भर्खरै :

उज्ज्वल जी, पश्चिम नै विद्याको स्रोत हो भन्ने भ्रमबाट मुक्त भए हुन्छ अब !

उज्ज्वल जी, पश्चिम मात्रै विद्याको स्रोत हो भन्ने भ्रमबाट मुक्त भए हुन्छ – अब !
नेपालका केही लेखक भनी टोपल्ने महाशयहरू पश्चिमा देशमा छापिएका कुनै पनि पत्रु पुस्तकलाई समेत वर्तमान चीनको ‘सर्वश्रेष्ठ, जानकारीमूलक र उत्कृष्ट’ भनी प्रशंसाको बखान गर्दै चीनको राजनैतिक, आर्थिक, सामाजिक आदि सबै विषयमा हिलो छ्याप्ने ‘कर्तव्य’ पूरा गर्छन् । त्यस्तै एउटा ‘दृष्टिकोण’ उज्ज्वल प्रसाईंको ‘प्रभुत्वको चिनियाँ सपना’, १८ माघ २०७५ को ‘कान्तिपुर दैनिक’मा देखियो ।
उज्ज्वल प्रसार्इँको झोलामा केही पुस्तक होलान्– ल्यू मिङफुले लेखेको ‘द चाइना ड्रिमः ग्रेट पावर थिङकिङ एण्ड स्ट्राटेजिक पोस्टर इन द पोष्ट अमेरिकन एरा’, जियान नामको साहित्यकारको ‘चाइना ड्रिम’, सन् १९०९ को थेनआनमेन चोकमा गरिएको उपद्रवको ‘बेइजिङ कोमा’, ‘स्ट्रिक आउट युअर टङ’, जियानकै ‘रेड डस्ट’ – तिब्बत बारेको कथा आदि । जियानले लेखेका छन्– ‘चीनमा अत्यन्त निगरानी गरिन्छ’, ‘जनताको दिमागभित्रै पसेर तिनीहरूले आफू अनुकूल बनाउँछन्’ । चाइना ड्रिम उपन्यासका पात्र सरकारी हाकिमलाई भन्न लगाइएको छ – ‘संसारभर प्रभुत्व स्थापना गर्ने अत्यासलाग्दो लालसा’, ‘गुमेको महिमा’ आदि ।
तर, उज्ज्वल प्रसाईँ थोरै पुस्तक पढेर धेरै बक्ने खालका लेखक देखिए । ‘चीनको सपना’को विषयमा नेपाली भाषामा पनि राम्रा–राम्रा पुस्तक र लेखहरू प्रकाशित भइसकेकोबारे प्रसार्इँजी जानकार हुनुभएन । यसकारण ‘चीनको सपना’ बारे कथा र उपन्यासजस्ता बजारु पुस्तकहरूको भर पर्नुपरेको देखिन्छ ।
दुई हजार वर्ष पहिले नै विश्वको एक समृद्ध र शक्तिशाली देशले विदेशमा आफ्नो ‘प्रभुत्व’ कायम नगरेकोबारे धेरै–धेरै विद्वान र विदुषीहरूले लेखिसकेको विषयमा पाना भर्नु आवश्यक नहोला ! फेरि तिब्बत र चीनको सम्बन्धबारे नेपाल र नेपाली जनतालाई पश्चिमेलीहरूले सिकाउनु पर्दैन । युरोपेली साम्राज्यवादीहरूले चीनलाई दक्षिण र पूर्वबाट जित्न अनेक पटक अनेक उपाय गरेको कुरा पनि नौलो विषय होइन । दलाइ लामालाई किन कसरी भगाइयो र कसको खर्चमा उनी भारतको धर्मशालामा छन् भन्नेबारे पनि नेपालीहरू अनभिज्ञ छैनन् ।
थेनआनमेनको उपद्रवको उद्देश्य अमेरिकी साम्राज्यवादीहरू र रुसी संशोधनवादीहरूको संयुक्त षड्यन्त्रमार्फत चीनको समाजवादी व्यवस्था उल्टाउने राज्य विप्लव थियो । संसारको कुनै पनि राज्यले राज्य विप्लवलाई ‘रातो कार्पेट’ बिछ्याएर स्वागत गर्दैन । करोडौँ जनताको बलिदानले पाएको क्रान्ति र समाजवादलाई केही हजार र केही लाखको षड्यन्त्रको अगाडि आत्मसमर्पण गर्दैन, जसरी गोर्भाचोभहरूले सोभियत जनतामाथि विश्वासघात गरेका थिए ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ्गले बारम्बार चीनले कहीं ‘प्रभुत्व’ नखोज्नेबारे आफ्नो नीति स्पष्ट पार्दा पार्दै संसारलाई ‘प्रभुत्व’ फैलाउनेजस्ता आरोप लगाउने वा गाली गर्ने प्रवृत्तिलाई ‘प्रजातान्त्रिक ध्यान भएको’ भन्न मिल्ला ? सत्य के हो भने – अमेरिकी साम्राज्यवादलाई खण्डन र विरोध नगरेसम्म ‘मानवअधिकार’ को हरेक शब्दले याङ्की साम्राज्यवादी ‘मानवअधिकार हनन’ भएको दाबीकै सेवा गरिरहेको हुन्छ । यसबाटनेपालका हरेक मानव अधिकारवादी पश्चिमको डलरको टुक्रामा बिकेको सावित गर्न गा¥हो हुनेछैन ।
३०–४० वर्ष अगाडिसम्म चीनबारे जानकारी लिन नेपाली र भारतीयहरू पश्चिमी देशका समाचार र लेखकहरूको भरमा बस्नुपथ्र्यो । तर, आज ? पश्चिमका हरेक देशबारे चीनका प्रकाशनहरूबाट छिट्टै थाहा हुन्छ ! हिजो तेस्रो विश्वका बुद्धिजीवीहरू पश्चिम हानिन्थे, आज पश्चिमा बुद्धिजीवीहरू पूर्वमा बसोबास गर्दैछन् र हानिंदैछन् ।
उज्ज्वल प्रसाईँजीलाई एउटा कथा थाहा हुनुपर्छ । यो कथा मात्र हो, उपन्यास होइन । एकजना फ्रान्सेली महिला बाल दन्त चिकित्सक र अफ्रिकी मूलका उनका सहयोगी युवकको तिब्बतबाट अनेक प्रकारका माला र शङ्खका चुरा लगाएकी धातु सङ्ग्रहालयकी ताम्राकारको भेट हुन्छ । तिनले तिब्बतमा चिनियाँ अत्याचार र चिनियाँ संस्कृतिबारे आधा घण्टा बोल्छिन् । तिनले अन्ना लुई स्ट्रङ्गको ‘तिब्बती दासहरू उठ्दा’ पुस्तकको उल्लेख गर्दा फ्रान्सेली दन्त चिकित्सक चकित हुन्छिन् । डेढसय वर्ष अगाडि नै मेकोङ्ग हुँदै युनान पुगेका एक फ्रान्सेली पूर्व कमाण्डर नूनको व्यापार गर्न पुगेको र हिन्द–चीनपछि चीनको दक्षिणमा फ्रान्सले कब्जा गर्न खोजेको, दलाइ लामालाई भारतीय नेता र पश्चिमी नेताहरूको पत्र तथा षड्यन्त्रले भारत पुगेको ताम्राकारको बेलिविस्तार सुनेपछि फ्रान्सेली दन्त चिकित्सक मौन हुन्छिन् ।
थेनआनमेन चोकको उपद्रवको १० वर्षपछि पनि न्युयोर्क पुस्तकालयको पहिलो तल्लामा थेनआनमेन चोकको उपद्रवको एकतर्फी दृश्यहरू देखाइन्थ्यो ।
साम्राज्यवादीहरू कति क्रुर हुन्छन् भन्नेबारे थाहा छैन भने अब पढे हुन्छ, नेपाली पाठ्यक्रमको अपुग पाठ पढेर अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी हासिल गर्नु हाँस्यास्पदमात्रै हुनेछ ।
तर, १९ माघ २०७५ को ‘मजदुर दैनिक’ ले ‘अमेरिकी कर्तुतको २१० वर्ष’ शीर्षकको एक फेहरिस्त नै छापेर नेपाली पाठकहरूलाई सुसूचित गरेकोमा ‘मजदुर दैनिक’ लाई साधुवाद !
अर्को पृष्ठमा थियो –मार्को तेरिगीको ‘भेनेजुयलामा सैनिक विद्रोहको योजनाः अब के हुन्छ ?’
अब नेपालमा पनि जानकारीको निम्ति २–४ परिवार वा शासकहरूमात्रै अधिकारी हुन् र छन् भन्ने भ्रम नपारे हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *