भर्खरै :

विरोधीहरूबिच एकता र सङ्घर्ष द्वन्द्ववादको एक नियम

विरोधीहरूबिच एकता र सङ्घर्ष द्वन्द्ववादको एक नियम

हरेक वस्तुमा दुई अन्तरविरोधका पक्ष हुन्छन् । ती वस्तु एक आपसमा लड्छन् र आ–आफ्नो अस्तित्वको लागि फेरि एक अर्कासित मिल्छन् । यी दुवै पक्ष गतिशील र सजीव हुन्छन् । कुनै खास स्थितिमा ती एक अर्कोमा परिणत हुन्छन् । मानौँ, पुँजीवादी समाज एक वस्तु हो । त्यस समाजमा पुँजीपति र सर्वहारा या श्रमजीजी जनता अन्तरविरोधपूर्ण पक्ष हुन्छन् ।
दुवै पक्षको आ–आफ्नै स्वार्थ हुन्छ । अलग्ग अलग्ग स्वार्थ र उद्देश्य भए पनि तिनीहरूबिच एक अर्कासित सम्बन्ध गाँसिएको हुन्छ । यसको आधारमा उनीहरूबिच एकता पनि छ । तर, यी दुई पक्षबिच सङ्घर्ष पनि हुन्छ । कुनै पुँजीपतिवर्गले कुनै उद्योग सञ्चालन गर्न श्रम शक्तिको आवश्यकता हुन्छ । त्यो शक्ति पुँजीपतिवर्गले किन्नुपर्ने हुन्छ या श्रम शक्ति लगाउनुपर्ने हुन्छ । यता मजदुर या श्रमजीवीले पनि आफ्नो जीवन जोहो गर्न श्रमशक्ति बेच्नुपर्ने हुन्छ या काम गर्नुपर्ने हुन्छ । यो नै विपरीत तत्वबिचको एकता हो । अनि ती दुई पक्षबिच सङ्घर्ष पनि हुन्छ । पुँजीपतिवर्ग बढीभन्दा बढी नाफा कमाउन खोज्छ । यसको निम्ति मजदुर घटाउनुपर्ने हुन्छ या धेरै काम गराएर ज्याला कम दिने प्रयास गर्छ । मजदुर नघटाई नाफा नहुने र नाफा नघटाई मजदुरी बढ्दैन । यसरी पुँजीपति र मजदुरबिच मतभेद हुन्छ । मतभेद चर्केरै या विचार नमिलेरै सङ्घर्ष हुन्छ । यो सङ्घर्ष चर्कदै गाउँ–गाउँ र बस्ती बस्तीमा पुग्छ या हरेक उद्योग र कारखानामा माग पूरा गर्न र गराउन आन्दोलन हुन्छ । सहमति नभएमा अन्ततः सङ्घर्ष चर्केर आन्दोलन अघि बढ्छ र मजदुरवर्गले विजय प्राप्त गर्छ । सङ्घर्ष सफल भएपछि मजदुरवर्गले पुँजीपतिवर्गमाथि शासन गर्छ ।
यसको आधारमा हरेक वस्तु, प्रकृति र सामाजिक जीवनका हरेक क्षेत्रमा विरोधीहरूबिच एकता र सङ्घर्ष हुन्छ । हरेक विरोधी पक्षहरू आ–आफ्ना अस्तित्वको लागि सङ्घर्ष मात्र होइन एक आपसमा मिल्छन् पनि । शोषक नभई शोषित हुन्न, शोषित नभई शोषक हुन्न । राम्रो – नराम्रो, नयाँ – पुरानो, सत्य – असत्य, न्याय – अन्याय भइहाल्छ । यसको अन्तर सङ्घर्ष पुँजीपति र शोषित पीडित जनताबिच मात्र होइन पुँजीपति र पुँजीपति तथा कम्युनिस्ट र कम्युनिस्ट पार्टीबिच पनि हुन्छ; भइरहेको छ ।
एकता र सङ्घर्षको कुरा एकै साथ सँगसँगै हुन्छ । कहिले एकता र कहिले सङ्घर्षको रूपमा हुँदैन । तर, त्यो एकता सधैँ हुन्छ भन्ने होइन । त्यो एकता क्षणिक या अस्थायी पनि हुन्छ । आखिर यी दुई पक्षको सङ्घर्षमा पुरानो पक्षमाथि नयाँ र खराब पक्षमाथि असल पक्षको विजय हुन्छ । सामन्त, पुँजीपति, प्रतिक्रियावादी, साम्राज्यवादी, उपनिवेशवादी या शोषकहरूको हारको अर्थ शोषित पीडित जनता या श्रमजीवीवर्गको विजय पनि हो । त्यस्तै दास र मालिकबिच पनि सङ्घर्ष हुन्छ । जमिनदार, सामन्त र किसानबिच पनि सङ्घर्ष हुन्छ । तर पनि जमिनदार र किसानबिच त्यतिकै सम्बन्ध रहेको हुन्छ । वर्गीय समाजमा वर्गसङ्घर्ष हुन्छ त्यसै भनिएको होइन । वर्गसङ्घर्ष हुँदा एक पक्ष अवश्य विजय भएको हुन्छ । कुन पक्ष विजय हुन्छ भन्ने कुरा त्यो देशका जनताको एकता, सङ्घर्ष, राजनीतिक चेतना र सङ्गठित शक्तिमा भर पर्छ ।
नेपालमा कम्युनिस्ट पार्टी धेरै छन् । कम्युनिस्ट पार्टी कहिले छुटेको त कहिले जुटेको पाइएको छ । देशमा वर्गसङ्घर्षको विचार आत्मसात गर्ने र छोड्ने कम्युनिस्ट पार्टी छ । देशमा पुँजीवादी व्यवस्थाको सरकारमा जाने र नजाने कम्युनिस्ट पार्टी छन् । देशमा निर्वाचनमा जित्नको लागि सिद्धान्त र विचार बन्धक राखेर राजावादी, पुँजीवादी र क्षेत्रीयवादी दलसँग मिल्ने र नमिल्ने कम्युनिस्ट पार्टी छ । देशमा पुँजीवादी व्यवस्थामा रहेरै आमूल परिवर्तन गर्न सक्ने र वर्गसङ्घर्षले मात्र परिवर्तन गर्न सक्ने मतका कम्युनिस्ट पार्टीहरू छन् । यसरी कम्युनिस्ट पार्टीभित्र पनि अन्तरसङ्घर्ष छ । उनीहरू वर्ग शत्रुविरुद्ध लड्न या मुख्य शत्रुविरुद्ध लड्न स–साना शत्रुहरूबिच मिल्न पनि सक्छन् । उनीहरू साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवादविरुद्ध लड्न, कार्यगत एकता गर्न सक्छन् । समय परिस्थितिले आमूल परिवर्तनको निम्ति कम्युनिस्टहरू एक ठाउँमा बस्नुपर्ने दिन पनि आउने छ । कम्युनिस्ट पार्टीको एकता सिद्धान्त र विचारको आधारमा हुन्छ । माक्र्सले भनेका थिए; ‘सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *