भर्खरै :

लोकप्रियता र सफलता एउटै होइन

लोकप्रियता र सफलता एउटै होइन

काठमाडौँ, १० मङ्सिर । नेपाली राजनीतिमा भ्रष्टाचारको प्रश्न गम्भीर विषय बनेको छ । हरेक शासक दलका नेताहरूको अभिव्यक्ति सुन्दा भ्रष्टाचारको विरोध नगर्ने कुनै पनि नेताहरू छैनन् । तर, भ्रष्टाचारको चर्को विरोध गर्ने दलका ती नेताहरू नै भ्रष्टाचारमा मुछिए । भ्रष्टाचारको विरोध गरेको सुन्दा देशमा कहीँ कतै भ्रष्टाचार नहुनुपर्ने हो; भ्रष्टाचारीहरू कारबाहीमा पर्नुपर्ने हो । भ्रष्टाचारको चर्को विरोध हुने यो देशमा भ्रष्टाचारले देश दुर्गन्धित बनेको छ । भ्रष्टाचारकै कारण नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार नेपाल बढी भ्रष्टाचार हुने सूचीमा छ अर्थात् नेपालका शासक र उच्चपदस्थ व्यक्तिहरू बढी भ्रष्टाचार गर्छन् ।
देशमा सुशासन, मानव अधिकार, न्याय, समानता, विकास र समृद्धिको कुरा भाषणमा मात्र सीमित रह्यो । नेपालभन्दा धेरै पछाडि परेका देशहरू एकपछि अर्को समृद्धि हुँदै जाने, विज्ञान र प्रविधिमा फड्को मार्ने तर नेपाल झन्झन् गरिबी र भ्रष्टाचारको जालोमा फस्दै गएको विश्लेषण छ । भ्रष्टाचार, अनियमितता, कालाबजारी, शोषण, दमन, कमिसन, विकास निर्माणमा लापरबाही, सरकारको अपरिपक्व निर्णय, सत्ताको दुरूपयोग, युवाहरूको विदेश पलायन, बेरोजगारी समस्या, न्याय सम्पादनमा भएको ढिलासुस्ति र भ्रष्टाचारीहरूमाथिको कारबाही प्रक्रिया आदि शासकहरूकै कारण सिर्जिएका हुन् । यही कारण देशमा केही होला कि भनी आशा पलाएका जनता पहिलेझैँ वाक्कदिक्क हुन थालेका छन् । यसरी शासकहरूले नेपाली जनतालाई सरकारमा पुग्ने भ¥याङ मात्रै बनाइरहे ।
सत्तासीन दलका नेताहरूमा देखिएको सत्तालिप्सा, अदूरदर्शिता, अपरिपक्व निर्णय, शासन व्यवस्थामा वैदेसिक हस्तक्षेपले नेपाल गरिबको गरिब देश भइरहेको छ । संविधानमा उल्लेखित समाजवादउन्मुख सङ्घीय शासन व्यवस्था कागजमा मात्र सीमित रहेको छ । संविधानमा उल्लेख भएको व्यवस्था पुराना शासक दलहरूले मात्र होइन युवाहरूको नेतृत्वमा बनेको सरकारले पनि केही गरेन । देश विकासको गति र जनताको सुखीको कुरा ज्यूँकात्यूँ छ । हिजो राजनीतिक अस्थिरता, सरकारको बरोबर फेरबदलले गर्दा देश विकास नभएको कुरा शासकहरू बक्थे । तर, आज झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकार या एकल पार्टीको नेतृत्वमा बनेको सरकारले पनि विकासको फड्को मार्न सकेन या विकासको पाइला खासै अघि बढाउन सकेन । यसले थाहा हुन्छ, सरकारको नेतृत्व परिवर्तनले मात्र देश विकास हुँदैन; देश समृद्ध बन्दैन ।
देशका शासकहरू दूरदर्शी हुनुपर्छ । शासकहरू दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । देशलाई कमाइ खाने भाँडो बनाउने शासकहरूले देश विकास गर्लान् र बहुमत जनताको सेवा गर्लान् भनी कसरी विश्वास गर्ने ? सरकारको सफलता शासक सञ्चालनमा देखिने परिणाम, चुनावताका बाचा गरिएको प्रतिबद्धता र बहुमत जनताको हितमा हुने कामबाट थाहा हुन्छ । परिवर्तको आशा राखेर सरकारमा नेतृत्वमा पुगेको सरकारले जनताको आवश्यकता र मागअनुसार सरकारले पूरा गर्न सकेन भने सरकार जनताको पक्षमा लागेको छ भन्न सकिने स्थिति छैन । हामी सबैले थाहा पाउनुपर्ने विषय हो, लोकप्रियता र सफलता एउटै होइन । लोकप्रियता छिट्टै कमाउन सकिन्छ तर तद्नुसार सफलता देखाउन त्यति सजिलो छैन । सामाजिक सञ्जालमा देखिने विरोध प्रशंसाले मात्र जनताको समर्थन कायम गर्न सक्दैन ।
भ्रष्टाचार, अनियमितता, बेरोजगारी, ढिलासुस्ती, सुस्त प्रशासन र बेथितिले नै जनतालाई अर्को बिकल्प खोज्य बाध्य बनाउँछ । बिगतमा पुराना शासकहरूको अकर्मण्यताको कारण गएको संसदीय निर्वाचनमा जनताले विकल्प रोजे । यसको कारण नयाँ शक्ति जन्म्यो । पुराना शासकहरूलाई हटाएर नयाँ शक्तिको हातमा सरकारको नेतृत्व पुग्दा कति युवाहरू खुसी थिए । अब यो नयाँ सरकारले काम गर्ला भन्ने जनताको विश्वास थियो । तर, सरकारको कार्यशैली हेर्दा यो ‘नयाँ’ सरकारप्रति पनि जनताको विश्वास गुम्दै गयो । युवालाई स्वदेशमै रोजगारीको अवसर दिनु सरकारको दायित्व हो । ज्येष्ठ नागरिकको सम्मान र सुनिश्चित जीवन बनाउनु, सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु पनि राज्यको दायित्व हो । निर्वाचनमा जति मत दिए पनि या जनताको विश्वास जिते पनि त्यो स्थायी हुँदैन; यो अर्को यथार्थ हो । सरकारको नेतृत्व गर्दैमा त्यो दलले बहुमत जनताको पक्षमा काम गर्छ भन्ने होइन । जनताको जनजीवनमा परिवर्तन आएन भने सरकारको नेतृत्वमा परिवर्तन भए पनि त्यो वास्तविक परिवर्तन होइन । साँच्चै सुशासन भए, देशलाई आघात पर्ने कुनै काम नगरे, देश जोगाउने र बनाउनेतर्फ लागे, जीवन स्तर उकास्ने काम गरे जनताले परिवर्तनको आशा गर्लान्; सरकारको विश्वास गर्लान् । अतः मुख्य कुरा दलले प्राप्त गरेको बहुमत या लोकप्रियता होइन; कामको परिणाम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *