भर्खरै :

स्ववियु निर्वाचन विथोल्ने षड्यन्त्र रोकौं

त्रिभुवन विश्वविद्यालयमा विगत लामो समयदेखि नभएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने तय भएको छ । बिहीबार नेपाली काङ्ग्रेसको नेतृत्व र नेविसङ्घका नेताहरूबीच बसेको बैठकले २८ वर्ष मानेर चुनाव जान निर्देशन दिए तापनि नेविसङ्घका केही विद्यार्थीहरूले काठमाण्डौ उपत्यकाका क्याम्पसहरूमा गरेको तालाबन्दी खोलेका छैनन् । एउटा खेमा अझै पनि विरोधका कार्यक्रमहरू गरिरहेका छन् । यसैबीच दश वटा विद्यार्थी संठनहरूले मिश्रित निर्वाचन प्रणालीप्रति असहमति राख्दै पूर्णसमानुपातिक प्रणाली लागू गर्न माग गरिरहेका छन् । निर्वाचन गर्न सबै विद्यार्थी संठनहरूको सहमति आवश्यक पर्दछ तर निर्वाचन हुन नदिन एकै विद्यार्थी संठनको असहमति समेत मनग्य हुने परिस्थितिमा दश वटा विद्यार्थी संठनहरू र नेविसङ्घको एउटा खेमाको विरोधले चुनाव भाँडिने पो हो भन्ने आशङ्का मेटिएको छैन ।
हरेक दुई–दुई वर्षमा हुने गरेको स्ववियु निर्वाचन २०६५ साल यता भएको छैन । स्ववियुलाई शासक दलका विद्यार्थी संठनहरूले विकृति, कमिशनखोरी, अराजकता र भ्रष्टाचारको थलो बनाए । यही विषयलाई अघि सारेर केही मानिसहरू स्ववियुको अस्तित्वमाथि नै प्रश्न गरिरहेका छन् । तर स्ववियुमा फस्टाएको विकृतिहरूको समाधान स्ववियु संस्थाकै निर्मुलन हुन सक्दैन । स्ववियु नहुँदा नेपालको विद्यार्थी आन्दोलनमा निकै ठूलो क्षति भएको छ र यसले प्रकारान्तरले नेपालको राजनीतिमा नै नेतृत्वको ठूलो खडेरी पर्ने सम्भावनालाई नकार्न सकिन्न ।

स्ववियुमा फस्टाएको विकृतिहरूको समाधान स्ववियु संस्थाकै निर्मुलन हुन सक्दैन

स्थानीय निकायको निर्वाचन र संसदीय निर्वाचनमा पनि अनेकन विकृतिहरू हुने गरेका छन् । तर ती विकृतिको समाधान चुनाव नै नगर्नु हुन सक्छ र ? तसर्थ स्ववियु निर्वाचन हुन दिन पर्दछ । तर त्यसमाथि शासक दलका विद्यार्थी संठनहरूको विकृतिपूर्ण प्रस्तुतिविरुद्ध लगातार सङ्घर्षको खाँचो छ । स्ववियुको नाममा हुने गरेका भ्रष्टाचार र गुण्डागर्दीको विरोधमा लड्नुको विकल्पको स्ववियुको खारेजी हुन सक्दैन । तसर्थ स्ववियु निर्वाचन सफल बनाउनुपर्दछ तर त्यो संस्थालाई विकृतिको थलो बनाउन हुँदैन । कदाचित आगामी निर्वाचन हुन नसके स्ववियु खारेजीको दिशामा जाने सम्भावना बढ्दो छ । (माघ २३ गतेको ‘मजदुर’ दैनिकको सम्पादकीय)

Leave a Reply

Your email address will not be published. Required fields are marked *