भर्खरै :

२१ औं शताब्दीमा बुद्धको शिक्षा किन ?

भिक्षु अश्वघोष
यस विषयतिर जानुभन्दा पहिले बुद्ध को हुन्, उहाँको विचारधारा के हो त्यसको बारे जानकारी र ज्ञान हुनु आवश्यक छ ।
बुद्धको व्यक्तित्व
व्यक्तित्व भन्दाखेरि मुख राम्रो, फूर्तिलो, राम्रो कुरा बोल्ने विद्वान र पैसा भएको व्यक्तिलाई मान्ने चलन आजकाल देखिन्छ । यहाँ बुद्धको व्यक्तित्वबारे भन्न लागेको यस्तो कुरोलाई लिएर होइन । गौतम बुद्धसँग भएको केही विशेष गुणको विषयमा लेख्न लागेको छु, जुन २१ औं शताब्दीको लागि अध्ययन र मननयोग्य छ जस्तो लाग्छ ।
१) बुद्ध दार्शनिक होइन, प्रत्यक्षदर्शी अनुभवी हुनुहुन्छ ।
दार्शनिकहरूले धेरै टाढा र अदृश्य विषयहरूसम्बन्धी कल्पना गरिरहन्छन् जस्तैः– यो संसार कहिले सृष्टि भयो होला र ¤ यसै गरी आत्मा, परमात्मा, पूर्वजन्म र पुनःजन्मबारे उनीहरू कल्पना गरिरहन्छन् । सुनेको कुरामा विश्वास गर्छन्, अनुभव गरेर हेर्नुपर्ने हुँदैनन् । अनुभवमा विश्वास गर्नेले आँखाले नदेखिकन अनुभव नगरेसम्म विश्वास गर्दैन । उसले आँखाले देख्ने र अनुभव गर्ने गर्छ । विचारमात्र गर्नेले प्रयास गर्दैन, देख्दा पनि देख्दैन । महामानव बुद्ध दर्शनमा अल्झिरहनु मनपराउनुहुन्न । दर्शनमा नअल्झिनेले सत्य देख्छ । दुःखबाट मुक्त हुन्छ । दर्शनमा अल्झेर कल्पना गरिरहँदा पागल हुनसक्छ भन्ने बुद्धको विचार हो ।
२) बुद्ध परम्परावादी होइन, मौलिकरूपमा विचारक हुन्
पहिलेदेखि आमा–बाबु, गुरु र जेठापाकाहरूको कुरा सुन्ने र नेताहरूको अनुकरण गर्ने मानिसको बानी र संस्कार हो । तिनीहरूले भनेको मानेन भने आचार र अनुशासनहीन तथा पाप सम्झने तर सिद्धार्थ गौतमको बालक उमेरदेखि बुद्ध बनिसकेपछि पर्यन्तको जीवनका घटनाहरू अध्ययन गर्दा बुद्ध परम्परावादी होइन भन्ने देखिन्छ अर्थात् बुद्ध परम्परा र रुढीवादीविरोधी हुनुहुन्थ्यो भन्ने देखिन्छ । गौतम बुद्धले नयाँ संस्कृति र नयाँ विचारधारा ल्याउनुभयो ।
बुद्धकालीन समाज ब्राह्मणवादको अर्थात् वैदिक संस्कृतिको छत्रछायाँमा परेको थियो । त्यस्तो बेला बुद्ध जन्मनुभयो । त्यसबेला बुद्धले ठूलो सामाजिक र सांस्कृतिक क्रान्ति गर्नुभयो तर क्रान्तिभन्दा फ्रान्स र रुस आदि देशमा जस्तो रगतको खोला बग्ने क्रान्ति होइन । मानिसको हृदय र विचार परिवर्तन अनि स्वतन्त्र चिन्तनको क्रान्ति । अर्को किसिमले भनूँ भने समाजमा रहेको रुढीवादीलाई परिवर्तन ल्याउने क्रान्ति । बुद्धको सामाजिक र सांस्कृतिक क्रान्ति त्यो बेला त्यतिको प्रभावकारी नभए पनि उहाँको परिनिर्वाणको २ सय १८ वर्षपछिका राजा अशोक गौतम बुद्धको सांस्कृतिक क्रान्तिकारी विचारधारा र चिन्तनदेखि अति प्रभावित भए । राजा अशोकले दरबारमुखी हुन छोडी प्रजामुखी भएर बहुजनहिताय, बहुजनसुखाय अभियान सफल पारे । बुद्धकालीन कोशन र बिम्बिसार आदि राजाहरूले बुद्धलाई चिन्न सकेनन् र बुद्धको सांस्कृतिक क्रान्तिलाई अँगाल्न सकेनन् ।
अब बुद्ध परम्परावादी होइन भन्ने कुरा बुझ्नलाई एक दुई वटा घटना स्मरण गरौँ । साधारण त्यागी हुन्छ भन्नेले विवाह गर्दैन तर बुद्ध हुने सिद्धार्थ कुमारले विवाह गरेर एउटा छोरा पनि पाए । फेरि छोरा पाएको खबर सुन्ने बित्तिकै खुसी नभई त्यसलाई राहु (बाधा) उत्पन्न भयो । अरुजस्तै छोरा पाएर खुसी हुनुभएन ।
सिद्धार्थले धेरै तपस्वी र ऋषी गुरुहरूसँग बसेर उनीहरूलाई छोडेर जानुभयो । तिनीहरूको शिक्षा र सिद्धान्तदेखि उहाँलाई चित्त बुझेन । सिद्धार्थ गौतमलाई चाहिने ज्ञान तिनीहरूसँग थिएन । तब आमा, बाबु र गुरुलाई पनि छोडेर जानुभयो । बुद्धत्व प्राप्त गर्नु भइसकेपछि कपिलवस्तुमा उहाँ भिक्षाटनमा जानुभयो । यो कुरा सुनेर शुद्धोद्धन महाराजले हतारेर गौतम बुद्धकहाँ गएर सोधे– राजसंस्कृति र परम्परालाई किन अपमान गर्नुभएको ?
गौतम बुद्धको जवाफ हो– महाराज । अब मेरो संस्कृति राजसंस्कृति होइन । अब मेरो परम्परा राजपरम्परा होइन । मेरो परम्परा र संस्कृति श्रमण परम्परा र जनसंस्कृति अनि समता संस्कृति हो । त्यसैले कुनै जाति भेदभाव नगरिकन जनताको घर–घरमा गएर भिक्षा माग्न गइरहेको छु ।
पहिलेदेखि पुस्तकलाई देववाणी सम्झने र गुरुले भनेको कुरा सत्य मान्ने परम्परालाई तोडेर कसैको कुरा सुन्ने बित्तिकै पत्याउनुहुँदैन, चाहे ठूला धर्मगुरु किन नहोस्, चाहे बुद्ध नै किन नहोस् । बुद्धको विचारअनुसार पहिले ठीक छ छैन, हुन्छ वा हुँदैन, पछिसम्म हित हुने हो वा होइन, विचार गरेर बुझेरमात्र त्यसलाई शिरोपर गर्नुपर्छ । अरु भगवान भनाउँदाहरूले मेरो कुरा सुन्नैपर्छ, मेरो शरणमा आउ अनिमात्रै मुक्त हुन्छ भन्छन् । बुद्धले त्यस्तो भन्नुभएन । मेरो शरण होइन आफ्नै शरण जाऊ । आफ्नो भरोसा आफै वन, आचरण राम्रो पार अनि दुःखबाट मुक्त हुनसक्छ ।
बुद्ध अनीश्वरवादी र अनात्मावादी हुन् । बुद्धले ईश्वर छैन र मान्नुपर्दैन, आत्मा नित्य होइन अथवा अनात्मावादको कुरालाई अगाडि राखेर ब्राह्मणवादलाई गम्भीर प्रहार गर्नुभयो । जन्मले कोही ब्राह्मण हुँदैन, कोही नीच पनि हुँदैन । आफ्नो काम (कर्म) ले नै मानिस ब्राह्मण अथवा नीच हुन्छ भनी गौतम बुद्धले परम्परावादलाई तोड्नुभयो र जातिवादको विरुद्ध क्रान्तिको पाइला चाल्नुभयो ।
३) गौतम बुद्ध शास्त्रीय होइन, अनुभवी हुनुहुन्छ
महामानव बुद्ध धेरै पुस्तक पढेर परीक्षा दिई पास गरेर पण्डित विद्वान बनेको हुनुहुन्न र बुद्धिविलासिता देखाउने खालका पनि हुनुहुन्न । उहाँ त शुद्ध व्यावहारिक व्यक्ति हुनुहुन्छ । उहाँले पहिले धर्मलाई वैज्ञानिक प्रतिष्ठा दिनुभयो । उहाँको त्यो समत्न्दा पहिले धर्म अन्धविश्वासको चिन्ह्नजस्तै भइराखेको थियो । उहाँले नरकको भय र स्वर्गको लोभले धर्म नगर्नु भन्नुभयो । मन शुद्ध गर, अन्तर्मुखी होऊ अर्थात् आफूले आफूलाई व्यवहार र चालचलन राम्रो गर, आफ्नो दोष र गल्ती देख, धेरै विद्वान हुँदैमा, कुरा गर्न जाँदैमा ज्ञानी र सन्त हुँदैन । चरित्र सुधार गरी व्यवहारमा प्रयोग गर्नसकेमात्र ज्ञानी होइन्छ नत्रभने अरुको गाई चराएर दूध खान नपाउने गोठालोजस्तै हुन्छ भन्ने उहाँले कर्तव्यपरायणताको शिक्षा दिनुभयो । यसरी शिक्षा दिएर नास्तिकहरूलाई पनि धर्म मार्गमा अग्रसर गराउनुभयो । हुन त पालि साहित्य हेरिलग्दा अशिक्षित वर्गलाई उहाँले नरकको भय र स्वर्गको प्रलोभन दिएर ठीक ठाउँमा ल्याउने प्रयास भने गरेको देखिन्छ ।
४) गौतम बुद्ध व्यवहारवादको पक्षपाती हुनुहुन्छ
सिद्धार्थ गौतम बुद्ध भइसक्दा पनि समाजबाट अलग्ग हुनुभएन । मानिसहरूको जीवन राम्रो पार्ने र मानिसलाई असल मान्छे बनाउने मनसायले चरित्र सुधार र कलह नहुने शिक्षा दिनमा उहाँले धेरै ध्यान दिनुभयो । महापुरुषहरू धेरैजसो घर जग्गा छोडिसकेपछि एकान्त जङ्गलमा जान्छन् र समाजबाट अलग्ग हुन्छन् । बुद्धले आफूलाई कमलको फूल हिलोमा फुल्छ र पानीमा डुबेर बस्छ तर कमल हिलो र पानीबाट अलग भएर रहन्छ ।” त्यस्तो बुद्धको जीवन पनि हो । यसबाट के बुझिन्छ भने मानिसहरूको जीवन मानव समाजबाट अलग्ग भएर एक्लै आनन्दले बस्नको लागि होइन । यो बुद्धको शिक्षा हो कि समाजमा बसेर समाजलाई गतिशील बनाउने र गतिविहीन हुने कुरा उहाँले बताउनुभएन । “अभिक्कममा निवत्त” अर्थात् अगाडि बढ, नरोक । यो उहाँको उद्घोषण हो । त्यसैले उहाँले आफूले बनाएको नियम सबै ठाउँमा पालन गर्नुपर्छ नभनी ठाउँ हेरी, समय हेरी संशोधन गर्न उचित छ भन्नुभयो । उहाँले महापरिनिर्वाण (मृत्यु) हुनुअघि भिक्षुहरूलाई बोलाएर भन्नुभयो– “भिक्षुहरू मैले तिमीहरूलाई जुन साना–साना नियमहरू बनाइदिएको छु, पछि तिमीहरू सबै मिलेर छलफल गरी सहमत भएअनुसार परिवर्तन गरे पनि हुन्छ ।” हुन पनि हो व्यवहारमा प्रयोग गर्न नसक्ने नियम राखिछाड्दा काम आउँदैन । त्यसबाट भ्रममात्र हुन्छ तर पछि सङ्गायना (भिक्षुहरूको धर्म सम्मेलन) भएको बेला नियम परिवर्तन गर्ने कुरामा धेरैजस्तो भिक्षुहरू सहमत भएनन् । फलस्वरूप थेरवाद र महासांघिक (पछि महायान) भनी दुई सम्प्रदायअनुसार बौद्ध भिक्षुहरू देखापरे ।
५) गौतम बुद्ध कट्टर सिद्धान्तवादी होइन
शाक्यमुनि बुद्ध महामानव हुनुहुन्छ । साधारणरूपमा धेरैजसो धर्मावलम्बीहरू कट्टर सिद्धान्तवादी छन् । उनीहरूको लागि सिद्धान्तमात्रै महत्वपूर्ण हुन्छ, मानवताको महत्व हुँदैन । मतलब मानिस धार्मिक सिद्धान्तको लागि हो । यहाँ धार्मिक भनेको साम्प्रदायिक हो । बुद्धले यो कुरा मान्नुभएको छैन । सिद्धान्त र विधान (नियम) एक वर्ग र एक समयको लागि उपयोगी हुनसक्छ । सबैको लागि र सदाको लागि उपयोगी हुँदैन । महामानव बुद्धको भनाइअनुसार सिद्धान्त र नियम मानिसको लागि हो । मानिस सिद्धान्त र नियमको लागि होइन । ब्राह्मणको कुलमा जन्मदैमा ब्राह्मण नै हुनुपर्छ भन्ने केही छैन । बुद्धले भन्नुभयो, “जन्मले कोही ब्राह्मण हुँदैन । जन्मले कोही नीच पनि हुँदैन । आ–आफ्नो काम वा क्रियाकलापले ठूलो र सानो हुने हुन्छ ।” ब्राह्मणदेखि लिएर पोडेसम्मलाई पनि उहाँले आफ्नो भिक्षु सङ्घमा भित्याउनुभयो । यसबाट देखिन्छ कि गौतम बुद्धले विधिविधानलाई भन्दा आचरण शुद्धि र मानिसलाई मान्यता दिनुभएको छ । मानिसको हित र भलोको लागि विधान र कानुन बनाइन्छ तर हित भएन भने त्यो विधान बदलिदिन्छ । कुनै घटना र कारण नभइकन कानुन र नियम बनाइँदैन ।
एकपल्ट गौतम बुद्धका प्रमुख शिष्य सारिपुत्र महास्थ विरले प्रार्थना गर्नुभयो– भो शास्ता, भिक्षुहरूलाई संयमित गर्न नियम धेरै बनाउनुप¥यो ।
गौतम बुद्धले भन्नुभयो– घाउ नहुँदै औषधि गर्ने ? घाउ भएमा पो औषधि लगाउने गर्नुपर्छ । त्यसैले घटना नहुँदै पछि यस्तो हुनेछ भनेर नियम बनाउनुहुँदैन । बरु बुद्ध आफैले ठाउँ हेरी समयअनुसार आफैले नियम बदल्नुभएको छ । यसबाट के देखिन्छ भने गौतम बुद्ध कट्टर विधि एवं नियमवादी हुनुहुन्न । उहाँ त बहुजनहितवादी हुनुहुन्छ । उहाँ बहुजनहित हुने किसिमले मात्र कुरा र काम गर्नुहुन्छ । यो उहाँको व्यक्तित्वको विशेषता हो । उहाँले सर्वजनहिताय भनी भन्नुभएको छैन, यस्तो हुन पनि सक्दैन ।
६) बुद्धबोधवादी हुनुहुन्छ ।
बुद्धले पहिले कसैलाई नियममा बस्ने कुरा गर्नुभएन, बरु सम्झाउनु बुझाउनुहुन्थ्यो । बुद्धसँग कुन राम्रो कुन नराम्रो भनी सोधे भने होश राखी बुझी गरेका काम राम्रो र होश नराखी पुण्य (धर्म) भनी गरे पनि त्यस्तो कुरा पाप हुनसक्छ । परिस्थिति हेरी हरेक कुरा फरक भएर जाने हुन्छ । प्रमादमा नलाग, अप्रमादी होऊ अर्थात् लापरबाही नहुनु, होशियारी हुनु बेस । यो बुद्धको अन्तिम उपदेश र शिक्षा हो ।
क्रोध भनेको पाप हो कि धर्म भनी सोधेको प्रश्नमा गौतम बुद्ध भन्नुहुन्छ– होश राखी गरेको क्रोध धर्म हुन्छ । जोशमा होश गुमाइ गरेको क्रोध पाप हुन्छ । यो कुरा बुझाउन जापानको एउटा घटना प्रस्तुत गर्छु । यो घटना मैले “रजनिसको सत्यकी खोज” भन्ने पुस्तकमा पढेको हुँ ।
एकजना जापानी धर्मगुरुले आफ्नो शिष्यलाई भनिराखेको थियो– “कसैलाई मार्नुप¥यो भने बेहोशमा अर्थात् आवेशमा परेर क्रोध गरेर नमार ।”
केही दिनपछि एकजना शत्रुले त्यस धर्मगुरुलाई मारिदियो । आफ्नो गुरुलाई मार्नेलाई मारिदिन्छु भनी तरवारले हान्न लागेको बेला त्यो शत्रुले मुखमा थुकिदियो । अनि तरवार उठाउनेलाई एकदम रीस उठ्यो । अनि नमारिकन तरवार भुइँमा राखी सरासर हिंड्यो ।
शत्रुले सोध्यो– तिमी किन मलाई नमारिकन गएको ? उसको जवाफ हो– तिमीले मेरो मुखमा थुकिदिंदा मलाई खूब रीस उठ्यो । मैले गुरुले भन्नुभएको कुरा सम्झेँ– “कसैलाई मार्न परे रीसले होश गुमाएर नमार ।” मलाई एकदम रीस उठेकोले तिमीलाई नमारेको हुँ ।
यहाँ रीस उठे पनि होश भएकोले पाप भएन । होश नभएको भए अनि गुरुको शिक्षा बिर्सेको भए त्यसले शत्रुलाई तरवारले टाउको काटिसक्थ्यो होला ।
कसैले भन्न सक्छ कि क्रोध भनेको कुनै पनि ठीक छैन तर कहिलेकाहीं बुद्ध पनि रिसाउनुभएको छ । बुद्धलाई रीस उठेको घटना पालि साहित्यमा धेरै ठाउँमा पाइन्छ तर अरुको भलाइ गर्न र सुधार गर्नलाई मात्र उहाँ रिसाउनुहुन्छ । त्यसबेला होश राख्नुहुन्छ । त्यसैले सबैको क्रोधलाई नराम्रो भन्नुहुँदैन । होश नभएको रीसमात्र पाप हुन्छ । जस्तै जोशमा होश उडाएर आँखा नदेख्ने गरी रिसाउनु नराम्रो हो । विवेकी आमा बाबुले आफ्ना बच्चाहरूलाई गाली गर्दा तिनीहरूको भलाइको लागि क्रोध गर्छन् । अपवादस्वरूप कोही कोही अविवेकी आमा बाबुले रीस उठ्दा होश हराई आफ्ना छोरा–छोरीहरूप्रति अनर्थ गर्ने पनि छन् । त्यस्तै गुरुहरू पनि छन् । अङ्गुलिमालका गुरुले पनि अविवेकी भएर आफ्नो शिष्यलाई ज्यानमारा बनाइदियो । जे भए पनि बुद्धले आफू बोध भएजस्तै अरुलाई पनि बोध गर्नुहुन्छ । आफू शान्त भएरमात्र अरुलाई शान्त पार्न शिक्षा दिनुहुन्छ । आफ्नो मनलाई दमन गरेपछि मात्र अरुलाई मन वशमा राख्न उपदेश दिनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *