भर्खरै :

६३ वर्षमा नेपाली नागरिकता पाएकी आइतीमाया चेपाङ

– राजकुमार श्रेष्ठ
नेपालको संविधानअनुसार १६ वर्ष पूरा भएका हरेक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउँछ । नेपाली नागरिकले देश र समाजको विषयमा निर्णायक मत जाहेर गर्नसक्दछ । राज्यको काम, कर्तव्य र अधिकारको विषयसँग ऊ प्रत्यक्ष सम्बन्ध राख्दछ । राज्यले देशको कुना, कन्दरा र दूरदराजमा रहेका प्रत्येक नेपालीको पहिचान गरी नागरिकता दिलाउनुपर्दछ । योग्य नागरिक नागरिकता प्रमाणपत्रबाट बञ्चित हुनु भनेको राज्यको सेवा सुविधाबाट विमुख हुनु हो । राज्य यसमा गम्भीर हुनुपर्दछ ।
गाउँ ठाउँमा अझै पनि नागरिकता नपाएका वास्तविक नेपालीहरू भेट्न सक्छौँ । आर्थिक, सामाजिक, भौगोलिकरूपले पछि परेका ती क्षेत्रका मानिसहरू नागरिकता पाउनबाट बञ्चित छन् । उनीहरू नागरिकताको महत्र्वबारे अनझिज्ञ छन् । उनीहरू नागरिकता पाउन प्रशासनमा पुग्न सकिरहेका हुँदैनन् । गरीबी, चेतना स्तर कमी, अशिक्षा त्यसका केही कारणहरू हुन् । राज्यले यसमा प्रभावकारी भूमिका निभाउन नसेकेको देखिन्छ । जन्मको आधारमा नागरिकता दिने व्यवस्था नागरिकता विधेयक २०६३ भएअनुसार तराईबाट भने चालीस लाखभन्दा बढी भारतीयले नेपाली नागरिकता लिइसकेको र देशकै सार्वभौमिकतामाथि खलल पुग्न गएको कुरा प्रकाशमा आइसकेको छ । तीन जना साक्षीको भरमा सिनेमाको टिकट बाँडेजस्तै सरकारले भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको देखियो । अहिले फेरि जन्मका आधारमा नागरिकता पाएकाका सन्तानले वंशजको नागरिकता दिने प्रावधानका साथ संसदमा नागरिकता विधेयक आइरहेको अवस्था छ । तर, पुस्तौंदेखि एकै ठाउँमा बस्दै, दुःख गरेर, माटोमा पसिना चुहाएर, नेपाली हौँ भनेर जीवन बिताउँदै आएका गरिब नेपालीहरूले नागरिकता पाउन सकिरहेका छैनन् ।
प्रतिनिधि पात्रको रूपमा ६३ वर्षको उमेरमा रत्ननगर नगरपालिका–१०, जिरौना निवासी आइतीमाया चेपाङले दुई वर्षअघि नेपाली नागरिकता पाउनुभएको हो । छोरा मोहनबहादुर चेपाङको प्रयासमा उहाँले नेपाली नागरिकता पाउनुभएको हो । नागरिकता पाउन धेरै झन्झट र दुःख खेप्न परेको उहाँको गुनासो छ । श्रीमान् जिउँदै छँदा नै जिरौनामा नागरिकता बनाउने टोली आए पनि आफ्नो काम विशेषले उहाँले नागरिकता बनाउन पाउनुभएन । छोरा क्याम्पस पढ्न थालेपछि नागरिकता बनाउन वडामा सिफारिस लिन जाँदा सिफारिस पाउनुभएन । त्यसपछि नागरिकता पाउनको लागि जिल्ला प्रशासन प्रमुखलाई पनि छोराले भेटेर प्रयास गर्दा नेपाली नागरिकता पाउन सक्नुभएन । पटकपटकको प्रयासपछि बल्ल २०७३ मा जिरौनाकै स्थानीयहरूको साक्षीमा उहाँले वडा कार्यालयबाट नागरिकता पाउनको लागि सिफारिस पाउनुभयो ।
उहाँले आफ्नो नागरिकता बेलैमा पाउनुभएको भए आजभन्दा २२ वर्ष अघि नै राज्यबाट सेवा सुविधा पाउनुहुन्थ्यो । दुःख पर्दाको समयमा पक्कै पनि केही राहत मिल्ने थियो । यति लामो समय उहाँ राज्यबाट पाउने सेवाबाट वञ्चित हुनुप¥यो । आज पनि आइतीमाया चेपाङजस्ता धेरै नेपालीहरू यस्ता दुःख पीडा भोग्दै होलान् । उहाँ बस्नुभएको सुकुमवासी टोलमा झण्डै २ सय घर छन् । २५ वर्षभन्दा अघिदेखि त्यस ठाउँमा मानिसहरू बस्दै आएका हुन् । नागरिकता नपाएका पाका व्यक्तिहरू त्यस टोलमा अझै पनि हुनसक्ने उहाँको भनाइ छ ।
आइतीमाया चेपाङ आजभोलि खुसी हुनहुन्छ । एक छोरीकी आमा, उहाँले नाति–नातिनादेखि पनातिसम्म हुर्काउनु र बढाउनुभयो । अहिले पनि घरमा सकेको काम र नाति–नातिनाका छोराछोरी खेलाउनमै व्यस्त देखिनुहुन्छ । आफ्नो खर्चको लागि एकल महिलाको भत्ता बुझ्नुहुन्छ । नातिहरू हुर्के बढेको तथा एउटी नातिनी बुहारी पनि सँगै पाउँदा उहाँ अहिले विगतका दुःख बिर्सनुहुन्छ ।
उहाँको जन्म मकवानपुर जिल्लाको मनहरीस्थित चैनपुरमा भएको हो । सानैमा उहाँकी आमा बित्नुभयो । मावलीको आडमा हुर्के बढेकी चेपाङलाई १६ वर्षमै चितवन जिल्लाको पर्सास्थित गैँडा गाउँमा बिहे भयो । दुई वर्ष नबित्दै उहाँको श्रीमान् बित्नुभयो । काखकी छोरी लिई ससुराको सेवामा केही वर्ष उहाँ जेनतेन गरी बस्नुभयो । सासू–ससुराको हेलाहोचो खप्न गा¥हो भएपछि उहाँको दोस्रो बिहे धादिङ घर भई चितवनमा काम गर्न बस्नुभएका आइतलाल चेपाङसँग हुन पुग्यो । बिहे त भयो तर सौता झण्डै एक वर्ष धादिङकै धुषास्थित दाङबाङमा बस्नुभयो । सौता दुई वर्षको छोरो छोडेर अर्कैसँग विवाह गरी जानुभयो । पछि उहाँ श्रीमान् र बालक छोरासँगै फेरि चितवनै झर्नुभयो । रोजगारीको शिलशिलामा चितवन झर्नुभएका श्रीमान्सँग दस वर्षसम्म रत्ननगरस्थित जिरौनामा बिताउनुभयो । बालक छोरा काखमा च्यापेर गिटी–बालुवा चाल्ने तथा जङ्गलमा घाँस दाउरा लिन जानेलगायत दुःख गरेर दिनहरू बित्दै थियो । अचानक श्रीमान् घाँटीको क्यान्सरले थलिनु भएपछि फेरि सकसका दिनहरू सुरु भयो । सकेको काम गरेर, सापटी र ऋण लिएर औषधि उपचार गर्नु भए पनि स्वास्थ्यमा सुधार नआएपछि श्रीमान्लाई लिएर उहाँ धादिङ गाउँनै फर्कनुभयो । केही दिनपछि श्रीमान्को मृत्यु भयो ।
श्रीमान्को काजकिरिया सकाएर उहाँ फेरि चितवनै फर्कनुभयो । आफ्नो छोरीको मगर जातका केटासँग बिहे भइसकेको थियो । रत्ननगर नगरपालिकास्थित टिकौली सुकुमवासी टोलमा छोरी ज्वाइँको घर थियो । कक्षा पाँच पढिसकेको छोरालाई भरतपुरस्थित भण्डारी साहुको घरमा सकेको काम सघाउन र पढ्न भनी राख्नुभयो । आफू भने छोरी ज्वाइँको आश्रयमा बस्न थाल्नुभयो । जङ्गल जाने, दाउरा खोज्ने, घाँस काट्ने र स्याउला बटुल्नेलगायत सकेको काम गर्नुभयो । केही वर्षपछि ३ वर्षको कान्छो छोरोसहित दुई छोरा र एक छोरीलाई छोडेर छोरी अर्कैसँग विवाह गरिन् । छोरीको आडभरोसामा बसेका छोरी नै घर छाडी अर्कैसँग गएपछि उहाँलाई पीडामाथि पीडा थपियो । नौ महिना कोखमा राखेर पाएको छोरीले गल्ति गरे पनि कलिला नाति–नातिनाको मायाले उहाँले त्यो घर छोड्न सक्नुभएन ।
ती कलिला नाति–नातिनालाई नै स्याहार सुसार गरेर हुर्काउन र बढाउन लाग्नुभयो । ज्वाइँ कमाउन जानुहुन्थ्यो भने उहाँ घरभित्रको सम्पूर्ण कामहरू सम्हाल्नुहुन्थ्यो । नाति–नातिनालाई खाना, खाजा बनाउने, खुवाउने, स्कूल पठाउने, सरसफाइ गरिदिनेमा नै दिन बित्न थाल्यो । त्यतिबेला जस्तोसुकै गा¥हो अप्ठेरो परे पनि भविष्यमा सुखको दिन आउने आशामा उहाँ जीवनमा कहिल्यै निराश हुनुभएन । घरमा बाख्रा, भैंसीहरू पाल्दै आउनुभएका उहाँ दैनिक रूपमा घाँस दाउराको लागि जङ्गल जाने गर्नुहुन्छ ।
अहिले जेठी नातिनीको बिहे भइसकेको छ । तिनका दुई छोराछोरी छन् । जेठो नातिको पनि बिहे भइसकेको छ । उनको पनि एक छोरा छ । जेठो नाति अर्काको ट्याक्टर चलाउँछन् । कान्छो नाति १२ कक्षा पढ्दै छ । अहिले आइतीमायाको घरको काममा बुहारी नातिनी सघाउँछिन् । उहाँ पनाति खेलाउन र हुर्काउनमा व्यस्त हुनुहुन्छ ।
नागरिकता बनेपछि उहाँले २०७४ सालको स्थानीय तथा प्रदेश र केन्द्रको निर्वाचनमा गरी दुईपटक भोट हाल्न पाउनुभयो । चुनावको बेला सत्तामा जाने दलका नेता–कार्यकर्ताहरूले भोजभतेर खुवाए । पैसा बाँडे । तर, उहाँ त्यस्तोमा फस्नुभएन । सानोतिनो लोभलालचमा फस्न नहुने उहाँको विचार छ । नयाँ पुस्तालाई पहिलेजस्तो दुःख नभएको उहाँको बुझाइ छ । राजनीतिको नाममा जालीफटाहाहरू नै समाजमा चलमलाएकोे देख्दा उहाँलाई चिन्ता लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *