भर्खरै :

गोएबल्सको प्रचारशैली र नेपाली शासकको प्रचारमुखी प्रवृत्ति

– अजित पौडेल
जर्मनीका तानाशाही शासक हिटलरका प्रचार मन्त्री थिए– गोएबल्स । उनी भन्थे–झूट सयपटक दोहो¥याएपछि त्यो सत्य हुन्छ । यसलाई गोएबल्स प्रचारशैली भनियो । सत्ता चाहे त्यो राजनीतिक होस् वा सांस्कृतिक, उसले आफ्नो अस्तित्व रक्षाको लागि अनेक किसिमका ‘सत्य’ को आविष्कार गर्छ । त्यस्ता आविष्कार कार्यको लागि सत्ताले आफ्नो किसिमका ‘बुद्धिजीवी’ निर्माण गर्छ । अनि उनीहरूले तयार गरेका ‘सत्य’ लाई सत्ताले नै बनाएका सञ्चारका थरीथरी माध्यममार्फत प्रचार गर्ने गर्छ । उनीहरूको प्रचार यति आक्रामक र चिल्लो हुन्छ, सर्वसाधारण जनताले के सत्य र के झूट भन्ने कुरा पहिल्याउन निकै कठीन हुन्छ अथवा पहिल्याउन निकै समय लाग्छ । सञ्चारमाध्यमले प्रकाशन गर्ने तिनै ‘सत्य’ का आधारमा मानिसहरूले आ–आफ्ना धारणा बनाउने गर्छन् । अमेरिकी प्राध्यापक नोम चोम्स्कीले यसलाई ‘म्यानुफ्याक्चरिङ अफ कन्सेन्ट’ अथवा ‘अभिमतको रचना’ भने । कहीँ उनले यसलाई ‘इन्जिनियरिङ अफ कन्सेन्ट’ पनि भनेका छन् । वास्तवमा गोएबल्सको प्रचारशैली र चोम्स्कीले सङ्केत गरेका सञ्चारमाध्यमको भूमिका एउटै वस्तुका फरक–फरक व्याख्यामात्र हुन् । त्यही भएर सञ्चारमाध्यमलाई कहिलेकाहीं त प्रोपगान्डा मेसिन अर्थात् प्रचार गर्ने औजारको रुपमा चर्चा गरिन्छ । सञ्चारमाध्यमले कहिलेकाहीँ स्वतन्त्र र निष्पक्षताको कुरा गर्छन् । त्यत्तिबेला हामीले प्रश्न गर्नुपर्ने हुन्छ, कति निष्पक्ष वा स्वतन्त्र ? वस्तुतः कुनै पनि सञ्चारमाध्यम निष्पक्ष वा स्वतन्त्र हुनसक्दैन । सञ्चारमाध्यम र सूचना आफैंमा राजनीतिक हुने गर्छ ।
सत्ताले आफ्ना नराम्रा कुरा जति लुकाउन खोजेको हुन्छ, आफूले गरेका केही राम्रा कुराको निकै प्रचारप्रसार गर्ने गर्दछ । कतिबेला त त्यस्तो प्रचारबाजी अतिरञ्जनाको तहसम्म समेत पुग्ने गर्छ । जनताको आँखामा आफूलाई राम्रो देखाउन प्रचारमाध्यमको भरपूर प्रयोग गर्दै तिनले गरेका साना कामको पनि ठूलो प्रचारको मसला बनाउँछन् ।
बारा र पर्सा जिल्लामा आएको हावाहुरीको घटनाले स्थानीय जनताको विचल्ली भयो । केही मिनेटको हावाहुरीले मच्चाएको विनाशका कहालीलाग्दा दृश्य देखेर देश नै दुःखी भयो । ठाउँ–ठाउँबाट सहायताको घोषणा भयो । प्रधानमन्त्रीलगायत अधिकांश मन्त्री र दलका नेताहरू त्यहाँ पुगे । सहयोगको लागि वाचा पनि गरे । भीआईपीको भ्रमणले व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई धौधौ भयो । तर, हावाहुरी पीडितले भने कुनै राहतको महसुस गर्न पाएनन् । दिनभरि भीआईपीको हुल आए–गए, तर राति पीडितको आकाश ढाक्ने कोही थिएनन् । अचानक आएको हावाहुरीले ढालेको घर र छरिएको परिवारका लागि आवश्यक सहयोग गर्नेतिर भन्दा पानीमाथिको ओभानो बन्ने प्रवृत्तिले बढी ठाउँ पायो । राज्यका जिम्मेवारी पदाधिकारीबाटै यस्तो प्रवृत्ति देखाएपछि उनका पक्षधरले त्यसको नक्कल गर्नु स्वाभाविक हो ।
प्रचारमा भन्दा पनि राज्यले कसैको भर नपरी जनताका सबै समस्या समाधानको लागि अग्रसरता देखाउनुपथ्र्यो । तर, राज्यका जिम्मेवारी मन्त्रीहरू आफै अस्पतालमा उपचार गरिरहेका बिरामीको उपचारमा अवरोध पुग्ने गरी दौडादौडमात्र गरे किनभने उनीहरूले जनतालाई आफ्नो ‘सदाशयता’ सञ्चारमाध्यममार्फत देखाउनु थियो । आफ्नो दायित्व पूरा नगरेको वास्तविकता छोप्न उनीहरूले सञ्चारमाध्यममार्फत अर्को झूटको प्रचार गरे । उनीहरूका प्रचारमुखी चरित्र नजानेका मानिसले त्यसलाई उनीहरूको सदाशयता र जनताप्रतिको जिम्मेवारीबोधको रुपमा लिए । तर, वास्तविकता उनीहरू आफ्नो अकर्मण्यता छोप्न खोज्दै थिए । जबनताको आवश्यकता उपचार, अन्नपानी र छाना थियो । प्रम हेलिकप्टरबाट हवाई अवलोकन गरेर तत्काल जनतालाई पु¥याउनुपर्ने राहत दिन नसकेको सत्ताको कमजोरी लुकाउन खोजिरहेका थिए । यो आफैंमा गोएबल्सको सिद्धान्तको फरक रुप हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *