भर्खरै :

रानीपोखरी पुनःनिर्माणको एक महिना

कृष्णप्रसाद दुमरु
नेपाल संवत् ७९० मा कान्तिपुरका राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्ल दिवङ्गत हुँदाको पीडा सहन नसकी विलाप गरिरहेकी महारानीलाई सान्त्वना दिन काठमाडौंको रानीपोखरी निर्माण गर्न लगाएको इतिहास हामी पढ्न र सुन्न पाउँछौँ । तद्अनुसार रानीपोखरी आजभन्दा ३४९ वर्ष अगाडि बनेको थियो । यस कालखण्डमा रानीपोखरीले अनेक प्राकृतिक विपत्ति र विनाशलीला खेपिसक्यो । मर्मतसम्भार, पुनःनिर्माण र जीर्णोद्धार पनि भयो । पोखरीको बीच खण्डमा ग्रन्थकुट (शिखर) शैलीमा बनेको मन्दिरको ठाउँमा विदेशी प्रभावमा १९९० सालको भूकम्पपछि जुद्ध शमशेरले गुम्बज (रोम) शैलीमा मन्दिर पुनःनिर्माण गराउँदा विरोधमा कसैले बोलेनन् । त्यसले तत्कालीन सामन्ती शासनको चाप र छाप वा आफ्नो कला र संस्कृतिप्रति जनता आफैं सचेत, जागरूक र शिक्षित नभएको तत्कालीन अवस्था झल्काउँछ । तर, समयको गतिशीलतालाई कसैले रोक्न सक्दैन ।
विक्रम संवत् २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पकै कारणले मात्र क्षतविक्षत भएको थिएन रानीपोखरी । त्यसअघि नै जीर्ण बनिसकेको रानीपोखरीेको ऐतिहासिकताको आधारमा पुरातात्विक उत्खनन् विधिद्वारा जीर्णोद्धार वा पुनःनिर्माण भइसक्नुपर्ने हो । तर, भूकम्पपछि पनि आधुनिक निर्माणको नाममा पुरानो, आफ्नोपन झल्केको संरचनालाई नष्ट बनाउँदै कंक्रिटको संरचना बनाउन खोज्दा रानीपोखरी पुनःनिर्माण लामो समय विवादमा तानियो । एक पक्षले ताला लगाउने र अर्को पक्षले ताला फोड्ने गरेका समाचारहरु प्रकाशमा आए । यसरी साँढेको जुधाइमा बाछाको मिचाइ भनेझँै रानीपोखरीका माछालाई तीन वर्ष अगावै अन्यत्र लगियो । पानी छचल्किनुपर्ने पोखरी घाँसे मैदान र झारमा परिणत भयो । युवाहरूले विवादरहित ढङ्गले पुरानै शैली र स्वरुपमा रानीपोखरी पुनःनिर्माण गर्न ध्यानाकर्षण गरे । यसरी काठमाडौं महानगरपालिकाले गर्दै आएको रानीपोखरी पुनःनिर्माण कार्य एकपछि अर्को गर्दै विवादमा फस्यो । २०७५ माघ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक अन्य संरचनाको पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दियो ।
समस्याले जेलिएर जटिल बनेको कुुनै पनि विषयवस्तु वा कार्य पुनः थालनी गर्न समस्याको चुरो पत्ता लगाउनु पहिलो कदम हुने गर्छ । यही मर्मलाई बुझी प्राधिकरणबाट रानीपोखरी पुनःनिर्माणमा देखापरेका समस्या र समाधानका उपायको सोधखोज भयो । लामो समयको सोधखोज र वस्तुगत आवश्यकताका आधारमा सांस्कृतिक र सम्पदा संरक्षणको दृष्टिले उदाहरणीय बनेको भक्तपुर नगरपालिकाले गर्दै आइरहेको पुनःनिर्माण विधिबाट प्रभावित भई पुनःनिर्माण प्राधिकरणका प्रमुख आयुक्त सुशीलचन्द्र ज्ञवालीको नेतृत्वमा आएको टोलीले फागुन ११ गते भक्तपुरको भाजुपोखरी, सिद्धपोखरीलगायत अन्य पुरातात्विक क्षेत्रको अवलोकन भ्रमण ग¥यो । टोलीले काठमाडौँ रानीपोखरी पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाबाट प्राविधिक सहयोगको प्रस्ताव ग¥यो । विकास निर्माणको निर्णय प्रक्रियामा स्थानीय उपभोक्ताको पहुँचका लागि ठेक्कामा भन्दा उपभोक्ता समितिमार्फत अगाडि बढ्नु उपयुक्त हुने समझदारीकै आधारमा भक्तपुर नपा, भाजुपोखरी उपभोक्ता समितिको नेतृत्वमा दैनिक करीब ५० जना दक्ष महिला दिदीबहिनीहरूको समूहले फागुन २० गतेदेखि रानीपोखरी पुनःनिर्माण उपभोक्ता समितिलाई प्राविधिक सहयोग गर्दै आएको छ ।
रानीपोखरी पुनःनिर्माण कार्य पुनः सुचारु गर्नेबारे छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विशेष आमन्त्रण गरेको बैठकमा भाग लिन भाजुपोखरी उपभोक्ता समितिको तर्फबाट म अध्यक्ष कृष्णप्रसाद दुमरु र कोषाध्यक्ष रञ्जन बमनु प्राधिकरण कार्यालय सिंहदरबारमा फागुन १९ गते बिहान ११ः३० बजे पुग्यौँ । बैठकमा भक्तपुरका प्रतिनिधिको व्यग्र्र प्रतिक्षा भइरहेको थियो । सामान्य परिचयपछि बैठक प्रारम्भ भयो । सम्पदा सबैको साझा सम्पत्ति भएको हुँदा भक्तपुरसँग रहेको ज्ञान, विज्ञान र काम गर्ने दक्षता रानीपोखरी पुनःनिर्माणमा उपयोग गर्ने भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको भनाइलाई बैठकमा स्मरण गरें । पुनःनिर्माण प्राधिकरणको मनसायअनुरुप काठमाडौँ महानगरपालिकाले अजयरत्न बज्राचार्यको अध्यक्षतामा उपभोक्ता समिति गठन ग¥यो । रानीपोखरीको पुनःनिर्माण स्थानीय जनताको सहभागिता रहेको उपभोक्ता समितिमार्फत हुनु उत्साहप्रद थियो ।
विवादरहित समझदारीको आधारमा काठमाडौँको रानीपोखरी पुनःनिर्माण पुनः सुरू गर्ने कार्य भक्तपुर नगरपालिकाका प्राविधिक सहयोगमा थालनी हुँदा सञ्चारकर्मीहरूको ओइरो लाग्यो । सञ्चारमाध्यममार्फत सर्वसाधारण जनमानससमक्ष सकारात्मक समाचार सम्प्रेषण हुँदा रानीपोखरी पुनःनिर्माण कार्य पुनः ऐतिहासिक र सांस्कृतिक तरिकाले ब्ँयुतिने सबैमा आशा पलायो ।
काम सुरु गर्न चाहिने सामान्य औजारहरू सावेल, पञ्जा, कोदालो, गाडाजस्ता सामग्रीसमेत हामी आफैंले बन्दोबस्त मिलाई अघि बढिरहनुपर्ने सकसपूर्ण अवस्थाले कतै कला, संस्कृति, सम्पदा जोगाउनेतर्फको हाम्रो स्वच्छ सहयोगलाई कसैले अन्य दृष्टिले हेर्ने त होइन ? भन्ने चिन्ता सहभागी सबैमा छ । काम गराइको क्रममा तिर्खा लाग्दा पिउने पानीको व्यवस्थासम्म गरिएको छैन । समय कसैका लागि पनि सजिलो छैन । प्राधिकरणमा बैठक हुँदा भोलि नै हुने भनी आश्वासन दिए पनि काम सुरु भएको मितिले एक महिना नाघिसक्दा पनि हुन सकेको छैन । बल्ल बजेटको चाँजोपाँजो मिल्दै गरेको जानकारी प्राप्त भयो । टेबुलमा भएका निर्णय वा समझदारी निश्चित समयसीमामा व्यवहारमा कार्यान्वयन नहुँदा उपभोक्ता समितिले आफू सुरक्षित हुन खोज्नु नौलो कुरा भएन । समय नबित्दै सामूहिक हितका लागि छलफल विधिद्वारा सही निर्णय लिई डटेर अगाडि बढ्न सके काठमाडौंको रानीपोखरी पुनःनिर्माण कार्यले गति पाउनेछ । ढिलो चाँडो अपेक्षाकृत सफलता हासिल गर्न सकिने सकारात्मक भावनाका साथ रानीपोखरीसँग जोडिएका वडाका जनप्रतिनिधिहरूमा आफूहरूले गठन गरेको उपभोक्ता समितिकै कारण पुनःनिर्माण कार्यमा ढिलासुस्ती हुनेप्रति चिन्ता देखिनु स्वाभाविक हो । विशेषतः वडा नं. २८ का स्थानीय युवाहरूको रानीपोखरीमा दिनहुँ जस्तो एकछिन भए पनि कार्यस्थलमा हुने जमघट र संलग्नता उत्साहप्रद छ । उहाँहरूमा पुनःनिर्माणमा सामूहिक चासो र लगाव देखियो । यो प्रशंसनीय पक्ष हो ।
हामीले आफ्नो उपस्थितिलाई उपलब्धिमूलक बनाउन हरसम्भव प्रयास गरिरहेका छौँ । झारैझारले छोपिएको रानीपोखरीको सफा गर्ने कार्य अहिले पूरा भएको छ । पुनःनिर्माणको लागि पूर्वतयारी गरेको नक्साको डिजाइनमा केही भाग सुधार्नुपर्ने आवश्यकताबोध गराउन सफल भएका छौँ । भक्तपुरसँग रहेको कला, सीप र श्रम नयाँ पुस्तामा हस्तान्तरण कसरी सम्भव भयो ? अनि शोधकर्ताहरू सम्पर्कमा आउँदा ‘एक घर एक स्नातक’ र ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने भक्तपुरको लक्ष्य प्राप्ति धेरै टाढा नरहेको महसुस गरायो ।
(लेखक काठमाडाँै रानीपोखरी पुनःनिर्माणमा संलग्न भक्तपुरको टोलीसँग सम्बन्धित हुुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *