नेपालभाषा साहित्य तःमुंज्याको ऐतिहासिक कदम !
- कार्तिक ७, २०८३
हरेक वर्ष दसैँसँगै आउँछ तःमुंज्या । दसैँ आउनु तःमुंज्या आउनुजस्तै लाग्छ । तःमुंज्या अर्थात् नेपालभाषा साहित्य तःमुंज्या । तःमुंज्याको शाब्दिक अर्थ हो सम्मेलन । यो वर्ष तःमुंज्या ४६ वर्षको भएको छ । बितेका ४६ वर्षमा विजया दशमी पछिको द्वादशी र त्रयोदशीमा भक्तपुरका खुला चोकहरूमा यो साहित्य सम्मेलन लगातार हुँदै आएको छ । तःमुंज्या हिजोआज आफैमा एउटा पर्व बनेको छ । दुवै दिन झन्डै १४–१५ घण्टा चल्ने तःमुंज्या साहित्य र संस्कृतिको महोत्सव बनेको छ । दिनभर साहित्यिक एवम् वैचारिक विमर्श पछि मध्यरातसम्म पनि सांस्कृतिक कार्यक्रमको सिलसिला रोकिँदैन ।
पञ्चायतकालमा चलेको भाषिक र प्रजातान्त्रिक आन्दोलनको इतिहाससँग गाँसिएको छ, तःमुंज्याको इतिहास । विविध भाषा, धर्म, जाति, भेषभूषा र विचारको अस्तित्वलाई नकार्दै एउटै भाषा, एउटै धर्म र एउटै सिद्धान्तमा पगाल्ने पञ्चायती नीतिप्रति विमति राख्दै उठेको भाषिक आन्दोलनको हिस्सा हो तःमुंज्या । भाषिक आन्दोलनभित्र जन्मेका विभिन्न कोण र दृष्टिकोणमध्ये एउटा कोणको प्रतिनिधित्व गर्छ तःमुंज्याले । भाषिक आन्दोलनलाई विशुद्ध भाषिक आन्दोलनमा सीमित राख्ने वा भाषिक आन्दोलन राजनीतिक आन्दोलनकै हिस्सा हो भन्ने वैचारिक बहसकै सिलसिलामा तःमुंज्याको सुरुआत भयो । भाषिक आन्दोलन मात्र अलग आन्दोलन हुन सक्दैन बरु जनताको राजनीतिक आन्दोलनकै हिस्सा बनाइनुपर्छ भन्ने कोणको प्रतिनिधित्व गर्छ तःमुंज्याले । भक्तपुरमै तिनै दुई दिन अर्को ऐतिहासिक साहित्य सम्मेलन पनि हुँदै आएको छ, तःमुंज्याभन्दा अघिबाटै, विराट नेपालभाषा साहित्य सम्मेलन । नेपालभाषा आन्दोलनमा विराट नेपालभाषा साहित्य सम्मेलन आफैमा एउटा सम्पदा बनिसकेको छ । विराटले भाषिक आन्दोलनलाई राजनीतिक आन्दोलनबाट अलग राख्नुपर्छ अथवा भाषिक एवम् जातीय आन्दोलनमै सीमित राख्नुपर्छ भन्ने मत राख्छ । त्यसकारण, तःमुंज्याले जनता रहे, भाषा बाँच्छ भन्छ भने विराटले भाषा बाँचे जाति रहन्छ भन्ने मत राख्छ । कतिबेला प्रतिस्पर्धीजस्ता देखिए पनि खासमा यी दुवै सम्मेलनले नेपालभाषा, साहित्य, संस्कृतिको संवद्र्धनमा गुनिलो भूमिका खेलेका छन् ।
तःमुंज्या साहित्य सम्मेलन भएर पनि विशुद्ध साहित्यमा मात्र सीमित महोत्सव भने होइन, बरु निकै फराकिलो परिधिमा त्यहाँ वैचारिक र राजनीतिक छलफल र बहस हुने गरेका छन् । नेपालभाषाको सम्मेलन भएर पनि नेपालभाषा बोल्ने वक्ता र स्रष्टामा मात्र सीमित पनि छैन । बरु, नेपालका विविध भाषामा बोल्ने र लेख्ने लेखक, कवि, कलाकार र विद्वान्हरूको साझा सम्मेलन बनेको छ, तःमुंज्या । कतिपय गैरनेवार भाषी लेखकहरूका लागि तःमुंज्यामा सहभागिता सांस्कृतिक अध्ययनकै मेसो पनि बनेको छ । केही लेखक कविहरू तःमुंज्याको भव्य मञ्चमा उभिएर सयौँ दर्शकसामु आफ्ना रचना वाचन गर्न पाउँदा त्यो वर्षको दसैँ विशेष भएको अनुभव गर्छन् । विभिन्न विषयका विज्ञहरूले पनि आ–आफ्ना विद्वताको विषयमा बोल्ने भएकाले धेरै सहभागीहरू दुईदिने सम्मेलनलाई साहित्य सम्मेलनसँगै विश्वविद्यालयको कक्षाकोठाजस्तै अनुभव गर्छन् । उदाहरणको लागि चिकित्सकहरूका वक्तव्य सहभागीहरूका लागि स्वास्थ्य परामर्श हुन्छ भने कृषिविद्का कुरा सहभागी किसानहरूका लागि बालीनालीबारे प्रशिक्षण हुने गर्छ ।
तःमुंज्या उमेरले हामीभन्दा जेठो भए पनि हामी तःमुंज्यासँगै हुर्कियौँ । दसैँ सकिएपछि तःमुंज्या आउँछ भन्ने कुरा बाल्यकालदेखि नै हाम्रो मानसपटलमा रह्यो । तःमुंज्याको मञ्चमा उक्लिनु हाम्रा लागि सधैँ गौरवको विषय बन्छ । त्यही भएर केही न केही बहाना निकालेर हामी तःमुंज्याको मञ्चमा देखिन खोज्छौँ । जस्तै कुनै वर्ष कथा, कविता वाचन गर्न, कुनै वर्ष नाटक मञ्चन गर्न ।
नेवाः को सन्तति भएर पनि औपचारिक रूपमा नेपालभाषा कहिल्यै पढ्नुपरेन । पञ्चायती एक भाषा नीतिको सिकार भयौँ हामी । आफ्नै मातृभाषामा लेख्न र पढ्न नआउने । धन्न घरमा नेपालभाषा नै बोलिने भएकाले बोल्नसम्म भने जानेका छौँ । तर, तःमुंज्या हाम्रा लागि आफ्नै मातृभाषामा लेख्न घच्घच्याउने शिक्षक र विद्यालय बनेको छ । तःमुंज्याको मञ्चमा उक्लिने लोभका कारण पनि हामीले नेपालभाषामै केही लेख्न थाल्यौँ । लेखेको मिल्दैन थाहा छ, तर लेख्छौँ । लेख्य र कथ्य भाषाबिच अन्तर हुन्छ । तर, हामी भने कक्षाकोठामा पढाइने सबै व्याकरणका नियमबाट निष्पृह रहेर जसरी बोल्छौँ त्यसैलाई देवनागरीमा लेख्छौँ र तःमुंज्यामा वाचन गर्छौँ । यसो गर्दा कतिबेला मञ्चमा आफैले लेखेको पढ्न नजानेर असिनपसिन पनि भएका छौँ । तर, घरमा आमाबुबा, बाजे बज्यैसँग बोल्ने आफ्नै पुर्खाको भाषामा साहित्य वाचन गर्न पाउँदा सन्तोष अनुभव गर्छौँ । नेपालभाषाको समृद्धि यसरी कनिकुथी लेख्दै र पढ्दै जाँदा अझ बोध भयो । लेख्दै गर, बिस्तारै मिल्दै जान्छ भनी हौस्याउने अग्रजले थप्थपाउँदा हौसिँदै गयौँ ।
तःमुंज्या नहुँदो हो त न हामीले आफ्नो भाषामा लेख्न आवश्यक ठान्थ्यौँ न त नेपालभाषामा मात्र रहेका कृति पढ्न जरुरी छ भनी सोच्ने थियौँ । नेपाली (खस) भाषा जतिकै गति र सहजताका साथ पढ्न नसके पनि आज हामी नेपालभाषा पढ्न र बुझ्न सामथ्र्य राख्छौँ । तःमुंज्या त्यसकारण पनि हाम्रो लागि राज्यले खोसेको मातृभाषा सिक्ने अधिकार दिलाउने विद्यालय हो ।
यद्यपि, तःमुंज्या र विराट सम्मेलनका लगातार प्रयासबिच पनि नेपालभाषा पढ्ने, लेख्ने र बोल्ने नयाँ मानिसहरू भने क्रमशः घटिरहेको यथार्थ भने उद्देकलाग्दो छ । नेपालभाषाले क्रमशः शब्द गुमाउँदै, हराउँदै र भुल्दै गएको छ । कसैले शुद्ध नेपालभाषा बोले बुझ्ने मानिसहरू घट्दै गएको छ । लेख्ने, अझ गुनिलो पारामा लेख्ने, स्तरीय पारामा बोल्ने मानिसहरू दिनानुदिन घट्दो छ । नेपालभाषाका पुस्तकको बजार क्रमशः खुम्चिँदो छ । यो चिन्ता तःमुंज्याको चिन्ता त हो नै । सँगै तःमुंज्याभन्दा पर अरु धेरै व्यक्ति, संस्था, राज्य र अन्तर्राष्ट्रिय संस्थाको पनि चिन्ता र चासोको विषय हो, बन्नुपर्छ ।
तःमुंज्याको मञ्चमा नाटक मञ्चन गर्नु हाम्रा लागि अर्को सन्तोषको विषय हुन्थ्यो । महिना दिनअघिबाटै रिहर्सल थालेर मध्यरातसम्म पालो कुरेर अन्ततः तःमुंज्यामा हजारौँ दर्शकसमक्ष नाटक मञ्चन गरेर मञ्चबाट तल ओर्लिँदा ठुलै परीक्षा सकेर घर फर्केको अनुभव हुन्छ । तःमुंज्याको मञ्चमा उभिएपछि जसले पनि कलाकारको अवतार धारण गरेजस्तो लाग्ने । कलाकार बन्ने प्रारम्भिक खुड्किलो बनेको छ धेरै नवदित कलाकारहरूको लागि तःमुंज्याको मञ्च । आजभोलि नेपालभाषाका चलचित्र, टेलिनाटक र म्युजिक भिडियोमा देखिने केही कलाकारहरू त्यसरी नै तःमुंज्याको मञ्चमा कखरा सिकेकामध्ये छन् ।
तःमुंज्यामा देखाइने नाटक र नाचको तःमुंज्या सकेको हप्ता दिनसम्म पनि चर्चा परिचर्चा चल्छ । धान काट्न खेत गएका किसानदेखि चिया पसलका ग्राहकबिच राम्रो प्रस्तुति र कलाकारको चर्चा चल्छ । समाजकै कथाहरूलाई मञ्चमा प्रदर्शन गरिने भएकाले पनि मानिसहरू रुचिपूर्वक त्यस्ता सांस्कृतिक अभिव्यक्तिका कुराकानी गरिरहेका हुन्छन् । नाटकमा कलाकार बनेको वर्ष हाम्रो नाटकबारे टोलछिमेकमा कस्ता टिप्पणी छन् भनी बुझ्न हामी कान ठाडो पार्दै हिँडेका छौँ । तःमुंज्यामा नाटक देखाएकोले बजारमा हिँड्दा बटुवाहरूले औँलाले हामीतिर देखाएर कानेखुशी गरेको दृश्यले तःमुंज्याको लोकप्रियताको सङ्केत गर्छ ।
इतिहास लामो बन्दै गएसँगै जिम्मेवारी र अपेक्षा पनि बढ्दै जान्छ । तःमुंज्याको उमेर बढेसँगै भाषा, साहित्य, संस्कृति प्रवद्र्धन र तिनलाई मानिसका भावनासँग जोड्दै लाने दायित्व पनि बढ्दै जान्छ । झण्डै आधा शताब्दीको यात्रा र निरन्तरता आफैमा उपलब्धि हो । निरन्तरतासँगै उपलब्धिलाई अझ विस्तार गर्नुपर्ने दायित्व थपिँदै जान्छ । नेपालभाषाको परिधि खुम्चिँदै गएको यथार्थलाई मनन गरेर हजारौँ हजार वर्षमा बनेको भाषा, संस्कृति र सभ्यतालाई जोगाउन तःमुंज्याको क्रियाशीलताले पक्कै महत्व राख्छ । सँगै वैचारिक छलफल र संवादको संस्कृति प्रवद्र्धन गर्न पनि तःमुंज्या जीवन्त रहनुपर्छ । अनि आफ्नै भाषाको सौन्दर्य बुझ्न नपाएका नयाँ पुस्तालाई आफ्नो भाषाको समृद्धिबोध गराउन तःमुंज्याजस्ता मञ्चको अझ सक्रियताको खाँचो छ ।
Leave a Reply