भर्खरै :

फासीवाद प्रजातन्त्र होइन

-एस.डी.राजचल
पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले वर्तमान दुईतिहाइ बहुमतको दाबी गर्ने सरकारका प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै सार्वजनिक रुपमा भनिन्– “प्रधानमन्त्री ओली बोल्ने बेलामा राम्रो बोल्छन् तर व्यवहार र कार्यशैली गलत छ । सरकार निरङ्कुश हुँदै गएको छ र यसले पञ्चायतको झल्को दिएको छ ।”
हरेक दिनको सार्वजनिक अभिव्यक्तिमा लोकतन्त्र र समृद्धिको पटक–पटक उच्चारण गर्ने तर व्यवहार प्रजातन्त्रविरोधी र जनविरोधी निर्णय गर्न खप्पिस मुलुकका प्रधानमन्त्री यतिखेर सर्वत्र आलोचनाको पात्र बनिरहेका छन् । उनको लागि कार्कीको भनाइ ठूलो पाठ हुनसक्दछ । प्रजातन्त्रमा विरोध प्रदर्शन गर्न पाउनु आम जनताको मौलिक हकको व्यवस्था संवैधानिक अधिकार भए तापनि निषेधाज्ञा जारी गर्ने प्रस्ताव ल्याएर जनविरोधी काम गर्न उद्यत मन्त्रिमण्डलको विरोधमा भएका प्रदर्शनहरूको वेग र आलोचनालाई थेग्न नसकेर पुनः संशोधन गर्न सरकार तयार भएको अभिव्यक्ति सँगसँगै सरकारको दूरदर्शिताको आम नागरिकले परीक्षण गरेका छन् ।
राजनीति आम नागरिकहरूलाई सही बाटोमा दोहो¥याउने र असल आचरणले युक्त बनाउने विज्ञान हो । मानिसमा विकास हुनसक्ने गलत आचरण र कार्यशैली, तिनीहरूमा विकास हुने स्वार्थी मनोवृत्तिलाई क्रमशः सुधार गरी सही विन्दुमा ल्याउनु हरेक दलको पहिलो कर्तव्य हो, साथै देशवासीको हितमा ऐन– कानुन बनाउनु र एउटा आदर्श समाजको निर्माण गर्नु हो । त्यसमा पनि समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले गठन भएका कम्युनिष्ट पार्टीहरूले जनतालाई आश्वासन होइन, राजनैतिक र सैद्धान्तिक रुपले सचेत र सङ्गठित पार्दै समाजवादी क्रान्तिलाई सफल पार्ने र सर्वहारा वर्गको हितमा समाजवादी व्यवस्था स्थापना गर्नु हो । प्राप्त राजनैतिक र मौलिक अधिकारको संरक्षण गर्दै जनतालाई केन्द्रविन्दुमा राखेर पँुजीवादी व्यवस्थाका गुण र अवगुणलाई जनताबीच प्रस्ट्याएर सङ्घर्षशील बनाउने महत्वपूर्ण जिम्मेवारी हुनपर्ने हो । आश्वासन, छलछाम, झूट, गलत प्रचार, सस्तो लोकप्रियता आदि पुँजीपति वर्गको सत्तामा जाने र टिकिरहने हतियारहरू हुन् भने त्यसको ठाउँमा सही र सैद्धान्तिक कुरा गरेर जनताबीच सङ्गठन निर्माण गर्नु र सैद्धान्तिक रुपले परिपक्व बनाउनु हरेक कम्युनिष्ट पार्टीहरूको दायित्व हो ।
तर पार्टी एकीकरणबाट देशकै ठूलो कम्युनिष्ट पार्टी अझ दक्षिण एशियाकै ठूलो पार्टीको दम्भ बोकेको आजको नेकपाभित्र मौलाएको बेथिति र पार्टीका नेता र कार्यकर्ताहरूको व्यवहार, जीवन पद्धती, अभिव्यक्ति शैली आदिलाई मनन गर्दा यिनीहरूमा कम्युनिष्ट चरित्र, आचरण नभएकोमा वास्तविक कम्युनिष्टहरू चिन्तित छन् । यसले नेपालको कम्युनिष्ट आन्दोलनको वेगलाई पछाडि धकेल्ने वा कमजोर पार्ने छ । यसकारण सक्कली कम्युनिष्ट पार्टीहरू सामु थप चुनौती अगाडि आएको महसुस सर्वत्र गर्दैछन् । यहाँनेर रुसी क्रान्तिका नायक तथा विश्व सर्वहारा वर्गका गुरु लेनिनले भनेका मनन्योग्य विचार स्मरण गर्नु सान्र्दभिक हुनेछ । उनले भनेका थिए “मुखले के भन्छ त्यो महत्वपूर्ण होइन, उसको व्यवहारले जे देखाउँछ त्यही महत्वपूर्ण हो ।”
कम्युनिष्ट क्रान्तिका नायक लेनिनको उक्त विचारको कसीमा वर्तमान प्रधानमन्त्री ओलीको बोली र व्यवहारलाई तुलना गर्दा उनी बाहिर जे जस्तोसुकै देखिए तापनि भित्र–भित्र जनताको समृद्धि र जनताको हितविरुद्ध कैची चलाइरहेको महसुस आम जनताले गरिरहेका छन् । पूर्वप्रधानन्यायाधीश कार्कीको माथि उल्लेखित विचार वास्तविकताको स्वाभाविक चिन्तन हो भन्दा अन्यथा नहोला ।
प्रजातन्त्र या लोकतन्त्र या जनतन्त्र जनताको शासन व्यवस्था हो । यसमा कुनै पनि नागरिकले आफ्नो अभिव्यक्ति कुनैपनि स्थानमा व्यक्त गर्नसक्छ । यो संविधान प्रदत्त अधिकार र नागरिकको हक हो । यही आफ्नो प्रजातान्त्रिक अधिकारको उपयोग गरी कर्णाली अञ्चलको जुम्लामा शान्तिपूर्ण विरोध गर्दै गरेका चिकित्सक डा. गोविन्द केसीलाई प्रहरी पठाएर पक्राउ गर्नु प्रजातन्त्र होइन । यो सरकारको फासीवादी मानसिकताकै उपज हो र फासीवाद प्रजातन्त्र होइन । यसले निरङ्कुशता र तानाशाही निम्त्याउँछ ।
हाल मुलुकका ज्येष्ठ नागरिकलाई आफ्नो जीवन निर्वाहमा अलिकति टेवा होस् भन्ने उद्देश्यले राज्यले महिनामा दुईहजार वृद्ध भत्ता दिएर केही राहत दिइरहेको छ तर निर्वाचनको क्रममा ज्येष्ठ आमा बुबाको घर– घरमा गएर नमस्कार टक्र्याउँदै दुई हजारबाट बढाएर पाँच हजार भत्ता दिने सार्वजनिक अभिव्यक्ति दिएका ओलीले सम्पूर्ण ज्येष्ठ नागरिकहरूलाई भोट बैड्ढमात्र बनाएको कुरा आर्थिक वर्ष २०७५÷०७६ को बजेट भाषणले स्पष्ट पा¥यो । भत्ता बढ्ने आशामा रहेका कैयौं ज्येष्ठ नागरिकहरू ओलीको आश्वासन र सस्तो लोकप्रियताका भ¥याङमात्र बन्न पुगे । यसबाट पनि उनको कार्यशैलीको चर्को विरोध र आलोचना भएको छ । ती ज्येष्ठ नागरिकहरूको नजरमा ओली विश्वासघाती पात्र बने । तैपनि उनमा अलिकति पनि लज्जाबोध भएन ।
यतिमात्र होइन, प्रधानमन्त्रीको पानीजहाज र आफ्नै मुलुकमा रेल गुडाउने सपना आजको मात्र सपना होइन । पहिलो पटक प्रधानमन्त्री हुनेबित्तिकै उनले यो सपना देखेका थिए । पाइपबाट घर–घरमा खाना पकाउनेसमेतको बन्दोबस्त गर्ने सपना देखेका थिए । उनले देखेको र बाँडेको सपना आज दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि केवल सपना बनिरहेको छ । हो, प्रगति र समृद्धिको लागि सपना देख्नुपर्दछ । व्यक्तिले देख्ने राम्रो खालका सपनाले नै उनलाई अगाडि बढ्ने प्रेरणा मिल्दछ । तर सपना केवल सपना नभइकन पूरा गर्नुपर्छ । हरेक नागरिकले राम्रो र पूरा गर्न सकिने सपना देख्नु आवश्यक हुन्छ । देखेका सपना साकार पार्ने बाटोमा लाग्नु पर्दछ । नत्र सपनाको कुनै मूल्य हुँदैन । तर ओलीले देखेको सपना आश्वासन र छलछाम अनि नागरिकलाई अल्मल्याई सत्ता टिकाउने प्रपञ्चमात्र हो । प्राथमिकताको आधारमा समस्याको समाधान गर्नु हरेक प्रधानमन्त्रीहरूको बुद्धिमानी हुने गर्दछ । नभएको पाउन खोज्नुभन्दा भएकोलाई संरक्षण र उपयोग गर्नु देश र जनताको हितमा हुन्छ । देशको जनसङ्ख्या काठमाडौं उपत्यकामा केन्द्रिकृत हुँदा जनताका आधारभूत आवश्यकताका खाद्यान्न र सामग्रीहरूमा अभाव, महँगी आदि समस्या जनताले दैनिक रुपमा भोगिरहेका छन् । उपत्यकाकै विभिन्न ठाउँमा भएको घण्टौ जाममात्रै खोल्ने विषयमा तदारुकता देखाएको भए पनि राम्रै हुन्थ्यो । सहज रुपमा मानिस गन्तव्यमा पुग्न सक्थे र इन्धनको खपत पनि कम हुन्थ्यो । जनताका आधारभूत आवश्यकता पूरा गर्नमात्रै सरकारले चासो दिएर समाधानका बाटो पहिल्याउन सकेको भए जनतालाई धेरै ठूलो राहत मिल्ने थियो ।
शून्य सहनशीलता अपनाएर भ्रष्टाचार निर्मूल गर्ने सार्वजनिक उद्घोष गरेका ओली र सहयात्री प्रचण्डले भ्रष्टाचारीहरूसँगै बसेर मार्सीको भात खाएको तस्बीर सार्वजनिक भएपछि उनको सक्कली रुप बाहिर आएको छ । उनका यस किसिमका कार्यशैलीबाट जनताले के अपेक्षा गर्ने ? नेपाल यस्तै एउटा मुलुक हो यहाँका अधिकांश जनता गरीब र अशिक्षित छन् तसर्थ आशावादी हुनु स्वाभाविक छ । सपना देख्नेले ठूलो, असम्भव र अनावश्यक देख्नुभन्दा स्वाभाविक र गर्नसक्ने देख्दा पनि राम्रै होला । यतातिर सरकारको ध्यान कहिले जाला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *