भर्खरै :

तःमुंज्यामा वरिष्ठ पत्रकार भैरव रिसाल

भैरव रिसाल
हाम्रो जीवनमा हामी तालिमलाई प्राथमिकता दिने गर्दैनौं । छोराछोरीलाई गाली गरेर तह लगाउन खोज्छौं । अझ म केटाकेटी हुँदा त गालीमात्र होइन, पिटाइ पनि खान्थें । अहिलेका केटाकेटीलाई बाबुआमाले कम पिट्छन्, तर गाली भने गर्छन् । गालीबाट तह लगाउने समाज कस्तो होला ?
गएको अक्टोबर १, ज्येष्ठ नागरिक दिवसको दिन राष्ट्रपति कार्यालयमा यसपालि मलाई पनि बोलाए । “म आउन्नँ । राष्ट्रपतिसँग कुरा गर्न पाइन्छ कि पाइँदैन ? चिया खानमात्र किन आउने ? ढोकाभित्र पस्न यति गाह«ो छ, म आउन्नँ ।” भनें । उताबाट “अलि कति कुरा गर्न पनि पाइला ।” भने ।
“लौ त !” भनेर म गएँ ।
गएको, मलाई भाषण गर्न त दिएनन् । अम्बिका श्रेष्ठ र गौरीशङ्करलाई मात्र भाषण गर्नदिए । राष्ट्रपति पहिलेका राजा टेबुलटेबुलमा कुरा गर्न आएजस्तै आउनुभयो । सामान्य शिष्टाचार भयो । मैले उहाँलाई भनेँ, “नेपाली जनताले राष्ट्रपति खोजेको, राजा पाइरहेका छन् ।” राष्ट्रपति अलि गम्भीर हुनुभयो ।
“के भयो ?” भन्नुभयो । मैले भनेँ, “सहरमा तपार्इंको यात्रा हुँदा जनताले यति दुःख पाए, मान्छे बासमा पुग्न सकेनन् । बाटो रोकिएको रोकियै हुन्छ । नेपाली जनताले त राष्ट्रपति खोजेको, राजा खोजेका होइनन् । तर राजा पाइरहेका छन् ।”
“के गर्ने त ?” भन्नुभयो ।
के गर्ने ? मलाई के थाहा ! के गर्ने भन्ने कुरा मेरो कुरा होइन । मैले प्रश्न गर्दा उत्तर पनि दिनुपर्छ भन्ने छैन । मैले प्रश्न गर्न पाउने मेरो अधिकार हो । उत्तर त म जान्दिनँ । यसको प्रतिफल अर्कोपल्ट मलाई बोलाउँदैनन् होला । छुच्चो मान्छेलाई चिया पनि खुवाउनु, कटु आलोचना पनि सुन्नु भनेका होलान्जस्तो लाग्यो मलाई । अर्कोपालि नबोलाए नबोलाऊन् । मैले मेरो कुरा भनेँ । मेरो कुरा होइन, जनताले पाएको दुःख ठाउँमा भन्नुपर्छ भनेर भनें । उहाँले कति निर्णय गर्न सक्नुहुन्छ, मलाई थाहा छैन ।
हामीकहाँ ठूलो मान्छे निर्णय गर्नसक्दैन । सबभन्दा दुर्भाग्य यही हो । ठूलो मान्छेले निर्णय गर्न सक्नुपर्छ । राष्ट्रपति बाहिर निस्कँदा राजतन्त्रमा भन्दा गणतन्त्रमा जनतालाई झन् अप्ठ्यारो भएको छ ।
आज म मेरो मावली ताथली गएको थिएँ । मेरो मावली ताथलीको अवस्थाबारे मलाई पाँच वर्षको उमेरदेखि थाहा छ । त्यत्तिबेला निकै अप्ठ्यारो थियो । बाटो थिएन । आज गएको । २०७२ सालको भूकम्पले घरहरू भत्कायो । धेरैले दुःख पाए । तर अहिले ठूलठूला घर बनेको देखें । चिया खान म दुईतीन घरमा पसें । घरमा टी टेबुल, पलङ्ग, बस्ने राम्रो बन्दोबस्त छ, सोफा छ । मैले पाँच वर्षको उमेरमा देखेको ताथलीभन्दा निकै परिवर्तन भएको महसुस गरें । मलाई लाग्यो, केही नेपालीहरू बनिरहेका छन्, तर नेपाल बनेन । नेपाल बनेको भए नेपाली बन्थे, तर उल्टो भयो ।
मलाई लाग्थ्यो, दुईतिहाइ बहुमत भएपछि राज्य वा सरकार सर्र जान्छ । विकास सर्र हुन्छ । बाधा हुनेछैन । दुईतिहाईको सरकार बनेदेखि त झन् विकास जम्यो, ठप्प भयो । विकास त हिंड्दै हिंडेन, गुड्दै गुडेन । सिंहदरबार पनि बर्बाद छ रे । सिंहदरबार यति फोहोर छ रे, अहँ, त्यसको बन्दोबस्त छैन रे । यो दुईतिहाइबाट हामीले बढी आशा गरेका थियौं । दुईतिहाइ के हो, दुईतिहाइ आएपछि कस्तो होला ? धेरै कुरा हुने आशा थियो, तर अझसम्म केही भइरहेको छैन । अहिले बोल्नुपर्ने मान्छे कम बोल्छन्, काम गर्नुपर्ने मान्छे बढी बोल्छन् । अहिले गर्ने भनेको प्रधानमन्त्रीले हो नि । तर प्रधानमन्त्रीज्यू काम गर्नेभन्दा बोल्ने धेरै । बोलीले मात्र मुलुक बन्दोरहेनछ । बोलीले मात्र हुने भएदेखिन् त राजतन्त्रमा राजाले असंलग्न राष्ट्रहरूको सम्मेलनमा ठूलठूला भाषण गर्थे । तर मुलुक उस्तै रह्यो । अहिले पनि बोली बिक्ने, सही चल्ने । ठूला मान्छे, नेताका सही चेकमा मात्र चल्नथाल्यो, राज्य निर्माणमा नचल्ने हुनथाल्यो । यहाँ सरकारका मान्छे त छैनन् होला, भएदेखि अहिलेका प्रधानमन्त्रीलाई ‘तपार्इं कम बोल्नुहोस्, धेरै गर्नुस्’ भन्ने मेरो सल्लाह छ । अहिलेका हाम्रा प्रधानमन्त्री बढी बोल्ने, कम गर्ने वा गर्दै नगर्ने हुनुभयो । सोचेभन्दा उल्टो भयो । यसरी मुलुक बन्दैन भन्ने मेरो बुझाइ हो ।
म ९१ वर्षमा हिंड्न थालेछु । ९१ वर्ष निकै लामो बचाइ (जीवन) रहेछ । पछिल्लो श्रमिक पत्रिकामा मेरो लेख छापिएको छ, मेलै लेखेको छु ‘मेरा यिनै दुइटा खुट्टा हुन्, जसले यो मुलुकको धेरै भाग हिंडेरै घुमियो । यिनै दुइटा खुट्टाले घुमायो । अहिले बसेको ठाउँबाट यहाँसम्म समाएर ल्याउनुभयो । मान्छेको जीवन सधैं एउटै नहुने रहेछ ।
तीन–साढे तीन वर्षअघि मेरो हातले कलम समात्न सक्दैनथ्यो । दा¥ही, नङ काट्न सकिंदैनथ्यो । भक्तपुरका मेरा मित्र निर्मल प्रजापतिबाट थेरापी गराएको, मलाई कलम समाउन सक्ने बनायो । दा¥ही काट्ने, नङ काट्न बनाउनुभयो । मलाई लाग्यो, गरे हुनेरहेछ । हात काम्ने रोगलाई पार्किन्सन भनिंदोरहेछ । नियमित थेरापी गर्दा आजकल म लेख्न थालेको छु ।
२०२१–२२ सालमा मलाई टीबी भएको थियो । नियमित औषधि खाएकोले निको भयो । म अहिलेसम्म हिंडेकै छु ।
यहाँ उमेर चढेका साथीहरू पनि हुनुुहुन्छ, युवा छन्, किशोर पनि होलान्, हामी जे गर्छौं, नियमित गरौं । जसलाई जे कुरामा विश्वास हुन्छ, त्यही गरौं । निराश नहोऔं ।
यिनै खुट्टा टेकेर जुम्लाबाट हुम्ला पुगियो, हुम्लाबाट जुम्ला पुगियो । म युवक हुँदा, विद्यार्थी हुँदा यातायातका साधन धेरै थिएनन् । म काठमाडांैबाट झोला बोकेर पाँचमाने भएर गोर्खा जौबारीसमेत भएर बुटवलसम्म पैदल गएको छु । अहिले पैदल हिंड्ने भनेपछि मान्छेहरूले जाँगर गर्दैनन् । म युवाहरूलाई, नयाँ पुस्तालाई भन्न चाहन्छु, तपार्इं हिंड्नुस्, खुब हिंड्नुस्, पछि हिंड्न सक्नुहुन्न । म अहिले हिंड्न सक्दिनँ । हिंड्ने उमेर एउटा अवसर हो, मौका हो । अवसर र मौकामा तपाईं हिंड्नु भएन भने तपार्इं भोलि निराश हुनुहुनेछ ।
मुलुकको अर्थतन्त्रको विजोग छ । हामी कति कुरामा बाहिरको भर पर्छौं । राष्ट्र बैड्ढले ठूलठूला विज्ञप्ति निकाल्छ । नेपालका अर्थमन्त्रीले ठूलठूला कुरा गर्नुहुन्छ । तर हाम्रो मुलुकको उत्पादन घट्दो छ । दसैंमा मात्रै भेंडा, च्याङ्ग्रा, राँगा, भैसी कति बाहिरबाट ल्याइयो, कुनै निश्चित हिसाब छैन । मेरो विचारमा यसरी देश बन्दैन । अहिलेको सरकारका अर्थशास्त्रीहरू कुन हिसाबले मुलुक बनाउन लाग्नुभएको छ, मलाई थाहा छैन ।
हामी यो मुलुकका नागरिक । मुलुकप्रतिको आफ्नो कर्तव्य, दायित्व भनेको साँचो कुरा बोल्दिने हो । यतिमात्र गरिदिए पनि धेरै कुरा हुन्थ्यो । झूटो कुरा नगरिदिने । झन् राजनीतिक मान्छेले त झूटो कुरा गर्नैहुन्न । तर अहिले सत्तासीन र सत्ताकाङ्क्षीहरू साँचो कुरा अत्यन्त कम बोल्छन् । अत्यन्त धेरै झूटो कुरा बोल्छन् । कुन पत्याउने कुन नपत्याउने ! अघि कवितामा पनि उठ्यो, चुल्हा चुल्हामा यसो स्वीच थिच्दा ग्यास बल्ने, तर कहिले ?
रेल आउने, कहिले ?
निजगढमा एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्दैछ । त्यो बन्नु त कता हो कता, २४ लाख रुख काट्ने रे ! २४ लाखमुनि अन्य वनस्पति करौडौं हुन्छन् । सबै सत्यानाश !
जनतामा राजनीतिप्रति विश्वास भएन । जनताले राजनेतालाई विश्वास गर्न छोडे । एउटा समारोहमा पूर्वराष्ट्रपति रामवरण यादव भन्नुहुन्थ्यो, “जनताबीच राजनीति गएन ।” जनताबीच राजनीति लैजाने कसले ? अहिले सत्तासीन र सत्ताकाङ्क्षी राजनीतिक दलका नेताहरू अटयाच् बाथरुप भएको होटेलमा बस्छन् । जनताको घरदैलोसम्म पुग्दैनन् । जनताकोमा जाने चलन हरायो । यसरी राजनीति बलियो हुँदैन ।
घर र भुइँ पोत्ने माटो खन्ने क्रममा माटो लिन जाने पुरिएर मरे भन्ने खबर आउँछ । यसको निम्ति को जिम्मेवार ? म सत्तामा हुँदो हुँ त म स्थानीय नेतालाई जिम्मेवार बनाउँथें । चेतना प्रचार गरेको खोइ ? राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्तालाई जनताबीच पठाउनुपर्छ । माटो खन्न धेरै भित्र जानुहुन्न भन्ने चेतनामात्र दिन सकेको भए पनि धेरै हुने थियो ।
मैले अखबारमा पढेको थिएँ, चाँदनी दोधारा पुल धेरै भारी बोकेका मोटरसाइकल ओहोरदोहोर गर्दा कमजोर भयो, पेचकिल्ला खसे, तार खुस्कियो रे । त्यसको जिम्मेवारको ? दुईतिहाइको सरकार हो कि स्थानीय सरकार हो ? गम्भीर प्रश्न उठ्छन् ।
मूलतः जसको जे दायित्व हो,
बाँकी पृष्ठ ५ मा
तःमुंज्यामा…
त्यो दायित्व पूरा गर्न छोडियो । आफ्नो दायित्व आफूले पूरा नगरे मुलुक कस्तो होला, परिणाम कस्तो होला ! अनुमान गर्न सकिन्छ ।
अन्त्यमा, आफू बन्नुका साथै मुलुक बनाउने काममा पनि लागौं । आज आफूमात्र बन्नेतिर राज्यको ध्यान गइरहेको छ । सिंहदरबारका अँध्यारा कोठामा बेथिति हुने कुरा म बुझ्दछु, अहिले त उज्याला कोठामा पनि बेथितिमा हुनलाग्यो । उज्यालो कोठामै बेथिति भएपछि होला के ? यस्ता प्रश्न मसामु आउँछन् । मसँग उत्तर छैन । उत्तर अधिकारवालासँग हुन्छन् । मुलुक बनिरहेको छैन । मुलुक अघि बढिरहेको छैन । मुलुकलाई कसरी अगाडि लैजाने, आजको समारोहको बुद्धि पलायो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।
युवा साथीहरूलाई फेरि पनि विनम्र अनुरोध छ, हिंड्नुस्, नेपाल चिन्नुहोस्, आफ्नो कुरा नेपाललाई भन्नुहोस्, भुइँमा उभिएर समस्याको समाधान खोजौं ।
(कार्तिक ४ र ५ गते सम्पन्न ३८ औं नेपालभाषा साहित्य तःमुंज्याको दोस्रो दिन वरिष्ठ पत्रकार भैरव रिसालले व्यक्त गर्नुभएको मन्तव्यको सारसङ्क्षेप सं. )

Leave a Reply

Your email address will not be published. Required fields are marked *