भर्खरै :

समाजवादी गणतन्त्रको पो पक्षपोषण गर्ने

समाजवादउन्मुख देश बनाउन असफल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल देशमा गणतन्त्र उल्टाउने षड्यन्त्र भइरहेको भन्दै गर्जन थालेका छन् । गणतन्त्र कसले उल्टाउन खोजेको हो उनले प्रस्ट पारेनन् । राजावादी या राजतन्त्रवादीहरू गणतन्त्रको विरोध गर्छन् । उनीहरू फेरि राजतन्त्र व्यँुताउन लाग्नु अस्वाभाविक होइन । देशमा गणतन्त्र स्थापना भए पनि राजतन्त्र पूर्णतः समाप्त भएको छैन । सर्प मरे पनि पुच्छर चलिरहन्छ भनेझैँ देशमा राजतन्त्रवादीहरूले बिस्तारै टाउको उठाउन थालेका छन् । पूर्वराजा ज्ञानेन्द्र आफै धर्म कर्म र पूजाआजाको नाउँ जोडेर आफ्ना पक्षधर मानिसहरूसँग भेटघाट गर्दै छन् । धर्मात्मा, धर्माधिकारी, सन्त, महन्तजस्ता व्यक्तिहरूसँग भिज्दै छन् । वास्तवमा यो पूर्वराजाले अप्रत्यक्ष रुपमा राजनीति गरिरहेको हो । यो उनको आफ्नो अधिकारको कुरा हो । तर नेपालमा राजतन्त्र फर्कने कुरा सपनाझैँ हुन्छ ।
पूर्वराजा र राजावादीहरूकै राजनीतिक गतिविधिको आधारमा नेकपा अध्यक्ष दाहालले गणतन्त्र उल्टाउन खोजिरहेको बताएको हो भने त्यो दृष्टिदोष हुनेछ । राजावादीहरू चलबलाउन थाले भनेर अध्यक्ष दाहालले चिन्ता व्यक्त गर्ने कि कम्युनिष्टको सिद्धान्त र विचारलाई एकएक पाइला गर्दै लागू गर्दै जाने हो ? गणतन्त्रलाई संस्थागत गर्दै कम्युनिष्टको सिद्धान्त र विचारलाई कार्यान्वयन गर्दै अघि बढेको भए नेकपाको सरकारले चिन्ता लिनुपर्ने होइन । गणतन्त्र उल्टाउने काम भइरहेको छ भनेर चिन्ता व्यक्त गर्नुपर्ने होइन । अन्य दलहरू गणतन्त्र पक्षधर नै हुन् । देशको जिम्मेवारी बोकेका सत्तारुढ दलका अध्यक्ष त्यत्तिकै बर्बराएर हुन्छ ? राजावादीहरूले गणतन्त्रको विरोध गरेकोमा के आश्चर्य ? नेकपाले भन्ने दलले नेकपाकै सिद्धान्त र विचार तोडमरोड गरेर पुँजीवादी राजनीति गरिरहेकोमा पो आश्चर्य ! कम्युनिष्ट पार्टी भनिने दलको सरकारले समाजवादी गणतन्त्र छोडेर पुँजीवादी गणतन्त्रको पक्षपोषण गरिरहेकोमा पो आश्चर्य !

Leave a Reply

Your email address will not be published. Required fields are marked *