कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
सुरेश परियार
कामरेड रोहितले मेरो नाममा पत्र त लेख्नुभएको छैन । तर, मेरो मभन्दा अघिको र पछिको पुस्ताका नाममा भने धेरै पत्र लेख्नुभएको छ । कामरेड रोहितका यस्तै पत्र पढेर हामी संसारलाई अलि बेग्लै ढङ्गले चिन्यौँ । सायद अलि गम्भीर, जिम्मेवार र स्नेहको आँखाले जीवन र जगतलाई हेर्न सिक्यौँ ।
यस्तो किन हुन्छ, हामी कामरेड रोहितका पत्र पढिरहेका हुन्छौँ र आफूनजिकै उहाँको मुस्काइरहेको अनुहार देख्छौँ, हामीलाई सम्झाइबुझाइ गरिरहेको पाउँछौँ ? यस्तो किन हुन्छ, हामी कामरेड रोहितका पत्र पढिरहेका हुन्छौँ र आफ्नो वर्गलाई चिनिरहेका हुन्छौँ, त्यहीँ कतै आफ्नो जीवनलाई छामिरहेका हुन्छौँ ? यस्तो किन हुन्छ, हामी ती पत्र पढिरहेका हुन्छौँ र यो देश अनि समग्र संसारकै नागरिक हुनुको जिम्मेवारीबोध गरिरहेका हुन्छौँ ? यस्तो किन हुन्छ, हामी उहाँका पत्र पढिरहेका हुन्छौँ र मानौँ कुनै भरिलो नदीले वरपरका खोल्सा र खहरे खोलाहरूलाई लामो यात्रामा समाहित हुन आह्वान गरेजस्तै सुसली सुन्छौँ ? यो पुस्तक, “पत्रसाहित्यमा रोहित” नपढुञ्जेल म आफ्ना यी नितान्त वैयक्तिक अनुभूतिको सैद्धान्तिक पक्षतिर उति आकृष्ट थिइनँ ।
सुन्दर वासीले लेख्नुभएको यस कृतिमा पत्रसाहित्यको सैद्धान्तिक व्याख्या गरिएको छ । त्यस व्याख्याको आधारमा कामरेड रोहितले लेखेका पत्रसाहित्यहरूको विवेचना गरिएको छ । खासमा यो एउटा अनुसन्धानात्मक कृति हो । पुस्तकलाई मूलतः चार भागमा बाँडिएको छ ।
पहिलो भागमा पत्रसाहित्यबारे सैद्धान्तिक लेखाजोखा गरिएको छ । पुस्तकको यो खण्डमा पत्रसाहित्यको परिचय, परिभाषा र पुरानो परम्परा दिइएको छ । के–कस्ता तत्वहरू समावेश गरिएको साहित्यलाई पत्रसाहित्य भन्न सकिन्छ भनी उल्लेख गरिएको छ । लेखकले एउटा मानक पत्रसाहित्य हुनका लागि लेखनीमा प्रापक र प्रेषकको नाम हुनुपर्ने, मिति र ठेगाना लेखिनुपर्ने जिकिर गर्नुभएको छ । पत्रसाहित्यमा देखापर्ने विषयवस्तु, भाषाशैली र ऐतिहासिकताका मौलिक पक्षबारे पनि चर्चा गर्नुभएको छ । कतिपय पत्रसाहित्यमा शीर्षक पनि पाइएकोले यसलाई पनि पत्रसाहित्यका सात तत्वमा समावेश गर्नुभएको छ । यी तत्वहरू अपुग भएका पत्रलाई लेखकले विचलन भन्नुभएको छ । पुस्तकको पहिलो भागमा पत्रसाहित्यको वर्गीकरणका मापदण्ड र यसखाले साहित्यको महत्वबारे चर्चा गरिएको छ ।
पुस्तकको दोस्रो भागमा पत्रसाहित्यअन्तर्गत नेपाली साहित्यमा देखापरेका केही कृतिको विवेचना गरिएको छ । एकप्रकारले नेपाली पत्रसाहित्यको यात्रालाई सरसरती नियाल्ने कोसिस गरिएको छ । गंगालालले आफ्नो बुबालाई लेखेको पत्र, हृदयचन्द्रसिंह प्रधानको भू–स्वर्ग, लैनसिंह बाङ्देलको युरोपको चिट्ठीलगायत चिट्ठी चपेटा, नारी ः बन्धन र मुक्तिजस्ता १३ पत्रसाहित्यिक कृतिको चर्चा गरिएको छ । केही फुटकर पत्रसाहित्य तथा नेहरू, चाउ एन–लाइ र माक्र्स–एङ्गेल्सका अनुदित पत्रसाहित्यबारे पनि केही झलक दिने कोसिस गरिएको छ ।
पुस्तकको तेस्रो पाठ सबैभन्दा लामो भाग हो । यस भागमा कामरेड रोहितका “राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिट्ठी”, “साइन्स र डाक्टरी पढ्ने भाइबहिनीलाई विदेशमा बसेको दाजुको चिट्ठी”, “इन्जिनियर र वैज्ञानिक बन्न चाहने भाइबहिनीहरूलाई चिट्ठी”, “मार्गनिर्देशनबारे भाइबहिनीलाई चिट्ठी” लगायतका पत्रसाहित्यको सविस्तार चर्चा गरिएको छ । खासमा यो खण्डको मूल विषय कामरेड रोहितको पुस्तक “जेलका चिट्ठीहरू” हो । यो खण्डका धेरै पानामा “जेलका चिट्ठीहरू” को प्रदक्षिणा गरिएको छ । पञ्चायतले नेपाल मजदुर किसान पार्टीलाई जरैबाट उखेल्ने दाउमा आयोजना गरेको थियो भक्तपुर काण्ड । भक्तपुर काण्डको पासोमा परेर कामरेड रोहितलगायत धेरै भक्तपुरका जनता जेलमा पर्नुभएको थियो । निराशाका अँध्यारा रातहरूमा जागाराम बसेर आशाका गीतहरू भाका हालेर गाउनु आफैमा चुनौतीपूर्ण काम हो । देश र जनतालाई माथि उठाउने अभिष्ट बोकेर अघि बढेको पार्टीका अध्यक्ष भएको नाताले कामरेड रोहितले यस्तो गीत जेलमा पनि गाइरहनुभयो । जेलको यस्तै कष्टपूर्ण माहोलबीच आफ्नी श्रीमती शोभा प्रधानलाई आडभरोसा दिएर लेखिएका कामरेड रोहितका २१ वटा चिट्ठीहरूलाई “पत्रसाहित्यमा रोहित” मा विभिन्न कोणबाट केलाइएको छ ।
पुस्तकको तेस्रो भाग लामो भइकन पनि आकर्षक छ । त्यहीँ आकर्षक पक्षमा पर्छ एउटा गजबको शब्दचित्र । कामरेड रोहितको जीवन एउटा खुला पुस्तक बनिसकेको छ । तर, जेलका चिट्ठी पाउने, सँगाल्ने र आम पाठकबीच तिनलाई प्रकाशन गर्न मञ्जुरी दिने शोभा प्रधानको जीवनबारे त्यति पढ्न पाइन्न । पुस्तकको यो खण्डमा शोभा प्रधानको जीवनका उकाली ओरालीहरूको माला उनिएको छ । पुस्तक पढ्ने जोकोही पुस्तकको यस खण्डमा आएर कुनै कथा पढेजस्तो उत्कण्ठापूर्वक सलल बग्न पुग्छ ।
अन्तिम भागमा लेखक वासीले ओजपूर्ण निष्कर्षसहित आफ्नो पुस्तक “पत्रसाहित्यमा रोहित” को बिट मार्नुभएको छ ।
भनिन्छ, समालोचनाबिना साहित्य अपुरो हुन्छ । जेलका चिट्ठीहरू वास्तवमा एउटा बहुआयामिक पुस्तक हो । यसमा कामरेड रोहितको आत्मसंस्मरणात्मक अनुभूतिमा राजनीति, समाजशास्त्र, कला, साहित्य, संस्कृति, इतिहास, समालोचना, मनोविज्ञानजस्ता विविध विषयहरू घोलिएर खिरमा बदाम, किसमिस र काजुजस्तै देखापर्छन् । अर्को शब्दमा जेलका चिट्ठीहरूमा ठाउँठाउँमा एउटा अमर कृतिमा हुनुपर्ने धेरै झिल्काहरू छन् । ती झिल्कालाई बटुलेर एउटा ज्योति बनाउने जमर्को “पत्रसाहित्यमा रोहित” ले गर्न खोजेको छ । किनभने आफूले प्रस्तुत गरेका पत्रसाहित्यका सात तत्वका आधारमा जेलका चिट्ठीहरूमा समावेश सबै चिट्ठीलाई लेखकले विवेचना गर्नुभएको छ, विश्लेषण गर्नुभएको र हरेक चिट्ठीले दिन खोजेका सन्देशको सार खिच्नुभएको छ । आफ्नो आँखाले देखेका सबै चम्किला पक्षहरूको खोजबिन गर्नुभएको छ । आलोच्य पक्षलाई समुचित ढङ्गले उठान गर्नुभएको छ । त्यसैले यो कृति “जेलका चिट्ठीहरू” को परिचयमात्र होइन, पुरक पुस्तक पनि बन्न पुगेको छ ।
पुस्तकको भाषाको कुरा गर्दा यो निकै सफल कृति हो । पुस्तक हात परेपछि मैले एक बसाइमै यो पुस्तक पढिसिध्याएँ । अनुसन्धान, समालोचनाजस्ता विधा अलि दुरूह विधा मानिन्छन् । तर हामीसँग वासुदेव त्रिपाठीजस्ता दुरूह समालोचकमात्र नभएर तारानाथ शर्माजस्ता सजिला र सरस समालोचक पनि नभएका होइनन् । भाषिक जटिलता वा सरलताका कुरा समालोचकको दृष्टिकोणमा पनि भरपर्छ । सुन्दर वासीको यो कृति समालोचनाका सैद्धान्तिक सिमानाहरूमा नखुम्चिई सामान्य पाठकको भाषामा आएको छ । पत्रकारिताको पृष्ठभूमि भएका लेखकको भाषिक रूझान पुस्तकमा प्रस्ट देखिन्छ । ठाउँठाउँमा जनबोलीका शब्द र आहानहरू टिपेर उनिएकोले पुस्तकको भाषा निकै सजिलो, झरिलो र कतिपय ठाउँमा लेसिलो बन्न पुगेको छ । मुद्राराक्षसको कमजोरीबाट को नै बचेको छ र ? यस पुस्तकमा पनि केही ससाना त्रुटिहरू देखिन्छन् । कताकति पुनरोक्तिदोष पनि देखापर्छन् । आउँदा संस्करणमा तिनमा सुधार होला नै ।
समग्रमा “पत्रसाहित्यमा रोहित” ले पत्रसाहित्यको चिनारी र साँधसिमानाबारे प्रस्ट रेखा खिचेको छ । यसले पत्रसाहित्यको शक्ति उजागर गरेको छ । त्यसको महत्वमाथि प्रकाश पारेको छ । यहीँ प्रकाशमा पुस्तकले कामरेड रोहितका लगभग सबै पत्रसाहित्यसँगै “जेलका चिट्ठीहरू” पुस्तकभित्रका उज्याला पक्षलाई चम्काएको छ भने कतिपय ठाउँमा सुरूचिपूर्ण प्रश्नहरू तेस्र्याएको छ । मलाई लाग्छ, यस पुस्तकले लेखनमा हात हालेका पाठकलाई पत्रसाहित्यमा कलम चलाउन घच्घच्याउनेछ, पत्रसाहित्यलाई कविता, आख्यान, निबन्ध र नाटकजस्तै साहित्यको अर्को एउटा स्वतन्त्र विधाको रूपमा उभ्याउन यो पुस्तक कोशेढुङ्गा सावित हुनेछ । हुन त पुस्तकको प्रकाशकीयमा यसलाई आफ्नो किसिमको पहिलो कृति भनिएको छ । तर ‘नेपाली पत्रसाहित्यमा जेलका चिट्ठीहरू’ शीर्षकको शोधलाई नै परिमार्जित गरी “पत्रसाहित्यमा रोहित” नाम दिइएको बुझ्न केहीबेर अलमल हुन्छ । भूमिकामा कामरेड नारायणमान बिजुक्छेँले पत्रसाहित्यको परम्परामा विश्वका अनेक जनलेखकहरूको योगदानबारे चर्चा गरेर पत्रसाहित्यको गरिमामय विरासत अझ अगाडि बढ्ने आशा राख्नुभएको छ ।
जेहोस्, यस्तो विवेचनात्मक र प्रेरक पुस्तक लेखेर हामीलाई गुण लगाउनुहुने लेखक सुन्दर वासी एवम् छापेर गुन लगाउनुहुने प्रकाशक, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ, केन्द्रीय समिति दुवै बधाईका पात्र भने हुनुहुन्छ ।
(आइतबार सम्पन्न सुन्दर वासीलिखित ‘पत्रसाहित्यमा रोहित’ पुस्तक विमोचन कार्यक्रममा व्यक्त विचार)
Leave a Reply