीन हुन थाले । जर्मन दार्शनिक आर्थर शोपेनहावरले उपनिषद्को अध्ययनपछि यसलाई आफ्नो जीवन र मृत्युको सबैभन्दा ठुलो सान्त्वना मानेका थिए । राल्फ वाल्डो इमर्सन, हेनरी डेभिड थोरोजस्ता गम्भीर विचारक मात्र होइन, क्वान्टम मेकानिक्सका संस्थापक भौतिकशास्त्री अर्विन श्रोडिङ्गरसम्मले पूर्वीय अद्वैत वेदान्तबाट चेतना र वास्तविकताको अभिन्नताबारे वैज्ञानिक प्रेरणा प्राप्त गरेका थिए । आज पनि अक्सफोर्ड, हार्भर र हाइडेलबर्ग जस्ता विश्वका अग्रणी विश्वविद्यालयहरूमा पूर्वीय दर्शन, संस्कृत र योग अध्ययनका लागि अनुसन्धान पीठहरू सञ्चालित छन् । तर, हामी भने आफ्नै रैथाने ज्ञान र वैदिक दर्शनलाई ‘अन्धविश्वास’ वा ‘पुराना विचार’ ठहर गर्दै बेवास्ता गर्दै छौँ । आफ्नै आँगनमा रहेको ज्ञानको अनन्त भण्डारलाई त्यागेर बाह्य चमकधमकमा जीवनको अर्थ खोज्नु भनेको हाम्रो वैचारिक र बौद्धिक दरिद्रता हो ।
औद्योगिक क्रान्तिपछि उत्पादन वृद्धि गर्ने तीव्र होडबाजीमा पश्चिमा देशहरूले रासायनिक मल, विषादी र कीटनाशकको अनियन्त्रित प्रयोग गरे । फलस्वरूप, केही दशकमै उनीहरूको माटोको जैविक उर्वराशक्ति नष्ट भयो, जैविक विविधता मासियो, भूमिगत जलस्रोतहरू दूषित भए र क्यान्सरजस्ता असाध्य रोगहरू व्याप्त बने । गल्तीको गम्भीरता महसुस गरेपछि आज युरोप र अमेरिकाका सचेत नागरिकहरू जैविक तथा प्राङ्गारिक खेतीतर्फ तीव्र रूपमा फर्कँदै छन् । युरोपियन युनियनले आफ्नो महत्वाकाङ्क्षी योजना ‘फार्म टु फर्क स्ट्रयाटेजी’ मार्फत सन् २०३० सम्ममा कम्तीमा २५ प्रतिशत कृषि भूमिलाई पूर्ण जैविक बनाउने र रासायनिक कीटनाशकको प्रयोग ५० प्रतिशतले घटाउने नीतिगत लक्ष्य निर्धारण गरिसकेको छ । अस्ट्रियाजस्ता देशहरूमा कुल कृषिक्षेत्रको २५ प्रतिशतभन्दा बढी भाग जैविक खेतीमा रूपान्तरण भइसकेको छ । उनीहरू हाम्रो परम्परागत कम्पोस्ट मल, गोबर मल र प्राकृतिक कीटनाशकको दिगो महत्व बुझ्दै छन् ।
शिक्षाको क्षेत्रमा त हामी अझ गम्भीर भ्रमको सिकार भएका छौँ । स्विडेन, फिनल्यान्ड र बेलायतजस्ता विकसित शैक्षिक प्रणाली भएका देशहरूले प्राथमिक तहका बालबालिकाका लागि डिजिटल स्क्रिन, ट्याब्लेट र स्मार्ट बोर्डको प्रयोगलाई नियन्त्रण गर्दै पुनः हस्तलेखन, मुद्रित पुस्तक र भौतिक पठनपाठनमा लगानी बढाएका छन् । स्विडेनकी शिक्षामन्त्री लोटा एडहोमले स्पष्ट रूपमा स्वीकार गरेकी छन् कि अत्यधिक डिजिटल प्रयोगले बालबालिकाको पठन क्षमता, ध्यान केन्द्रित गर्ने शक्ति र गहन सोचमा गिरावट ल्याएको छ । न्युरोसाइन्स र मनोविज्ञानका अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् कि कलमले कागजमा लेख्दा र पुस्तकका पाना पल्टाएर पढ्दा मस्तिष्कका संज्ञानात्मक क्षेत्रहरू सक्रिय हुन्छन्, जसले स्मरणशक्ति, सिर्जनशीलता र तर्कक्षमताको विकास गर्छ । स्क्रिनको अत्यधिक प्रयोगले भने बालबालिकामा ध्यान केन्द्रित गर्न नसक्ने समस्या र चिन्ता बढाएको छ । तर, हामी साना बालबालिकाको हातमा ट्याब्लेट र मोबाइल थमाइदिनुलाई शैक्षिक क्रान्ति र गर्वको विषय मानिरहेका छौँ । प्रविधिलाई शिक्षाको सहयोगी माध्यम बनाउनुको साटो शिक्षक र पुस्तककै विकल्प बनाउन खोज्नुले हाम्रा बालबालिकाको मौलिक सिर्जनशीलता र स्वतन्त्र सोच्ने क्षमतालाई भित्रभित्रै कमजोर बनाइरहेको छ ।
यहाँ मूल समस्या आधुनिकताको गलत परिभाषामा छ । हामीले आधुनिक हुनु भनेको आफ्ना मौलिकता, संस्कृति, परम्परा र प्राकृतिक जीवनशैलीलाई त्याग्नु हो भन्ने आत्मघाती मान्यता निर्माण ग¥यौँ । हामीले पश्चिमाहरूको प्रविधिलाई मात्र अपनाएनौँ, उनीहरूका अनुभवबाट सिद्ध भइसकेका गल्तीहरूलाई पनि अन्धो भएर पछ्यायौँ । उनीहरूले छाडेका विनाशकारी पदछापहरूमा अन्धाधुन्ध हिँड्दै त्यही खाडलमा खस्न उद्यत छौँ ।
साचो विकास भनेको केवल भौतिक सुविधाहरूको सङ्ग्रह, अव्यवस्थित सहरीकरण वा डिजिटल उपकरणहरूको बाहुल्य मात्र होइन । साँचो विकास त विवेक, स्वास्थ्य, पर्यावरण, सामाजिक सद्भाव र मौलिक ज्ञानको सन्तुलित संयोजन हो । हामीले आफ्नो रुखको जरा आफैँ काटेर रुख सधैँ हरियो र फलदायी हुन्छ भन्ने असम्भव आशा राखिरहेका छौँ, जुन प्रकृतिको नियमविपरीत छ ।
हामीले आधुनिकता र अन्धानुकरणबिचको सूक्ष्म तर गम्भीर फरक बुझ्नुपर्छ । प्रविधिलाई जीवन सहज बनाउने साधनका रूपमा विवेकपूर्ण प्रयोग गर्नुपर्छ, तर यसलाई आफ्नो मौलिक सोच, स्वास्थ्य र संस्कृतिमाथि हाबी हुन दिनु हुँदैन । हाम्रा वैदिक तथा पूर्वीय शास्त्रहरूलाई अन्धविश्वास वा कर्मकाण्डका रूपमा होइन, जीवन जिउने उत्कृष्ट कला र वैज्ञानिक दर्शनका रूपमा पुनः अध्ययन गरी आधुनिक शिक्षा प्रणालीमा समावेश गर्नुपर्छ । कृषिमा रासायनिक निर्भरता घटाउँदै जैविक र प्राकृतिक खेतीतर्फ नीतिगत रूपमै ठोस पाइला चाल्नुपर्छ । शिक्षामा बालबालिकालाई स्क्रिनको लतबाट मुक्त गराई पुनः पुस्तक, प्रकृति, हस्तलेखन र व्यावहारिक ज्ञानसँग जोड्नुपर्छ ।
अन्त्यमा, जबसम्म हामी अरूको पछाडि दौडिन छाडेर आफ्नो मौलिकता, पुर्खाको ज्ञान र आन्तरिक सामथ्र्यलाई चिन्दैनौँ, तबसम्म हामी कहिल्यै साँच्चै समृद्ध र स्वाभिमानी हुन सक्दैनौँ । पश्चिमाहरूले हाम्रा दर्शन र परम्पराबाट सिकेर अगाडि बढ्ने, अनि हामी उनीहरूका पुराना गल्तीहरू दोहो¥याएर पछाडि पर्ने यो लज्जास्पद चक्रलाई तोड्नु नै आजको मुख्य आवश्यकता हो ।
Leave a Reply