भर्खरै :

कार्ल माक्र्सको जनसङ्ख्या सिद्धान्त

रोशनराज तुइतुई
हरेक देश र समाजको लागि जनसङ्ख्या आवश्यक हुन्छ । तर, यही जनसङ्ख्या स्थान विशेषको आधारमा घटबढ भइरहेको हुन्छ । यसरी घटबढ भइरहेको जनसङ्ख्याको बारेमा जनसङ्ख्या सिद्धान्तले कसरी बढ्छ, कसरी घट्छ भन्ने विषयमा स्पष्ट पार्ने गर्दछ । जनसङ्ख्या सिद्धान्तले कुनै ठाउँका मानिसहरूको सङ्ख्यालाई कसरी व्यवस्थापन गर्नुपर्दछ, कति सङ्ख्या ठीक छ वा बढी छ वा घटी छ भन्ने विषयमा स्पष्ट पार्दछ । जनसङ्ख्याको आकार देशको वातावरण र भौगोलिक अवस्थाअनुसार फरक हुनसक्दछ । त्यसको आधारमा विभिन्न समयमा विद्वान्हरूले जनसङ्ख्यालाई सैद्धान्तिक दृष्टिकोणबाट व्याख्या गरेको पाइन्छ । हाल जनसङ्ख्यासम्बन्धी दुईवटा विचारहरू प्रमुख रहेका छन् । पहिलो विचार माल्थस र त्यसमा सहमत अरु व्यक्तिहरू हुन् भने अर्को विचार माल्थसको विरुद्धमा आएको विचार र त्यससँग सम्बन्धित व्यक्तिहरूका विचारहरू हुन् ।
माल्थस र उनीसँग सहमत हुने व्यक्तिहरूले जनसङ्ख्या वृद्धिबाट विकराल समस्या आउने, जनसङ्ख्या वृद्धि नरोकिएमा भविष्यमा अनिकाल, महामारी तथा प्राकृतिक प्रकोप आदि हुने र जनसङ्ख्यालाई सन्तुलन हुने विचार अगाडि ल्याएका थिए । यस विचारलाई जनसङ्ख्या वृद्धिसम्बन्धी निराशाजनक दृष्टिकोणको रूपमा लिइन्छ । यसले समाज र देशको भविष्य अन्धकार हुने अनुमान गर्दछ ।
कार्ल माक्र्सले अगाडि ल्याएको जनसङ्ख्यासम्बन्धी सिद्धान्तले भने जनसङ्ख्या वृद्धिलाई समस्यामात्रै नभएको नयाँ तर्क प्रस्तुत गर्दछ । जनसङ्ख्या वृद्धिको समस्या मानवीय नभई सम्पत्तिको असमान वितरणको कारणले हुने विचार कार्लमाक्र्सको थियो । जनसङ्ख्या वृद्धिले समस्या नल्याई यसले विकासको निम्ति आवश्यक मानवीय स्रोत आपूर्ति गर्ने धारणा राख्दछ । त्यसैले विश्वको भविष्य अन्धकार छैन, झन् प्रगति र उपलब्धि हुन्छ भन्ने मान्यता उनीहरूको रहेको छ । यसकारण यस दृष्टिकोणलाई आशावादी विचारको रूपमा लिइएको छ । यस विचारमा विज्ञान र प्रविधिको विकास रोकिएमात्र जनसङ्ख्याको समस्या आउँछ । त्यसैगरी सम्पत्तिको समान वितरण सुनिश्चित गर्न सकिएमा जनसङ्ख्या सन्तुलन हुन्छ । यी दुई प्रमुख विचारहरूबाहेक अरु विभिन्न सिद्धान्तहरू अगाडि नआएका होइनन् । ती सिद्धान्तहरू पनि माथिका दुई विचारमध्ये कुनै एकसँग नजिक रहेको देखिन्छ । जस्तै जनसङ्ख्यासम्बन्धी जैविक सिद्धान्त, सामाजिक सिद्धान्त, अनुकूलतम सिद्धान्त, जनसङ्ख्या सङ्क्रमणको सिद्धान्त आदि रहेको छ । यहाँ कार्लमाक्र्सले जनसङ्ख्यासम्बन्धी व्यक्त गरेका जनसङ्ख्या सिद्धान्तलाई प्रस्तुत गरिएको छ । जनसङ्ख्यासम्बन्धी कार्ल माक्र्सको विचार कार्ल माक्र्स पुँजीवादी अर्थतन्त्रको वैकल्पिक स्वरूप व्याख्या गर्ने प्रमुख सामाजिक तथा आर्थिक चिन्तक हुन् । उनीहरुले आर्थिक, सामाजिक स्वरुप र अवस्थाको विश्लेषणको सन्दर्भमा द्वन्द्वात्मक भौतिकवादलाई आधार बनाएका थिए । उनले राजनैतिक, आर्थिक तथा सामाजिक परिवर्तनको व्याख्या गर्ने सन्दर्भमा जनसङ्ख्यासम्बन्धी सिद्धान्त अगाडि ल्याएका हुन् । माक्र्सले जनसङ्ख्याको आकार आर्थिक–सामाजिक सहसम्बन्धमा निर्धारित हुन्छ भन्ने विषयलाई तथ्यसहित प्रमाणित गरेका थिए । कुनै ठाउँको जनसङ्ख्या स्वयम्सिध्द तथ्यअनुसार कुनै प्राकृतिक वा विश्वव्यापी नियममा देखाउन सकिँदैन । यो त विभिन्न समाजमा फरक–फरक ढङ्गले विभिन्न सामाजिक तथा आर्थिक घटनाक्रमहरूबाट प्रभावित रहने गर्दछ । कुनै स्थानको हरेक उत्पादनसम्बन्धी इतिहासमा उल्लेखनीय ऐतिहासिक मोडहरू (ज्ष्कतयचष्अब िmयमभक) ले जनसङ्ख्यासम्बन्धी अनौठा नियमहरू बनाएका हुन्छन् । “जनसङ्ख्यामा काल्पनिक नियम त जनावर तथा बोटविरुवामा मात्र पाइन्छ त्यो पनि तिनीहरूमाथि हस्तक्षेप गर्दैन । (त्जभ ऋबउष्तब।ि ए टघद्द) उनले आफ्नो प्रसिद्ध पुस्तक ‘पुँजी’ मा जनसङ्ख्याका नियमहरूको सम्बन्धमा व्याख्या गर्दै भनेका छन् । “पुँजीवादी प्रवृत्तिको उत्पादनसँगै पुँजीपतिहरूले अतिरिक्त श्रम शक्तिको फाइदा उठाउँदै सस्तो ज्यालामा श्रमशक्ति प्रयोग गरेर बढी नाफा कमाउने प्रवृत्ति बढ्दै जान्छ जसको प्रभाव सामाजिक, आर्थिक जनसाङ्ख्यिकलगायत सामाजिक सम्बन्धमा समेत पर्न जान्छ । यसले गर्दा जनसङ्ख्या समस्याको रूपमा अगाडि आउँछ । कुनै ठाउँको जनसङ्ख्या अधिक छ भन्ने अवधारणा जैविक प्रवृत्तिभन्दा पनि पुँजीपतिहरूको उत्पादन सिद्धान्तमा सघाउने मनसायले ल्याइएको हो । जनसङ्ख्या वृद्धिलाई पुँजीपतिहरूले आफ्नो स्वार्थ सिद्ध गर्न अर्थात् बढी श्रमिकहरू श्रमबजारमा उत्पादन गरेर सस्तो मोलमा आफ्नो उद्योगधन्दामा संलग्न गराउने मनसायले बढी बच्चा जन्माउन उत्प्रेरित गरेको र त्यसो गर्दा मानिसहरूले आफ्नो श्रमको उपयुक्त ज्याला पाउन नसकी गरिबी तीव्ररूपमा बढ्न गई जनसङ्ख्या वृद्धि अझै उच्च हुँदै जान्छ ।”
स्मरणीय कुरा के छ भने समाजवादी प्रणालीद्वारा जनसङ्ख्या वृद्धिको कारण उत्पन्न जुनसुकै आर्थिक समस्यालाई समाधान गर्न सकिन्छ भन्ने विषयमा उनले पुष्टि गरेका थिए । जनसङ्ख्याको आफ्नै नीतिनियम नभए पनि कुनै देशको जनसङ्ख्याको आकार र बनोटलाई त्यहाँको आर्थिक र सामाजिक अवस्थाले निर्धाण गर्ने कुरा प्रस्ट्याएका थिए । माक्र्स समाजमा जनसङ्ख्या वृद्धिको कारण गरिबीसँगै उत्पन्न प्रजनन् दरको वृद्धिलाई मान्दैनन् र बरु यसको मूल कारण पुँजीवादी अर्थव्यवस्थाको उपजको रूपमा लिन्छन् । जनसङ्ख्या वृद्धिका कारणहरू प्रायः जनसङ्ख्या सिद्धान्तहरूले जनसङ्ख्या वृद्धिको मुख्य कारण प्रजनन दरलाई मानेका छन् । तर, कार्ल माक्र्सले जनसङ्ख्या वृद्धिको मुख्य कारण प्रजनन दरमात्र होइन यसको मुख्य कारण सम्पत्तिको असमान वितरणले ल्याएको अतिरिक्त जनसङ्ख्या (क्गचउगिक उयउगबितष्यल) को कारणले हुने गर्दछ भन्ने फरक विचार प्रस्तुत गरेका थिए । जनसङ्ख्या वृद्धि गरिबीको कारणले नभई गरिबी पुँजीवादी अर्थव्यवस्थाको कारणले आउने गर्दछ । कुनै ठाउँको सामाजिक आर्थिक वातावरणमा जनसङ्ख्याको आकार, लिङ्ग, संरचना र वितरणमा निर्भर गर्दछ । कुनै ठाउँको प्रजनन दर उच्च भएरमात्र गरिबी, भोकमरी आउने होइन । पुँजीपतिहरू सधैं जनसङ्ख्या वृद्धि गराउन चाहन्छन् । यसले गर्दा पुँजीपतिको निम्ति बजारमा उत्पादनको लागि सस्तोमा श्रमिक पाइन्छ र तिनले बढी आर्थिक लाभ पाउँछन् । कार्ल माक्र्सले अतिरिक्त जनसङ्ख्याको वृद्धि भएमा पुँजीपतिहरूले श्रम शोषण गरेर भए पनि आर्थिक लाभ लिन सहज हुने कुरा प्रस्ट पारेका छन् । यसरी पुँजीपतिहरूको नाफा वृद्धि सँगसँगै उनीहरूले आफ्नो कलकारखानामा मेसिनको सङ्ख्या वृद्धि गर्छन् र श्रमिकको सङ्ख्या कटौती भई अतिरिक्त जनसङ्ख्या अझै वृद्धि हुन्छ । पुँजीवादी समाजमा श्रमिकहरूको श्रम शोषण हुनुको साथै उत्पादन र वितरण व्यवस्थामा अनियमितता हुन्छ । जसको फलस्वरुप श्रमिक वर्गको आर्थिक स्थिति दिनदिनै कमजोर हुँदै जान्छ । जसले गर्दा श्रमिक वर्गमा गरिबीको समस्या उत्पन्न भई जनसङ्ख्या वृद्धिसँगै अतिरिक्त जनसङ्ख्या वृद्धि हुन्छ । यसप्रकारको वृद्धि भएका मानिसहरूलाई पुँजीपतिहरू जनसङ्ख्या वृद्धिको समस्या देख्छन् । त्यसैले जनसङ्ख्या वृद्धिको चाहना हरेक पुँजीवादी अर्थव्यवस्थाका पक्षधरहरू रहेका हुन्छन् । कार्ल माक्र्सको अतिरिक्ति जनसङ्ख्यासम्बन्धी नियमलाई निम्न चित्रबाट स्पष्ट गर्न सकिन्छ । चित्रमा तेस्रो रेखाले श्रमिक र ठाडो रेखाले ज्याला जनाउँछ । डी–डी श्रमिकको माग र एस–एस श्रमिकहरूको आपूर्ति रेखाहरू हुन् । चित्रमा जब ओ–डब्लु ज्यालादर हुन्छ त्यसबेला श्रमिकहरूको माग र आपूर्ति बीचको फरक आर–ए वा एल–एल हुन्छ । यो नै अतिरिक्त जनसङ्ख्या हो । जुन समयमा अतिरिक्त जनसङ्ख्या बढ्दै जान्छ त्यसबेला पुँजिपतिहरूको नाफा वृद्धिसँगै पुँजी वृद्धि हुँदै जान्छ । जब श्रमिकको आपूर्ति रेखा एस–एस दायाँतिर ढल्किँदै जान्छ अर्थात् श्रमिकको सङ्ख्या वृद्धिसँग जब रेखा एनसम्म पुग्छ, ज्यालादर घट्दै जान्छ । त्यसबेला ओ–एममा पुग्दछ । यसबेला पनि अतिरिक्त जनसङ्ख्या पी–ई हुन्छ । यस अवस्थामा पनि ज्यालामा शोषण गरी नाफा वृद्धि गरिन्छ । यसले गर्दा पुँजी वृद्धि भई नाफा वृद्धि हुन्छ । यसबाट अतिरिक्त जनसङ्ख्या थपिँदै जान्छ ।
यसरी अतिरिक्त जनसङ्ख्या वृद्धिसँगै गरिबी बढ्छ त्यसले गर्दा जनसङ्ख्या वृद्धिमा सहयोग पुग्छ । (व्जष्लनबल भत ब,ि द्दण्ण्द्ध) जनसङ्ख्या वृद्धिका परिणामहरू कार्ल माक्र्सका अनुसार हरेक जनसङ्ख्या वृद्धि हानिकारक हुँदैन किनकि हरेक मानिस उपभोक्तामात्र होइन कि ऊ उत्पादनको साधन पनि हो । जनसङ्ख्या वृद्धि गरिबीकोे कारणले नभई समाजको संरचना र पुँजीवादी कारणले गरिबी बढी जनसङ्ख्या वृद्धि हुन्छ । जनसङ्ख्या वृद्धिले सामान्य रूपले उत्पादन वृद्धिमा सहयोग गर्दछ किनभने प्रत्येक मानिसले स्पष्ट रूपमा आवश्यकताभन्दा बढी उत्पादन गरिरहेको हुन्छ । यदि उसलाई अवसर प्रदान गर्ने हो भने उससँग प्रशस्त उत्पादन गर्ने क्षमता हुन्छ । उत्पादन समान रुपले बाँडफाँड भएमा गरिबी कम हुँदै जान्छ । यसको साथसाथै वृद्धि भएको जनसङ्ख्याले विज्ञान प्रविधिको प्रयोगले उत्पादन वृद्धि उच्च बनाउन सकिन्छ । यदि यस प्रकारको उत्पादन सामूहिकीकरण नगरी व्यक्तिगत गरेमा वृद्धि भएको जनसङ्ख्या अतिरिक्त जनसङ्ख्यामा परिणत हुन जान्छ ।
परिणामस्वरुप समाजमा गरिबी र बेरोजगारी वृद्धि हुँदै जान्छ । वृद्धि हुँदै गएको जनसङ्ख्याले पुँजीवादी प्रणालीविरुद्धमा आवाज उठाउन सुरु गर्दछ र विस्तारै सङ्गठित हुँदै पुँजीवादविरुद्ध सैन्यदस्ता तयार गरी समाजवादी क्रान्ति गरी पुँजीवादी प्रणालीलाई ध्वस्त बनाउँदछ । पुँजीवादी प्रणाली ध्वस्त भए पछि सम्पत्तिमा सबैको समान पहुँचबाट समाजमा असमानता कम हुँदै जान्छ । सम्पूर्ण मानिसहरूको समान अवसर तथा योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाले गर्दा गरिबी कम हुँदै जान्छ । गरिबी कम हुँदै जाँदा मानिसहरूको आवश्यकता पूरा हुँदैजान्छ । यसबाट जीवनस्तरमा सुधार भई चेतनास्तरमा वृद्धि हुन्छ र प्रजनन दरमा कमी आउँछ । यसरी प्रजनन् दरमा कमी हुँदै जाँदा जनसङ्ख्या आफै नियन्त्रणमा आउँछ ।
जनसङ्ख्या वृद्धि नियन्त्रणका उपायहरू वास्तवमा कार्ल माक्र्सले आफ्नो सिद्धान्तमा जनसङ्ख्या वृद्धिका समस्याहरू उल्लेख गरेका छै्रनन् । किनकि उनले सोचेको समाजमा जनसङ्ख्या वृद्धिको समस्या नै नभएको हुनाले समाधान पनि आवश्यक ठानिएको हुँदैन । तर, समाजमा जुन प्रकारको असमानता र वर्गीय संरचना छ त्यसलाई परिवर्तन गर्नुपर्ने आधारहरू प्रस्तुत गरिएको छ । यसैलाई जनसङ्ख्या वृद्धिको नियन्त्रणका उपायहरूको रूपमा प्रस्तुत गरिएको छ । जनसङ्ख्या समाजको महत्वपूर्ण पÔ हो । यदि जनसङ्ख्या व्यवस्थापनलाई ध्यान दिइएन भने विभिन्न समस्याहरू आउँछन् । औद्योगिकक्षेत्रलगायतका अरु ठाउँहरूमा समस्या आउने मुख्य कारण श्रमिकहरूसँग गरिएको शोषण हो । यस प्रकारको शोषणले विभिन्न विस्फोटनहरू ल्याउने गर्दछ । तसर्थ जनसङ्ख्या आफै समस्या कहिल्यै हँुदैन । पुँजीवादी समाजले नै यसलाई समस्याको रूपमा परिणत गरेको छ । वृद्धि भएको जनसङ्ख्याको उचित व्यवस्थापन समाजवादी प्रणालीले मात्र गर्नसक्ने हुँदा यस व्यवस्थामा जनसङ्ख्या समस्या हुँदैन र त्यसको निम्ति समाजको साधनस्रोतको उचित वितरण हुनुपर्दछ । मानिसहरूको प्रजनन र मृत्युको भिन्नता पुँजीवादी र सर्वहारा वर्गको बीचमा देखिनुको प्रमुख कारण भनेको सामाजिक स्तर, कामको स्तरलगायत अन्य सामाजिकक्षेत्रमा रहेको भिन्नता नै हो । त्यसैले जनसङ्ख्या वृद्धिको समस्या समाधानको लागि प्रजनन कमी गर्नेतर्फ भन्दा पुँजीवादी प्रणालीको शोषणबाट मानिसहरूलाई मुक्त गर्नुपर्दछ । मानिसहरूलाई समानतामा आधारित योग्यताअनुसारको काम र कामअनुसारको मामको व्यवस्था गरी गरिबी र बेरोजगारी हटाउन सके जनसङ्ख्या वृद्धिको समस्या समाधान हुनजान्छ । यसको जिम्मेवारी राज्यको हो ।
कार्ल माक्र्सको जनसङ्ख्यासम्बन्धी धारणालाई जनसङ्ख्याविद्हरूले जनसङ्ख्या सिद्धान्तको रूपमा स्वीकारेका छैनन् । कार्ल माक्र्सले आफ्नो समाजवादी विचारधाराको वकालत गर्दा र पुँजीवादको आलोचना गर्दा जनसङ्ख्यासम्बन्धी धारणा अगाडि ल्याएको भन्ने विचारहरू प्रस्तुत गरिन्छ । तर, माक्र्सले अगाडि ल्याएको समाजवादी सिद्धान्तमा धेरै वटा सिद्धान्तहरू रहेका छन् । तीमध्ये जनसङ्ख्या सिद्धान्त पनि एक हो । त्यसैले कार्ल माक्र्सबाट जनसङ्ख्यासम्बन्धी प्रस्तुत विचार एउटा कुनै दृष्टिकोणमात्र नभई सिद्धान्तको रूपमा मान्नुपर्छ । माक्र्सको भनाइअनुसार नै विश्वका कतिपय देशहरूमा समाजवादी व्यवस्था लागू भएको छ भने त्यहाँ जनसङ्ख्याको त्यस्तो समस्या देखिएको छैन । जनसङ्ख्या समस्या हालको कति विकसित देशहरूमा पनि देखिँदैन किनकि त्यस्ता देशहरूमा पनि मानिसको आधारभूत आवश्यकताहरू राज्य नियन्त्रित रहेको हुन्छ । कार्ल माक्र्सको भनाइअनुसार नै हाल धेरैजसो देशहरूमा जनसङ्ख्याको समस्या गरिबीको कारणले नभई असमान सम्पत्तिको वितरण तथा वर्गीय समस्याको कारणले गरिबी भएको हो । यसबाट अतिरिक्त जनसङ्ख्याको अवस्था सृजना गराउँछ । त्यसैले जनसङ्ख्याको समस्याबाट मुक्त हुनको लागि राज्यमा समाजवादी व्यवस्थाको प्रणाली लागू गर्नुपर्दछ । समाजवादी समाजमा नागरिकलाई समान अवसर प्राप्त हुन्छ । वर्र्गीय शोषण हुँदैन । त्यसको लागि राज्य संयन्त्रलाई क्रियाशील गराउनुपर्दछ ।
–द एकेडेमी

One response to “कार्ल माक्र्सको जनसङ्ख्या सिद्धान्त”

  1. Shrees Magar says:

    It’s great

Leave a Reply

Your email address will not be published. Required fields are marked *