भर्खरै :

‘विद्यार्थी बुलेटिन’ को अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर, २३ भाद्र । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले दस्तावेजहरुको व्यवस्थित अभिलेख नराख्नु भनेको पानीमा बुट्टा कुँद्नु जस्तै भएको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघको मुखपत्र ‘विद्यार्थी बुलेटिन’को शनिबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सैद्धान्तिक र बौद्धिक खुराकले नै क्रान्तिकारीहरु तयार हुने बताउँदै संगठनमा आबद्ध सम्पूर्ण विद्यार्थी कार्यकर्ताहरुले पार्टी प्रकाशन अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक कार्यकर्ता समाजको डाक्टर हुने हुँदा पार्टीका नयाँ पुराना प्रकाशनहरु खोजी खोजी पढ्ने र त्यसको विषयमा छलफल, अन्तरक्रिया चलाउनुपर्ने बताउनुभयो ।
एन्जीओ र आईएन्जीओहरुले देशका बुद्धिजीवीहरुलाई समेत बिगार्ने र देशलाई विस्तारै परनिर्भर बनाउने भएको हुँदा आफ्नै स्रोत साधन र जनशक्ति परिचालन गरी काम गरे कसैको मुख ताकेर बस्न नपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजूले विद्यार्थी कार्यकर्ताहरुले पार्टीका प्रकाशनहरुको नियमित अध्ययन र छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका हरेक प्रकाशनहरु आफैमा संगठनकर्ता र संगठनको माध्यम हुने बताउँदै माक्र्सवादी साहित्य र प्रगतिशील साहित्यहरु अध्ययन गर्ने र समाजमा व्याप्त रहेका विकृति, विसंगति, सामाजिक, कुरीति, अन्याय, अत्याचारलाई उदांग्याउँदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका सचिव रमेश प्रजापति, सुरेश परियार, मिलन गणेजू, दिनेश खड्गी, ईश्वर शाही, तारा तामाङ, विलम सुवाल, कोपिला तामाङलगायतका विद्यार्थीहरुले बुलेटिनबारे आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *