खोलाको कटानबाट खेतीयोग्य जमिनमा भइरहेको क्षति न्यूनीकरणका लागि वडा नं. १० र ६ बिच स्थानीय सरोकारवालासँग संयुक्त छलफल
- मंसिर ११, २०८३
भक्तपुर, १० मङ्सिर । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका ५ नं. वडा समितिले जिल्ला प्रशासन कार्यालय भक्तपुर र चाँगुनारायण नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका अध्यक्ष रत्नबहादुर ह्यौंमिखाद्वारा हस्ताक्षरित उक्त पत्र बुझाउँदा चानपा नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजू एवम् नेक्रायुसङ्घका केन्द्रीय संयोजक मीनबहादुर बाटाको समेत उपस्थिति थियो । पत्र बुझ्दै चानपाका मेयर जीवन खत्री र प्रमुख जिल्ला अधिकारीले सम्बन्धित ठेकेदार एवम् निकायमा आवश्यक समन्वय गर्ने र सहयोग गर्ने बताउनुभयो । ध्यानाकर्षणपत्रको व्यहोरा यसप्रकार रहेको छ :
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ४ र ५ क्षेत्रभित्र सञ्चालित विभिन्न महत्वपूर्ण सडक आयोजनाहरू निर्धारित समयसीमाभित्र सम्पन्न नहुँदा स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको दैनिक आवतजावत, आकस्मिक स्वास्थ्य सेवा तथा मालसामान ढुवानीमा अत्यन्तै गम्भीर असर परेको व्यहोरा अनुरोध गर्दछौँ । निर्माण कार्यमा भइरहेको अस्वाभाविक ढिलासुस्तीका कारण सरोकारवाला निकाय र स्थानीय सरकारको कार्यसम्पादन, सुशासन तथा प्रतिष्ठामाथि आम नागरिक र सङ्घसंस्थाहरूबाट गम्भीर चासो र प्रश्न उठ्न थालेका छन् ।
अतः जनजीवनलाई सहज तुल्याउन र विकास निर्माणप्रतिको जनविश्वास कायम राख्न तपसिलमा उल्लेखित अधुरा सडक खण्डहरूको निर्माण कार्यमा देखिएको ढिलासुस्ती तत्काल अन्त्य गरी गुणस्तरीय रूपमा यथाशीघ्र सम्पन्न गराउन सम्बन्धित निर्माण व्यवसायी तथा निकायलाई आवश्यक निर्देशन एवम् समन्वय गरिदिनुहुन गम्भीर ध्यानाकर्षणसहित हार्दिक अनुरोध गर्दछौँ ।
तपसिल (अधुरा सडकहरूको विवरण)
१. खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका वडा नं. ५ को कार्यालय हुँदै सिमको चौरसम्मको सडक आ.व. २०८२/०८३ र २०८३/०८४
(सम्बन्धित ठेक्का अवधि) भित्र सम्पन्न गर्नुपर्नेमा आ.व. २०८२/०८३ को समेत ठेक्का सम्झौताअनुसारको काम हुन नसकेको ।
२. चाँगुनारायण नगरपालिकाको प्रशासनिक भवनदेखि भाजुभैरव–गणेश मा.वि. हुँदै ढुङ्गेपाटीसम्मको सडकमा ढल निकास र कालोपत्रे गर्ने कार्य बाँकी रहेको ।
३. भक्तपुर नगरपालिका वडा नं. ६ स्थित डेकोचा–पिखेल–न्याचोपौवा खोरिया–मङ्गलटार हुँदै साँखुसम्मको महत्वपूर्ण सडक आ.व. २०७८/०७९ देखि सुरु भए तापनि हालसम्म पकुनेपाटीदेखि न्याचोपौवा आ.वि. सम्म काम गर्न बाँकी रहेको ।
४. आ.व. २०८२/८३ मा सम्पन्न गर्नुपर्ने चानपा ५ बनेपाली पाटी हुँदै कालिटार त्याटलटोल र कालिटार गुसीटार हुँदै चानपा ५ वडा कार्यालय जोड्ने सडक ।
Leave a Reply