भर्खरै :

कर्णालीमा गुच्ची च्याउ र सुदूरपश्चिममा यार्सा

जुम्ला, ५ वैशाख । गुच्ची च्याउ कर्णाली र यार्सागुम्बा सुदूरपश्चिम प्रदेशमा बढी उत्पादन हुने बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा यहाँ आयोजित ‘जङ्गली खाद्यफल (च्याउ)’ सम्बन्धी अन्तरक्रियामा सो कुरा जनाइएको हो । उक्त प्रतिष्ठानले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ५९ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा २८ तथा अन्य प्रदेशमा १३ प्रतिशत गुच्ची च्याउ उत्पादन हुने गर्दछ ।
यार्सागुम्बा सुदूरपश्चिममा ७२ प्रतिशत कर्णालीमा २७ र अन्य स्थानमा एक प्रतिशत यार्सा उत्पादन हुँदै आएको नास्टका वरिष्ठ वैज्ञानिक जयकान्त रावतले बताउनुभयो । “साधारण च्याउ सुदूरपश्चिममा ५० र कर्णालीमा ४६ प्रतिशत उत्पादन हुन्छ,” उहाँले भन्नुभयो ।चार प्रतिशत च्याउ अन्य प्रदेशमा पनि उत्पादन भएको पाइएको छ ।
वातावरणीय विविधताका कारण नेपालमा एक हजार १५० जातका च्याउ रहेको जनाउँदै वरिष्ठ वैज्ञानिक रावतले भन्नुभयो, “विषालु १००, औषधीय गुण भएका ७३ र खान हुने १४७ जातका च्याउ छन् ।” हालसम्म विश्वमा करीब १४ हजार प्रजातिका च्याउ पत्ता लागेको बताउँदै उहाँले तीमध्ये एक हजार २३७ जातका च्याउ खानयोग्य रहेको जानकारी दिनुभयो ।
नास्टको तथ्याङ्कअनुसार सन् २०१६ मा विश्व बजारमा खान हुने च्याउबाट रु.७ अर्बको व्यापार भएको थियो भने औषधीय गुण भएको च्याउको विश्व बजार सन् २०१७ मा रु. ३८ बिलियन अमेरिकी डलर पुगेको थियो । विश्व बजारमा च्याउको कुल उत्पादन १५० टन भएकोमा नेपालले ५–१० टन गुच्ची च्याउ निर्यात गर्दै आएको र त्यसको विश्व बजार रु. ७५ लाख अमेरिकी डलर पुगेकोे जनाइएको छ ।
नास्टका अर्का वरिष्ठ वैज्ञानिक लोकरञ्जन भट्टले शरीरलाई आवश्यक पर्ने पोषक तत्वको उपयुक्त स्रोत जङ्गली खाद्यफल भएकोले यसको अनुसन्धानमा प्रतिष्ठान लागेको बताउनुभयो । “नेपाल सरकारले वनमा आधारित उद्यमशीलतालाई प्राथमिकतामा राखेको छ,” वैज्ञानिक भट्टले भन्नुभयो, “वातावरणीय सन्तुलन कायम गर्न जङ्गल र हाम्रो शरीरका लागि आवश्यक पोषक तत्व ः फाइबर तथा रसायनहरू जङ्गली खाद्यफलबाटै प्राप्त हुन्छ ।”
वनमा आधारित उद्यमबाट वार्षिक रु. ८८ खर्बको कारोवार हुने र चार लाख पूर्णकालीन रोजगारी उपलब्ध हुने उहाँको भनाइ थियो । वैज्ञानिक भट्टका अनुसार नेपालको डोटीमा चुकको उत्पादन, कर्णालीमा डालेचुकको रस, पर्वतमा लप्सी, सङ्खुवासभामा ऐँसेलुको वाइन, तनहुँ, धनकुटा र रामेछापमा बेल जुस र सुर्खेतमा च्युरी उत्पादन हुँदै आएको छ ।
नेपालमा जुस क्षेत्रमा प्रतिस्पर्धा नभएको र गत चार वर्षमा नेपालबाट ४० देशमा यसको निर्यात गरिएको जनाइएको छ । कर्णालीका जडीबुटी कृषक रामकृष्ण बुढाथापाले गुच्ची च्याउको स्पोर सङ्कलन कसरी गर्ने, झ्याउँकिरीको शिरबाट सेतो फूलजस्तो देखिने च्याउ हाम्रो जङ्गलमा पाइने भएकोले त्यसको अनुसन्धान गर्न नास्टका वैज्ञानिकहरूलाई आग्रह गर्नुभयो ।
यहाँका जडीबुटी कृषकले भने नास्टले अध्ययन–अनुसन्धान प्रविधिसँगै सीप पनि स्थानीयस्तरसम्म हस्तान्तरण गर्न माग गरेका थिए । मुगु कार्मारोङ गाउँपालिकाका सोनामसाङ्मु लामा तथा कुञ्जाङ फुटिक लामाले यातायात पहुँच र साधन स्रोतको कमीले जङ्गली खाद्यफल कुहिएर जाने गरेको बताउनुभयो ।
खासगरी जङ्गली च्याउको वर्तमान अवस्था, सम्भावना र चुनौती के छन् ? तिनको दिगोपन, सङ्कलन उपयोगिता, व्यापार तथा बजारीकरण, नीतिगत व्यवस्था, स्थानीयवासीको सामाजिक तथा आर्थिक उत्थानमा पारेको प्रभाव, मूल्य अभिवृद्धि तथा गुणस्तर निर्धारण, कृत्रिम उत्पादन र च्याउसँग अन्य समसामयिक अध्ययन–अनुसन्धान गर्ने उद्देश्यले अघि बढेको उक्त प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *