प्रधानमन्त्रीको भारत भ्रमण मजदुर र किसानको हकलाई प्राथमिकतामा राख !
- मंसिर ८, २०८३
जनवादी गणतन्त्र चीनको चिनियाँ वैदेशिक मैत्री सङ्घका अध्यक्ष याङ वान मिङ र प्रतिनिधिमण्डलका सदस्य तथा चिनियाँ राजदूतावासबाट पाल्नुभएका प्रतिनिधिहरू सबैलाई सांस्कृतिक नगर भक्तपुरमा हामी हार्दिक स्वागत गर्दछौँ ।
भक्तपुर कला र संस्कृतिले भरिएको नगर हो । यहाँ मूर्त र अमूर्त थुप्रै सम्पदाहरू जीवन्त छन् । भक्तपुर नगरपालिकाले सम्पदाहरूलाई प्राथमिकतामा राखेर संरक्षण गर्दै आएको छ । विश्व सम्पदामा सूचिकृत दरबार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र यहाँका प्रसिद्ध ठाउँहरू हुन् । देशकै सबैभन्दा अग्लो पाँचतले मन्दिर, ५५ झ्याल दरबार, सुन ढोका, दत्तात्रय मन्दिर यहाँका वास्तुकलाका अनुपम नमुनाहरू हुन् ।
क्षेत्रफलको आधारमा भक्तपुर देशको सानो नगरमध्ये एक हो । यहाँ कुल जनसङ्ख्या ८० हजार छ । कृषि, जुजु धौ, ताइचिन च्युरा, हाकुपटासी, भादगाउँले टोपी, माटाका भाँडाहरू र काष्ठकला तथा ढुङ्गा निर्मित सामानलगायत घरेलु उत्पादनहरू नै यहाँका प्रमुख उत्पादनहरू हुन् ।
भक्तपुर नगरपालिकामा ९२ वटा विद्यालयहरू छन् । नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित उच्च शिक्षा प्रदान गर्ने ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको छ । कलेजहरू सञ्चालन गर्ने भक्तपुर नगरपालिका नेपालको एक मात्र नगरपालिका हो । अहिले विश्वविद्यालय सञ्चालन गर्ने तयारी गर्दै छ ।
भक्तपुर नगरपालिकामा क्यान्सर अस्पताल, धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र ख्वप अस्पताल गरी ४ वटा सरकारी अस्पतालहरूले स्वास्थ्य सेवा प्रदान गर्दै छन् । नगरपालिकाले १०० शय्याको ख्वप अस्पताल र विभिन्न वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालन तथा घरदैलो नर्सिङ सेवामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
भक्तपुर नगरपालिका र चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गतको शान्नान नगरपालिकाबिच भगिनी सम्बन्ध छ । गत वर्ष २०८२ असोज ४ गते भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले शान्नान भ्रमण ग¥यो । सो क्रममा भक्तपुर नगरपालिका र शान्नान नपाबिचको भगिनी सम्बन्ध नवीकरण ग¥यो । दुई नगरपालिकाबिच भ्रमण टोलीको आदानप्रदान हुँदै छ । त्यसैगरी, चीनको सछ्वान प्रान्तको लशान नगरपालिकासँग पनि भक्तपुर नगरपालिकाको मैत्रीपूर्ण सम्बन्ध छ ।
नेपाल चीनबिचको सम्बन्ध इतिहास जत्तिकै पुरानो छ । सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली चेली भृकुटीको विवाह र तेह्रौँ शताब्दीमा नेपालका प्रसिद्ध कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिहरूले दुई देशबिचको मित्रताका इतिहास बताइरहेका छन् । सन् १९५५ मा नेपाल चीन दौत्य सम्बन्ध स्थापनापछि चीनले नेपालको आर्थिक विकासको लागि सडक पूर्वाधार निर्माण, विभिन्न उद्योगधन्धाहरू स्थापना र ट्रलिबस सञ्चालन गरेको जस्ता सहयोग नेपाली जनताले बिर्सेका छैनन् ।
२०७२ सालको विनाशकारी भूकम्पको बेला र कोभिड महामारीको गम्भीर अवस्थामा चीनले नेपाललाई गरेको सहयोग नेपाली जनताले बिर्सेका छैनन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई शान्नान नगरपालिकाले कोभिडको महामारीको बेला विभिन्न स्वास्थ्य सामग्रीहरू सहयोग गरेर लगाएको गुण एक असल छिमेकीको उदाहरण बन्यो ।
भक्तपुर नगरपालिका पर्यटकीय गन्तव्य बन्दै छ । नेपाल आउने पर्यटकहरूमध्ये करिब ३० प्रतिशत पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गर्छन् । चिनियाँ पर्यटकहरूको सङ्ख्या भक्तपुर आउने विदेशी पर्यटकहरूमा दोस्रोमा पर्छ । वार्षिक ३६ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गरेका छन् । पर्यटन प्रवद्र्धन, सम्पदा संरक्षण तथा आर्थिक विकासका अनुभवहरू आदानप्रदानका लागि भक्तपुर नगरपालिका चीनका विभिन्न नगरहरूसँग सम्बन्ध बढाउन चाहन्छ । त्यसको लागि चिनियाँ मैत्री सङ्घको तर्फबाट आवश्यक सहयोग प्राप्त हुने हामी आशा गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबिच राम्रो सम्बन्ध छ । हामी नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू हौँ । नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै आएको पार्टी हो । यस पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गर्दै आउनुभएको छ । जनताको सेवा नै राजनीति हो भन्ने मार्गनिर्देश गर्दै आउनुभएका उहाँले ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेर भक्तपुरको भविष्यको रूपरेखा कोर्नुभएको छ । उहाँले हामीलाई मार्गनिर्देश गरिरहनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका महत्वपूर्ण नेता र सरकारी पदाधिकारीहरूले भक्तपुरलाई प्राथमिकतामा राखेर नेपाल भ्रमणको क्रममा भक्तपुरको पनि भ्रमण गर्ने गर्नुभएको छ । चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली चानसुले २०७९ सालमा, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन चियाच्युनले २०८० सालमा, चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिउ चिएनछाओले २०७९ मा, विदेशमन्त्री वाङ यीले २०७६ सालमा भक्तपुर भ्रमण गर्नुभएको थियो । पोलिटब्युरो सदस्य युआन चियाच्युन र विदेश विभाग प्रमुख लिउ चिएनछाओेले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँं (रोहित) सँग भेटघाट गरी दुई पार्टीबिच सम्बन्ध विस्तारलगायतका विषयमा छलफल गर्नुभएको थियो । यीबाहेक चीनका विभिन्न विश्वविद्यालय, नगरपालिका र विभिन्न प्रान्तका प्रतिनिधिमण्डलले पनि बराबर भक्तपुरको भ्रमण गर्नुभएकोमा हामी खुसी छौँ । ती सबै विवरणहरू सङ्कलन गरी ‘चिनियाँ मित्रहरू भक्तपुरमा’ पुस्तक हामीले प्रकाशित गरेका छौँ ।
अन्त्यमा, नेपाल र चीनबिचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास गर्छौं । चिनियाँ प्रतिनिधिमण्डललाई पुनः स्वागत गर्दै आगामी दिनमा चीनका विभिन्न पालिकाहरूसित भक्तपुर नगरपालिकाको सम्बन्ध विस्तार हुँदै जाने विश्वास गर्छौँ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिनियाँ वैदेशिक मैत्री सङ्घका अध्यक्ष याड्ड वानमिङको शिष्टाचार भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिद्वारा व्यक्त मन्तव्य)
Leave a Reply