भर्खरै :

धर्मको आवरणमा राजनीति

विवाहपञ्चमीको नाममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा आउने भएका छन् । भ्रमण विशुद्ध सांस्कृतिक हुने भनिएको छ । तर धर्म र संस्कृतिकै नाममा राजनीति गरिरहेका नेताको भ्रमण ‘विशुद्ध सांस्कृतिक’ हुने कुरा पत्यारिलो छैन । गेरू वस्त्र लगाउने आदित्यनाथ भारतमा हिन्दूअतिवादी भारतीय जनता पार्टीको राजनीतिक उत्कर्षका उपमा मानिन्छन् । आदित्यनाथ मुख्यमन्त्री बन्नुअघि नै उत्तर प्रदेशमा भएको धार्मिक र साम्प्रदायिक द्वन्द्वका नेता थिए । अल्पसङ्ख्यक समुदाय, मुसलमान, प्रगतिशील बुद्धिजीवी, कम्युनिष्टहरूप्रति उनी असहिष्णु विचार राख्छन् । भारतमा मात्र होइन, नेपालकै सन्दर्भमा फर्केर हेर्दा उनी नेपाललाई हिन्दूराज्य कायम राख्नुपर्ने र राजा जोगाउनुपर्ने मतका पक्षपाती थिए । नेपालको राजदरबारसँग उनको निकटको सम्बन्ध थियो । नेपालमा राजतन्त्र पुनस्र्थापनाको राजनीतिक मतका उनी पक्षपाती हुन् ।
नेपालको आन्तरिकमा भारतीय हस्तक्षेप नयाँ कुरा पक्कै होइन । नेपालमा आफ्नो पकड कायम राख्न भारतीय शासक वर्गले अर्थतन्त्र, राजनीति, कूटनीति मात्र प्रयोग गरेनन् । बरू धर्म र संस्कृतिको पनि प्रयोग गर्दै आएको छ । कुनै बेला शङ्काराचार्य, रामदेव हुँदै आज योगी आदित्यनाथसम्मको सक्रियता यसैको सिलसिला हो । उनीहरू धर्मको नाममा नेपाल आउने गर्छन् । तर उनीहरूको वास्तविक लक्ष्य भनेको राजनीतिक नै हुने गरेको छ ।
एक मधेस–एक प्रदेश बनाएर नेपालको सार्वभौमिकता कमजोर बनाउने भारतीय शासक वर्गको योजना असफल भए पनि अझै नेपाललाई आफ्नो तखतमा राख्ने छिद्रको खोजी भने चालु नै छ । विशेषतः भूकम्पले कमजोर बनेको अवस्थामा नेपालमाथि अन्यायपूर्वक नाकाबन्दी थोपरेका कारण नेपाली जनतामा भारतविरोधी भावना व्यापक बन्यो । नेपालमाथि नाकाबन्दीको भारतमा समेत व्यापक आलोचना भयो । भारतमा एकथरी राजनीति नेताहरू नाकाबन्दीकै कारण नेपालमा भारतीय प्रभाव कमजोर बनेको निष्कर्ष निकाल्छन् । यही विगत समीक्षा गर्दै आज भारतको शासक वर्गले नेपालमा गुमाएको प्रभाव फिर्ता गर्न लागिपरेको छ । यसको निम्ति धर्म नै सबभन्दा ठूलो हतियार हुनसक्ने उनीहरूलाई थाहा छ । योगी आदित्यनाथको जन्ती यसैको कार्यान्वयन हो ।
गएको साता नेपालमा एउटा इसाई सङ्गठनले बृहत्स्तरको अन्तर्राष्ट्रिय सम्मेलन ग¥यो । सो सम्मेलन सफल बनाउन प्रधानमन्त्री ओली आफ्नो निवासमै नफर्की पूरा खातिरदारीमा लागे । यी सबै दृश्यले नेपाल क्रमशः धार्मिक द्वन्द्वमा फस्दै गएको छनक दिएको छ । धार्मिक र साम्प्रदायिक लडाईले कुनै पनि देशको भाग्य र भविष्यलाई प्रगतितिर डो¥याएको छैन । धर्मकै कारण लामो द्वन्द्व र विभाजन भोगेका देशहरू संसारमा धेरै छन् । शक्ति राष्ट्रहरूले धर्मलाई आफ्नो दुनो सोझ्याउन प्रयोग गर्ने गर्छन् । हिजो पश्चिमा देशहरूले इसाई धर्मलाई आफ्नो उपनिवेशवादी शासनको विस्तार र सबलीकरणको लागि प्रयोग गरेका थिए । पादरीहरू बाइबल बोकेका उपनिवेशवादी सेनाहरू थिए । पश्चिमा देशहरूले क्रसको यो राजनीति अझै पनि चालु नै राखेका छन् । हिजो युरोपेली अनुहार यसमा नेतृत्वमा हुन्थ्यो भने आज तेस्रो विश्वका जनतालाई दिग्भ्रमित बनाउन तिनै देशका अनुहारलाई सारिएको छ ।
नेपाललाई शक्ति देशहरूका स्वार्थको क्रिडास्थल बनाउनबाट रोक्न जरूरी छ । सरकारमा बसेका नेताहरू यस्ता चालबाजीका गोटी बन्ने सम्भावनालाई इतिहासले नकार्दैन । तसर्थ सरकारमा गएका राजनीतिक पार्टी र नेताहरूले देशलाई अन्त्यहीन द्वन्द्वमा फसाउने सक्नेप्रति जनताले तदारूकता देखाउन जरूरी छ । शासक दलका नेता र पार्टीले भनेको भन्दै आँखा चिम्लेर अन्धविश्वासी बन्नेले भोलि रक्तआँसु चुहाउनुपर्ने दिन आउन सक्छ । देशको सार्वभौमिकता र स्वतन्त्रता जोगाउने त आखिर जनता नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *