भर्खरै :

भारतीय चुनावको सन्दर्भ

छिमेकी देश भारतमा आजबाट सत्रौं लोकसभाको निर्वाचन हुँदैछ । जम्मा सात चरणमा हुने निर्वाचनको अन्तिम मतदान आगामी जेठ ५ गते हुनेछ । बेलायतबाट उपनिवेशमुक्त भए यता यो निर्वाचनलाई पर्यवेक्षकहरूले सबभन्दा संवदेनशील निर्वाचन भएको बताएका छन् । पाँच वर्षअघि सन् २०१४ मा भएको निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको चुनावी गठबन्धनले बहुमत प्राप्त गरेको थियो । नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने । काङ्ग्रेसको भ्रष्ट, कमजोर र बहुकेन्द्र भएको सरकारका कारण दिक्दार बनेका भारतीय जनताले संसदभित्रको अड्ढ गणितमा शक्तिशाली प्रधानमन्त्री मोदीबाट केही सकारात्मक परिवर्तनको आशा गरेका थिए । भाजपा र नरेन्द्र मोदीले चुनावको क्रममा लगाएका आकर्षक नाराले पनि धेरै मानिसलाई दिग्भ्रमित बनाएको थियो । भाजपाको ऐतिहासिक पृष्ठभूमिबारे जानकार बुद्धिजीवीहरूले भने मोदीको सत्तारोहण भारतीय जनताको लागि अझ चुनौतीपूर्ण हुने विश्लेषण गरेका थिए ।
नभन्दै मोदी शासन भारतीय जनताको लागि प्रीतिकर हुन सकेन । मोदीले चुनावताका दिएका सबै आश्वासन ढोङ्गमात्र भएको पुष्टि भयो । हिन्दू अतिवादी वैचारिक पृष्ठभूमिबाट उदाएको भाजपा र मोदीले भारतको बहुल समाजलाई स्वीकार्न सकेन । ‘हिन्दुस्तान हिन्दूहरूको हो’ भन्ने विचारमा आधारित रहेर मोदी सरकारले भारतभरि साम्प्रदायिकता भावनाको खेती ग¥यो । गैरहिन्द्ू, अल्पसङ्ख्यक र दलित समुदायविरुद्ध मच्चाइएको साम्प्रदायिक दङ्गालाई राज्य स्वयम्ले संरक्षण ग¥यो । समाजको बहुलतालाई स्वीकार्नुको सट्टा राज्यले आफ्नो आकार र रङ्गबाहेकका अरु सबैलाई ‘राजद्रोही’ को आरोप लगाएर दमन गर्न खोजियो । प्रगतिशील विचार बोक्ने बुद्धिजीवी र युवाहरूलाई कहिले ‘राजद्रोही’ त कहिले ‘सहरी नक्सलवाडी’ को आरोप लगाएर लगातार दमन गरियो ।
मोदी शासनमा भारतीय समाज निकै असहिष्णु र साँघुरो बन्दै गएको विभिन्न अध्ययनले देखायो । ‘संसारकै सबभन्दा ठूलो लोकतन्त्र’ भनी दाबी गरिएको भारतीय लोकतन्त्रलाई मोदीले ‘गेरु वस्त्र राजनीति’भित्र फासीवादी आकार दिन खोजे ।
आजबाट हुने निर्वाचन मोदी फासीवादलाई अझै बलियो बनाउने वा पराजीत गर्ने प्रश्नको निक्र्यौल गर्ने प्रजातान्त्रिक अस्त्र हो । यो निर्वाचनमा भारतका व्यापक जनता फासीवादलाई पराजीत गर्नुपर्ने विचारका साथ लागेको देखिन्छ । त्यसो त भाजपाको विकल्पमा सत्तासीन हुनसक्ने काङ्ग्रेस वा जनता दलको सरकार पनि भारतका व्यापक कामदार जनताको हितमा हुनसक्दैन । काङ्ग्रेसको शासन भारतीय जनताले स्वतन्त्रता पछि दसकौंसम्म भोगेकै हो । काङ्ग्रेस र जनता दल पनि वर्गीयरूपमै भारतका शोषक वर्गको पार्टी भएको हुँदा तिनीहरूको सरकारले भारतका किसान र मजदुरको हितमा कदापि काम गर्नसक्दैन । मोदी फासीवाद भारतीय पुँजीवादको अनुदार पक्ष हो भने काङ्ग्रेस पुँजीवादको खम्बा हो । भारतीय जनताको लागि भाजपा र काङ्ग्रेसबीच मौलिकरूपमा कुनै भिन्नता छैन । भाजपाले जातीय वा धार्मिक साम्प्रदायिकता फैलाएर भारतीय जनतामाथि दमन गर्छ भने काङ्ग्रेसले आर्थिक साम्प्रदायिकता फैलाएर जनतामाथि दमन गर्ने गर्दछ ।
भारतमा कामदार जनताको वास्तविक सरकार अझै पनि स्थापना भएको छैन । यो निर्वाचनबाट आउने सरकार पनि भारतीय जनताको सरकार हुनेछैन । भारतको कम्युनिष्ट आन्दोलन पनि नेपालको कम्युनिष्ट आन्दोलनजस्तै संशोधनवादको रोगबाट सङ्क्रमित छ । संशोधनवादी कम्युनिष्ट पार्टीहरूले भारतका किसान र मजदुरहरूका अधिकारबारे केही आशा जगाए पनि भारतीय समाजमा आमूल परिवर्तनको नेतृत्व गर्न भने अहिलेका कम्युनिष्ट पार्टीहरू सैद्धान्तिक रुपमा ठीक स्थानमा छैनन् ।
तसर्थ यो निर्वाचन पनि पुँजीवादी निर्वाचनको सिलसिलामात्र हुनेछ । यसबाट आमूल परिवर्तनको आशा गर्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *