भर्खरै :

तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

भक्तपुर, ८ कार्तिक । प्रगति पुस्तकालयको आयोजनामा सञ्चालित तीनमहिने आधारभूत चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष दीपेन्द्र प्रजापतिले पुस्तकालयको निरन्तर क्रियाशीलता र योगदानको प्रशंसा गर्दै भन्नुभयो, “भक्तपुरमा धेरै पुस्तकालय बन्द अवस्थामा छन् तर प्रगति पुस्तकालय निरन्तर सक्रिय रहनु गर्वको विषय हो ।” उहाँले चित्रकलाको महत्वबारे उल्लेख गर्दै भन्नुभयो, “चित्रकला विशेष र अपरिहार्य दुवै हुन्छ । कलामा तैरिनु हुँदैन, डुब्न जान्नुपर्छ । चित्रकारहरू सामान्य हुँदैनन्, उनीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त गर्न सक्छन् ।” उहाँले तालिममा सहभागी हुनका लागि इच्छाशक्ति र मेहनत आवश्यक हुने बताउनुभयो ।
प्रगति पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसीले तीनमहिने तालिमलाई सुरुवातको चरणका रूपमा उल्लेख गर्दै अभिभावकहरूको माया र साथकै कारण तालिम सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकहरूलाई समय व्यवस्थापन गर्न चुनौती थियो तर सबैको सहकार्यले कार्यक्रम सफल भयो ।” उहाँले पुस्तकालयले निरन्तर सिर्जनात्मक र शैक्षिक क्रियाकलापमा योगदान दिँदै आएको बताउनुभयो ।
नेमकिपा प्रास सूर्यमढीका मिलन गणेजुले कलाको महत्वप्रति जोड दिँदै भन्नुभयो, “कला भनेको केवल चित्र होइन, प्रस्तुति हो — राम्रो गर्नका लागि निरन्तर मेहनत र अभ्यास गर्न आवश्यक छ ।”
तालिमका प्रशिक्षक विकास तमखुले सहभागीहरूलाई अझ अभ्यासमा जोड दिन सुझाव दिँदै भन्नुभयो, “आधारभूत सीपलाई निखार्न निरन्तर अभ्यास र समय व्यवस्थापन आवश्यक छ । चित्रकलाले धैर्य सिकाउँछ र घरघरमा फुर्सदको सदुपयोग गर्न मद्दत पु¥याउँछ ।” उहाँले आर्ट टिचिङ क्षेत्र अहिले सम्भावनायुक्त पेसा बन्दै गएको पनि बताउनुभयो ।
कार्यक्रममा युनिश मचामसीले प्रशिक्षार्थीको अनुभव सुनाउनुभयो भने प्रज्ञा कर्माचार्यले अभिभावकको तर्फबाट मन्तव्य दिनुभयो । विकल्प प्रजापति र राजश्री कुसीले कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष जयराम कोजु र सचिव श्रीराम कासिछ्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *