भर्खरै :

खोलाको कटानबाट खेतीयोग्य जमिनमा भइरहेको क्षति न्यूनीकरणका लागि वडा नं. १० र ६ बिच स्थानीय सरोकारवालासँग संयुक्त छलफल

खोलाको कटानबाट खेतीयोग्य जमिनमा भइरहेको क्षति न्यूनीकरणका लागि वडा नं. १० र ६ बिच स्थानीय सरोकारवालासँग संयुक्त छलफल

भक्तपुर, १० मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. १० र वडा नं. ६ को संयुक्त पहलमा चाँगु जानेबारे पुलदेखि ब्यारेक ढोलाको पुलसम्मको खोलाले खेतीयोग्य जमिनमा पु¥याउँदै आएको क्षति तथा उक्त समस्याको दीर्घकालीन समाधानका विषयमा स्थानीय महानुभावहरूसँग वडा नं. १० को कार्यालयमा संयुक्त छलफल सम्पन्न भएको छ ।
बैठकमा स्थानीय गोपाल याकामीले २०२१ सालको नापी नक्सामा त्रुटि हुनसक्ने सम्भावना रहे तापनि आधिकारिक नापी नक्साका आधारमा सीमा कायम गर्नुपर्ने धारणा राख्नुभयो । उक्त खोला दुई नगरपालिकाको सिमानामा पर्ने भएकोले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबिच आवश्यक समन्वय तथा सहकार्य गरी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कृष्णप्रसाद थुसाले स्थानीयवासी एकजुट भई सामूहिक रूपमा पहल गर्न सकेमा खोलाको कटानबाट हुने क्षति तथा खेतीयोग्य जमिन र बाली नष्ट हुने समस्या न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
स्थानीय उद्धव सुजखुले एक व्यक्तिको प्रयासबाट मात्र समस्या समाधान सम्भव नहुने भएकोले एकअर्कालाई दोषारोपण नगरी किसानको हितलाई केन्द्रमा राखेर सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले खोलाको सिमाङ्कन, निर्धारित मापदण्ड कायम गर्ने लगायतका विषयमा आफ्नो सुझाव प्रस्तुत गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबिच खोलासम्बन्धी मापदण्ड फरक रहेकोले दुवै नगरपालिकाबिच मापदण्डमा एकरूपता कायम गर्नुपर्ने बताउनुभयो । खोलाको बगर मर्मत तथा व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै खोलाको चौडाइ साँघुरो भएका कारण पानीको बहाव बढ्दा ओभरफ्लो भई आसपासका खेतीयोग्य जमिनमा क्षति पुगिरहेको उहाँले बताउनुभयो ।
वडा नं. ६ का वडा सदस्य गोविन्द दुवालले स्थानीयवासीबिच आपसी मनमुटाव र मतभेद नराखी एकताबद्ध भएर समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । खोलाको कटान तथा डुबानका कारण स्थानीय किसानहरूको खेतीयोग्य जमिन र बालीनालीमा ठुलो क्षति पुग्नुका साथै किसानहरूले अत्यन्तै मर्का व्यहोर्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालले दुई नगरपालिकाबिच खोलासम्बन्धी मापदण्डमा एकरूपता कायम गर्नुपर्ने, बगर व्यवस्थापन गर्नुपर्ने तथा नगरकोट सडकको वैकल्पिक मार्गका रूपमा करिडोर निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । तत्कालका लागि बाँसका किला गाडेर खोलाको कटान रोकथाम गर्ने तथा साँघुरो रहेका स्थानहरूलाई फराकिलो बनाउने उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो । समस्याको स्थायी समाधानका लागि आधिकारिक सिमाङ्कन गर्न नापी कार्यालयलाई पत्राचार गर्नुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा सहभागी वक्ताहरूले खोलाको कटान तथा डुबानका कारण किसानहरूको खेतीयोग्य जमिन र बालीनालीमा भइरहेको क्षति न्यूनीकरण गर्न स्थानीयवासी, सम्बन्धित वडा तथा दुवै नगरपालिकाबिच आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । तत्कालीन रोकथामका उपायसँगै खोलाको वैज्ञानिक सिमाङ्कन, मापदण्डको एकरूपता र आवश्यक संरचनागत व्यवस्थापनमार्फत समस्याको स्थायी समाधान खोज्नुपर्ने निष्कर्षसहित छलफल सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *