भर्खरै :

युवाहरूलाई विदेश पठाएर कुनै पनि देश समृद्ध बन्दैन

राजेन्द्र चवाल, केन्द्रीय अध्यक्ष, नेक्रामसङ्घ
श्रमिक वर्गले आफै निर्णय गरी एक दिन काम बन्द गरी आफ्नो हकहित र वर्गीय मुक्तिबारे चिन्तन, छलफल, आन्दोलन र सङ्घर्ष गर्ने दिन नै मई दिवस वा अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । सिकागोदेखि साइबेरियासम्म, लण्डनदेखि सिलेसियासम्म, लियोनदेखि सेन्टपिटर्सवर्गसम्म पुँजीवादको विकाससँगसँगै सुरु भएका मजदुर अन्दोलनका सफलता र असफलताका कथाहरूबाट शिक्षा र प्रेरणा लिई पुँजीवादको विरुद्ध समाजवादको पक्षमा दृढतापूर्वक अगाडि बढ्ने प्रण गर्ने दिन हो मई दिवस । यो महत्वपूर्ण दिनमा मजदुर, किसान, युवा, विद्यार्थी, कर्मचारी, बुद्धिजीवीलगायत सम्पूर्ण काम गरी खाने श्रमिक जनतामा नेपाल क्रान्तिकारी मजदुर सङ्घको तर्फबाट १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सरकारमा जाने ठूला पुँजीवादी दलहरूले देशमा औद्योगीकरण र कृषि आधुनिकीकरणलाई अगाडि बढाउन असफल हुँदा आज नेपालमा पर्याप्त रोजगारीको सृजना हुन सकिरहेको छैन र लाखाँैं नेपाली युवाहरू वैदेशिक रोजगारको नाममा विदेशी मालिकसामु बेचिन बाध्य भइरहेका छन् । महिनौँसम्म बिहान उज्यालो भएदेखि बेलुका अध्यारो नभएसम्म खाडीको अनकन्टार मरुभूमिमा उँट चराउने मजदुरको अवस्था देख्दा सुन्दा २१ औँ शताब्दीमा पनि फरक आवरणमा दास व्यवस्था कायम रहेको भन्न हामीलाई कर लाग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकरूपमा ओरालिने ४÷५ वटा वैदेशिक रोजगारमा गएका मजदुरहरूको लासका बाकसले दोस्रो विश्वयुद्धको ७५ वर्षपछि आज पनि गोर्खालीहरूले विदेशी मालिकहरूको निम्ति मर्नुपर्ने नियति भोग्न बाध्य छन् भन्ने तथ्य पुष्टि गरिरहेको छ । एउटा तथ्याङ्कअनुसार नेपालका ७० लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारमा छन् । अर्थात् १०० जना नेपालीमा २५ जना नेपाली विदेशमा पसिना बगाउन बाध्य छन् । त्यसैगरी अध्ययनको नाममा वार्षिक लाखौँ युवाहरू अस्ट्रेलिया र युरोप अमेरिकामा मजदुरी गरी रगत पसिना चुहाइरहेका छन् । यसले एकातिर नेपाली युवाहरूलाई राजनैतिक चेतना र आन्दोलनबाट विमुख गरेको छ भने अर्कोतिर गाउँ–गाउँमा खेतीयोग्य जमिन बाँझो रही खाद्यान्नमा पनि देशलाई परनिर्भर बनाएको छ । यस्तो अवस्थामा आफूलाई कम्युनिस्ट भन्ने आहिलेको नेकपा एमाले र माओवादीको सरकारका प्रधानमन्त्रीदेखि श्रममन्त्रीसम्मले नेपालीहरूलाई जापान र मलेसिया पठाई देशलाई ‘समृद्ध’ बनाउने नारा फलाकिरहेका छन् । भएका जति युवाहरूलाई विदेश पठाएर कुनै पनि देश समृद्ध बन्न सक्दैन भन्ने कुरा विश्व इतिहास केलाउँदा स्पष्ट हुन्छ ।
सरकारले जारी गरेको श्रम ऐनले उद्योगहरूमा स्थायी मजदुरको अवधारणालाई हटाइ सबै मजदुरलाई करारको हैसियतमा झारेको छ । आफूलाई मन परे राख्ने र मन नपरे निकाल्न सक्ने अधिकार पुँजीपतिहरूलाई दिइएको छ । लगानीमैत्री वातावरण बनाउने नाममा मजदुरहरू हडताल र सङ्घर्षमा सहभागी हँुदा तलब दिन नपर्ने श्रमिकविरोधी नीतिलाई निरन्तरता दिइएको छ । विभिन्न संस्थाहरूमा विनाकारण श्रमिकहरू निकालिएका छन्, श्रमिकहरूले महिनौँसम्म तलब पाउन सकेका छैनन्, भर्खरै प्राविधिक विषय उत्तीर्ण भएका युवाहरूलाई भोलेन्टियरको नाममा महिनौँसम्म दुई कप चियाको भरमा बिनापारिश्रमिक काम गराइरहेको छ । एकातिर अधिकांश निजी प्रतिष्ठानहरूमा सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा पनि कम पारिश्रमिक दिइएको छ भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक एउटा सानो परिवारको अत्यावश्यक खर्च टार्न पनि पर्याप्त छैन र श्रमिकहरू ओभरटाइम वा दुईवटा काम गरी दिनको १०÷१२ घण्टा जोतिन बाध्य छन् । सामाजिक सुरक्षा कोषको नाममा सरकारले नयाँ युग ल्याउने ठूलो होहल्ला गरेको छ । न्युनतम् पारिश्रमिक पनि नदिने मालिकहरू सामाजिक सुरक्षा कोषमा सामेल हुने सम्भावना हुँदैन । त्यसकारण सामाजिक सुरक्षा कोष सरकारको एक छलछाममात्रै हो ।
नेपाली श्रमिकहरूको यो अवस्था १३० वर्ष अगाडिका शिकागोका मजदुरहरूको अवस्थाभन्दा तात्विकरूपमा फरक छैन । विज्ञान र प्रविधिले फड्को मारेपनि श्रमिक वर्गको दुःख उस्तै छ । कामदार जनताको मिहिनेतबाट पुँजीपतिहरूले उठाउने नाफा नै पुँजीवादी व्यवस्थाको आधार हो । कामदार जनताको शोषणमा आधारित पुँजीवादी व्यवस्थाको चरित्र झन्झन् उदाङ्गिंदै गएको छ । पुँजीवादको विकल्प समाजवादमात्र हुन सक्छ । अतः पेशागत हक हितको माग सँगसँगै समाजवादको पक्षमा प्रचार गर्नु र समाजवादको निम्ति सङ्गठन र सङ्घर्ष गर्नु नै श्रमिक वर्गको कर्तव्य हो । मई दिवसको अवसरमा सम्पूर्ण शारिरिक एवम् बौद्धिक मजदुरहरूलाई पुनः एक पटक शुभकामना व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *