भर्खरै :

प्रधानमन्त्रीको भारत भ्रमण मजदुर र किसानको हकलाई प्राथमिकतामा राख !

प्रधानमन्त्रीको भारत भ्रमण मजदुर र किसानको हकलाई प्राथमिकतामा राख !

का.रोहितको दृष्टिमा नेपाल भारत सम्बन्ध
नेपाल भारत सम्बन्धमा विषयमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले लामो समयदेखि नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र असमान सन्धि सम्झौताका विषयलाई केन्द्र बिन्दुमा राखेर छलफल गर्नुपर्नेमा जोड दिँदै आउनुुभएको छ ।
उहाँको विचारमा नेपाल र भारतबिचको सम्बन्ध समान सार्वभौम राष्ट्रबिचको सम्बन्ध हुनुपर्छ न कि शक्ति र प्रभावका आधारमा सञ्चालित सम्बन्ध ।
नेपाल भारत सम्बन्धका बारेमा रोहितका मुख्य विचारहरूको अध्ययन गर्दा दुई देशबिचका समस्या एक आपसमा लुकाउन नहुने उहाँ बताउनुहुन्छ । नेपाल र भारतबिच सबै कुरा मिलेको छ भन्नु कूटनीति होइन । दुवै देशका आ–आफ्ना राष्ट्रिय स्वार्थ छन् र कतिपय स्वार्थ आपसमा बाँझिन्छन् । ती समस्याहरू तथ्यका आधारमा समाधान गर्नुपर्छ ।
त्यस्तै सन् १९५० को नेपाल भारत सन्धि र त्यसपछिका सम्झौताहरूलाई नेपालको राष्ट्रिय स्वाधीनता र आर्थिक हितको दृष्टिले आलोचनात्मक रूपमा हेर्नुपर्ने उहाँ बताउनुहुन्छ । भारतीय शासक वर्गले नेपाललाई सधैँ आफ्नो आर्थिक प्रभाव क्षेत्रभित्र राख्न खोजे पनि नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढ्नुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँको विचारमा भारतविरोधी भावना र भारतीय जनतासँगको सम्बन्धबिच फरक छुट्याउनुपर्छ । भारतीय जनता र नेपाली जनताबिच मित्रता, भाइचारा हुनु एउटा कुरा हो भने भारतीय शासक वर्गको हस्तक्षेपकारी एवं विस्तारवादी नीतिको विरोध गर्नु फरक कुरा हो । भारतीय जनताको कला, संस्कृति र ऐतिहासिक योगदान प्रशंसनीय छ ।
नेपालले भारत वा चीन कसैको पक्षमा लागेर आफ्नो राष्ट्रिय हित बिर्सनुहुँदैन । नेपालको निर्णय नेपालको राष्ट्रिय हितका आधारमा आफ्नो स्वतन्त्र परराष्ट्र नीति अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
सुस्ता, महेशपुर, जोगबनी, कोइलावासलगायतका विभिन्न सीमा क्षेत्रका विवाद र व्यापार, पारवहन तथा गोर्खा भर्तीसम्बन्धी विषयलाई नेपाल भारतका बाँझिएका स्वार्थका उदाहरणका रूपमा उल्लेख गर्दै सीमा तथा आर्थिक स्वार्थका विवाद समाधान गर्नुपर्ने बताउनुहुन्छ ।
भारत सधैँ असमान सन्धिको मौका पर्खँदै !
नेपालका सरकार प्रमुखहरूको भारत भ्रमणको विगतका अनुुभवहरू तीता छन् । बहुदलीय व्यवस्था पुनःस्थापना अघिका गण्डक सन्धिदेखि प्रजातन्त्र पुनस्थापनापछि भारत भ्रमण गएका नेपाल सरकारका प्रमुखहरूले नेपालका नदीनाला भारतको साझा बनाउनेलगायत टनकपुर, महाकाली सन्धि, अरुण तेस्रो, माथिल्लो कर्णाली, मुुगुु कर्णाली, चिसापानी कणाली आदि नेपालको हितविपरीत सन्धि सम्झौता गर्ने नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायतका हालसम्म पटक पटक सरकारमा पुुगेका राजनीतिक दलहरू जिम्मेवार हुन् । सबै देशघाती सन्धि सम्झौताहरूका लागि दोषी हुन् ।
नेपालमा राजनीतिक अस्थिरता कायम गराउने, सरकार हेरफेर गरिरहनेलगायतका दाउपेच गर्दै नेपाललाई असमान सन्धि सम्झौता गर्न बाध्य गराउन भारतीय शासक वर्ग पल्केका छन् ।
यसैको सिलसिलामा गत वर्षको भदौ २३ र २४ गतेको उपद्रवपश्चात् सरकार ढाल्ने र बनाउने काममा पनि संरा अमेरीकी साम्राज्यवादी शक्ति, नेपाली सेनाको सशङ्कित गतिविधि र पचासौँ हजार भारतीय रूपैयाँ तलब खाने मानिसहरूको प्रभावलाई नकार्न सकिन्न ।
मङ्सिर ६ गते नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन् । नेपाली जनताले के आशा गर्न सकिन्छ ?
नेपालले भारत भ्रमणको क्रममा दुुई अर्ब अमेरिकी डलर बराबरको ऋण र अनुदान माग्ने कुरामा भारत सकारात्मक छ रे । भारत भ्रमण ऋण माग्न जानु उचित हो र ?
नेपालको सार्वभौमसत्ता, स्वाधीनता, आत्मनिर्भरताका लागि के कस्ता शर्त र बन्देजहरू राख्नुपर्ने हो ? यसअघिका के कुन असमान सन्धि सम्झौताहरू खारेज गर्ने, सीमा नियमन लगायतका व्यापार घाटा न्यूनीकरण गर्दै नेपालमै रोजगारी सृजना गर्न उद्योग कलकारखाना सञ्चालनका लागि वार्ता र प्रयास गर्नुपर्ने होला ।
समग्रमा व्यापक कामगरी खाने किसान, मजदुर (जो रोजगारीको लागि करिब ८० लाख नेपाली युवाहरू बिदेसिन बाध्य छन्) को उचित जीवन यापन सम्भव बनाउनका लागि के कस्ता समझदारी गर्नु आवश्यक छ ? जस्तो रासायनिक मल कारखानाको स्थापना वा तत्कालका लागि समयमै किसानले आवश्यक रासायनिक मल तथा बिउ बिजन पाउने अवस्था सृजना गर्नुका साथै किसान र मजदुरका हकलाई प्राथमिकतामा राख्नु जरुरी छ ।
तर विडम्बना भारतीय पक्षले भने बागडोगरा प्रवेश बिन्दु हुँदै आफ्नो सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव राखेको छ ।
एउटा सार्वभौम देशको आकाशमा अर्को देशको सैन्य विमान उडान गर्न अनुमति दिनुले नेपालको असंलग्न परराष्ट्र नीति विपरीत हुन जानुका साथै अरू कुनै देशमा भारतले आक्रमण वा हमला गर्दा वा युद्ध चलेको अवस्थामा नेपाल तटस्थ बस्न नमिल्ने अवस्था आउन सक्छ । किनभने नेपालले भारतको सैन्य विमान उडाउन अनुमति दिनु भनेको नेपालको सार्वभौमिकतामाथि नै प्रश्नचिन्ह खडा हुनु हुनेछ ।
मजदुर र किसानका हकले प्राथमिकता पाउनुपर्ने
नेपालले व्यापक कामगरी खाने जनता मजदुर र किसान भएको हुँदा हरेक कुरामा झैँ नेपालका सरकार प्रमुखहरूको भ्रमणका क्रममा पनि किसान र मजदुरका हकहितका विषयलाई प्राथमिकतामा राख्नुपर्दछ ।
जुन दिनसम्म किसान र मजदुरका हितका विषय नेपाल सरकारको प्राथमिकतामा पर्र्दैन, व्यापक कामगरी खाने नेपाली जनताले दुःख भोग्न बाध्य हुनेछन् । वैदेशिक रोजगारीका क्रममा परिवार, वृद्ध आमाबुबा, नाबालक छोराछोरीलाई छोडेर विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य हुनुपर्नेछ ।
सरकार प्रमुखको भ्रमण वैदेशिक ऋण माग्ने, त्यसका लागि आफ्ना आउरे बाउरे, छेउछाउका दर्जनौँ व्यापारीहरूको हुल बाँधेर जम्बो भ्रमण टोलीसँगै लानु किमार्थ उपयुक्त होइन ।
आफ्ना नोकर चाकरलाई उपहार र व्यापार गर्न लाइसेन्स बाँड्ने काम त राजा महाराजाहरूको शासनकालमा हुने गर्दथे । ठिक त्यस्तै अहिलेका सरकारले पनि आफ्ना आउरे बाउरेको हुल बाँधेर व्यापारिक भ्रमण टोली तयार गरेको देखिन्छ ।
आज प्रधानमन्त्रीसँग भारत जाने उद्योगी, व्यापारीहरूको नामावली सार्वजनिक हुँदै गर्दा नेपालका करोडौँ किसान र मजदुरहरूको प्रतिनिधित्व कहिले हुने होला ? नेपाली किसान र बिदेसिन बाध्य हुन परेका लाखौँ मजदुरहरूको हित गर्ने सरकार कहिले बन्ने होला ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।
व्यापारीलाई होइन, किसान र मजदुरलाई अगाडि बढाऔँ
अरबपतिहरूलाई अरबपति बनाउन यो सरकारले केही गर्न पर्दैन, यो सरकार नभए अन्तर्राष्ट्रिय व्यापार र विश्व व्यापार सङ्गठनलगायतका अन्तर्राष्ट्रिय मञ्च पुुगेर व्यापार व्यवसाय गर्दै छन् मानिसहरू । तर के नेपाली जनता व्यापारी र उद्योगी मात्रै छन् । व्यापक जनता त किसान र मजदुर नै होइनन् र ?
त्यसैले जुन दिनसम्म नेपालको संविधानमा किसान र मजदुरका हकलाई मौलिक हकको रूपमा संवेधानिक व्यवस्था सुनिश्चित गर्न सकिन्न, त्यो दिनसम्म व्यापक नेपाली जनताले दुःख भोग्न बाध्य हुनेछन् ।
जीवनभर आफ्ना शरीरले सकुञ्जेल उत्पादन गर्न काम गर्ने किसान र मजदुरहरूले पनि १०–५ काम गर्ने कर्मचारी, शिक्षकले झँै पेन्सन, उपदान, निवृत्तिभरण पाउने संवैधानिक व्यवस्था गर्नु आवश्यक छ ।
त्यस्तै रोजगारीको सुनिश्चितता, किसानहरूले आफ्नो कृषि कर्मका लागि चाहिने कृषि औजार, रासायनिक मल, उन्नत बिउ बिजन समयमै सहज रूपमा प्राप्त गर्न पाउने हक संविधानले सुनिश्चित गर्न आवश्यक छ ।
किसान र मजदुरले स्वास्थ्य उपचार निःशुल्क र सहज रूपमा पाउने अधिकारको बन्दोबस्त, सरकारले दिने दिने हरेक किसिमका सुविधा र सहुलियत किसान र मजदुरले प्राथमिकताका साथ पाउने बन्दोबस्त हुन जरुरी छ ।
जुन दिनसम्म सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै सरकारकै स्वामित्व वा समुदायको स्वामित्वमा जनताका लागि अति आवश्यक वस्तु तथा सामग्री उत्पादनका उद्योग कलकारखाना स्थापना, नेपालमै रोजगारीको बन्दोबस्त गरेर व्यापक कामगरी खाने जनताले दुुई छाक खाने, आफ्ना वृद्ध आमाबाबुलाई खान लाउन दिने दिन सक्दैन, आफ्ना बालबच्चा निःशुल्क पढाउन, निःशुल्क स्वास्थ्य उपचार गराउन, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्न सकिन्न, त्यस्तै ज्येष्ठ नागरिकको हेरचाहका लागि आदर निकेतनको स्थापना सरकार आफैले गर्दैन, व्यापक जनताको हित सम्भव छैन ।
त्यसका लागि सरकारले प्राथमिकताका साथ भ्रष्टाचार निर्मूल गर्दै निःस्वार्थ रूपमा जनताको सेवा गर्नु नै राजनीति गर्नु हो । “देश र जनताको निःस्वार्थ सेवा गर्नुबाहेक हाम्रो अरू कुनै स्वार्थ छैन” भन्ने नारायणमान बिजुक्छेँज्यूको जस्तो आचरण निर्माण गर्न आवश्यक छ ।
२०८३ मङ्सिर ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *