भर्खरै :

सबै कम्युनिष्ट पार्टीलाई एउटै दृष्टिले हेर्न नमिल्ने

–हर्कबहादुर केसी
राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेल एक समाजशास्त्रीको भनाइ भन्दै नेपालमा कम्युनिष्ट छँदै छैन भनी निष्कर्षमा पुगे । ‘कम्युनिस्ट, कम्युनिस्ट रहेनन्’ भन्ने आफ्नो लेखमा उनले नेपालमा आज आदर्शको राजनीति गर्ने, कम्युनिजममा विश्वास गर्ने समाजवादीहरू कुनै नभएको विचार पोखे । राजनीतिक समाजशास्त्रका एक अध्यापकको नेपालमा कुनै पनि कम्युनिष्ट पार्टीहरू नभएको व्यक्त विचारले नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनबारे उनले सतही अध्ययन गरेको भन्न कर लाग्छ । एक दुईवटा कम्युनिष्ट पार्टीले कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार छोडेर सत्ताको बुइमा चढेको भरमा सबै कम्युनिष्ट पार्टीलाई एउटै दृष्टिले हेर्नु उनको दृष्टिदोषबाहेक अरु होइन ।
हो, नेपालमा कम्युनिष्टको बाटो (सिद्धान्त र विचार छोडेका) बिराएका दलहरू पनि छन् । कम्युनिष्टको खोल ओढेर, कम्युनिष्टकै सिद्धान्त र विचार छोडेर कम्युनिष्टकै नाउँमा राज्यकोषमा दाइँ गर्ने दललाई केन्द्रित गरेर आएको उनको विचार गलत होइन । घूसमा डुबुल्की मारेकादेखि कालाबजारिया व्यापारीसम्म, धर्मभिरुदेखि भेदभावलाई प्रश्रय दिनेसम्म, पुँजीवादीदेखि नवउदारवादी अर्थ व्यवस्थाका कट्टर समर्थकसम्मका व्यक्तिहरूले आफूलाई कम्युनिष्ट भनी हिंडेकोमा, सङ्गठनमा लागेर राजनीति गरिरहेकोमा लेखक प्याकुरेल अचम्मित हुनु अस्वाभाविक होइन । तर, यहाँ कम्युनिष्ट छँदै छैन भन्ने उनको गलत बुझाइमात्र हो कि उनी कट्टर कम्युनिष्ट विरोधी हुन् ? नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटो विचारको खण्डन गर्दै कम्युनिष्ट पार्टीलाई प्रकाशस्तम्भको रूपमा काम गरिरहेको दललाई सम्झना नगर्ने, त्यसको दलले निर्वाह गरिरहेको भूमिकालाई बिर्सने काम एक राजनीतिक समाजशास्त्रीलाई सुहाउँदैन ।
देशका शोषित पीडित जनताको पक्षमा स्थापनाकालदेखि सङ्घर्ष गर्दै आएको एक दल नेमकिपा पनि हो । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, उपनिवेशवाद र पुँजीवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै आएको दल नेमकिपा हो । प्रत्येक पटकको निर्वाचनमा नेमकिपाले समाजवाद र पुँजीवादबारे विभेद देखाउँदै जनतालाई समाजवादी अवधारणाबारे सुसूचित पार्दै आएको छ । जातीय, सङ्कीर्ण र अवसरवादी राजनीतिको विरोध गर्न नेमकिपा कहिल्यै पछि परेको छैन । सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्धको विरोध गरेर नेमकिपाले नेपाल र नेपाली जनताको पक्षमा आवाज बुलन्द गर्दै आएको घामझैँ छर्लङ्ग छ । देश र जनताको सेवा गर्न नेमकिपाले कानुनी र गैरकानुनी सङ्घर्ष ग¥यो, प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर निर्वाचनलाई उपयोग ग¥यो । क्रान्तिकारी भूमिसुधार लागू गर्न र गराउन सङ्घर्ष गरिरह्यो । मजदुर, किसान, शोषितपीडित जनताको पक्षमा सङ्घर्ष गरिरहेको दलको योगदान भुलेर समाजशास्त्री प्याकुरेल किन झूटको खेती गर्दै छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *