भर्खरै :

‘जनताको साहित्य’ लाई फर्केर हेर्दा

– जमिला
आजभन्दा ४०–४५ वर्ष अगाडि नेमकिपाको नेतृत्व भारत प्रवासमा हुँदै ‘जनताको साहित्य’ प्रकाशन सुरु गरिएको थियो । समयको आवश्यकताअनुसार देश बाहिरबाट पनि प्रगतिशील र जनपक्षीय साहित्यमार्फत नेपाली जनताको सेवा ‘जनताको साहित्य’ ले ग¥यो । ‘जनताको साहित्य’ ले नेपाली साहित्यको प्रगतिशील फाँटमा स्पष्टता थप्यो भने साहित्यप्रेमीहरूलाई राजनीतिक विचार प्रदान गर्दै सङ्घर्षको निम्ति ऊर्जा थप्यो । ‘जनताको साहित्य’ ले नेपाली जनताको वास्तविक प्रजातन्त्र र स्वतन्त्रताको निम्ति भइरहेको सङ्घर्षमा बल थप्यो । भारतीय भूमिमा बसेर भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवादविरुद्ध कलम चलाउन पक्कै पनि सजिलो थिएन । ‘जनताको साहित्य’ विदेशी भूमिमा बसेर नेपाली पञ्चायती गुप्तचरहरूको आँखा छल्दै प्रकाशन गर्नु कम जोखिमपूर्ण थिएन ।
‘जनताको साहित्य’ का विभिन्न अङ्कमध्ये बुलेटिन नं. ५ को यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ । यस अङ्कमा देश छ, देशप्रेम छ, जनताप्रतिको इमानदारी र माया छ । तात्कालीन राजनीतिक परिवेशको सजीव चित्र छ । शोषणको विरोध, जनताको आक्रोश, माटोको चित्कार छ । सबैभन्दा महत्वपूर्ण कुरा जनताको साहित्यभित्रका साहित्यहरूमा जीवन छ । त्यसकारण आज पनि ती साहित्य उत्तिकै सान्दर्भिक र सामयिक छन् ।
इतिहासको गर्भभित्र रहेका यस्ता थुप्रै महत्वपूर्ण पुस्तक र बुलेटिनहरूको गौरवपूर्ण इतिहासलाई जोगाइराख्न पुनः अध्ययन तथा चर्चा आवश्यक छ । ४० वर्षपछिका नयाँ पुस्ताबीच ‘जनताको साहित्य’ लाई जीवित राख्न यसको प्रकाशनमा निरन्तरता जरुरी छ । पाठकले ‘जनताको साहित्य’ समयमै निरन्तर पढ्ने अपेक्षा राख्नु स्वाभाविक पनि हो । ‘जनताको साहित्य’ आफै नेपाली प्रगतिशील साहित्यको इतिहासमा महत्वपूर्ण बुलेटिन हो भन्दा फरक नपर्ला । आमूल परिवर्तन र क्रान्तिको पक्षमा लेखिएका साहित्यले भरिएको ‘जनताको साहित्य’ को ऐतिहासिक महत्व समय सँगसँगै बढ्दै जाने निश्चित छ ।
यस अङ्कमा पाठक बी.के. किसानको राय समेटिएको छ । जनताको साहित्य बुलेटिन नं. १, २ र ३ भित्रका विषयमा चर्चा गर्दै पाठकले साहित्यिक क्षेत्रमा ‘जनताको साहित्य’ ले पारेको प्रभाव र आफ्नो विचार पोखेका छन् । बुलेटिनमा पाठकको राय समेटिनु सकारात्मक पक्ष हो ।
साहित्य र कला क्रान्तिकारी राजनीतिक सङ्घर्षको सहायक बन्नुपर्छ । क्रान्तिकारी अभियानदेखि विजयसम्मका लागि साहित्यको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस्तै विचार बोकेर ‘जनताको साहित्य’ को यात्रा सुरु भएको थियो । “साहित्य राजनीतिको हतियार हो” भन्ने अध्यक्ष रोहितको भनाइलाई आत्मसात् गरेको अनुभूति पाठकलाई हुन्छ ।
जनउत्थानका निमित्त, नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशानिर्देश गर्नका लागि निरन्तर कलम चलाउनुहुने हरिबहादुर श्रेष्ठको चर्चित कथा ‘उनी कसरी कम्युनिस्ट बने ?’ को एक अध्ययन बुलेटिनमा समेटिएको छ । ‘पेशेवर कार्यकर्ता – जनताका आँखाको नानी’ कथा विनोद (वीरगञ्ज) का नाममा प्रकाशित छ । ‘म जनताको डाक्टर बन्ने छु’ कथा गाउँले (लुम्बिनी) को नाममा प्रकाशित छ । यी तीनै कथा हरिबहादुर श्रेष्ठका कथाहरू सङ्ग्रहमा सङ्ग्रहित छन् । अत्यन्त सरस र जनताले बुझ्ने भाषामा लेखिएका यी कथाहरूले पाठकमा क्रान्तिचेत प्रवाह गर्छन्, जनताको सेवामा लाग्न उत्साहित गर्छन् ।
यस बुलेटिनभित्र शिक्षकहरूमाथि प्रशासनको अत्याचारको विरोध छ । सप्तरीमा बाली काट्ने किसान आन्दोलनमा जनता उठेको, किसानले आफ्नो अधिकारको निम्ति सङ्घर्षमा उत्रेको, जमिनदारको अत्याचार र शोषणविरुद्ध जनता गाउँ–गाउँ, खेत खलिहानबाट जागी उठेको यथार्थ चित्र बुलेटिनमा प्रस्तुत छ ।
एक निडर लडाकु कैंट अर्थात् कम्बोडियाली राष्ट्रिय मुक्ति मोर्चाको गुप्त हुलाकी कार्यकर्ताले फासिष्टहरूविरुद्ध लडेको वीरताको कथा बुलेटिनमा छ । सारा देश र जनतालाई न्याय, स्वतन्त्रता, मुक्ति र नयाँ जीवन दिन लडेका बहादुर कैंटको कथाले पाठकको हृदय जरुर छुन्छ ।
‘नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारीहरू र त्यसको सही समाधानका उपायहरू’ शीर्षकको लेखमा श्री यादव (नारायणी अञ्चल) लेख्नुहुन्छ –“नेपाली र भारतीय जनताको सामाजिक र सांस्कृतिक सम्बन्ध इतिहासजत्तिकै पुरानै छ ।” तर भारतीय एकाधिकार पुँजीको थिचोमिचोको विरोधमा देशको अखण्डता र सार्वभौमिकता जोगाउने सङ्घर्ष पनि जारी नै छ । भारतीय सरकारको बडाराष्ट्र अहङ्कारवादी प्रवृत्ति, प्रभुत्ववादी नीतिविरुद्ध सचेत जनता सङ्घर्षरत छन् । बेलायती साम्राज्यवादले नेपाल भारतबीच रोपेको झगडाको बीउ झन्झन् हुर्कंदै छ । सुगौली सन्धि र गोरखाभर्ती नेपाली मुटुको किल्लो हो भनी बुलेटिनले प्रस्ट पारेको छ । राणाहरूदेखि अहिलेका शासक दलसम्म किन भारतीय सरकारको ज्यू हजूरी गर्छन् भन्ने ऐतिहासिक र यथार्थपरक पृष्ठभूमि यस लेखमा छ । नेहरूकालीन भारतले लिएको नेपालमाथिको हेपाहा, हस्तक्षेपकारी तथा अतिक्रमणकारी नीतिबारे स्पष्ट व्याख्या यस लेखमा छ । पञ्चशीलको सिद्धान्त लत्याउँदै नेपालको प्राकृतिक स्रोत र जमिन अतिक्रमण गरिरहेको भारतको वास्तविक स्वरूपबारे पाठकलाई अवगत गराउने यस लेख विशेष महत्वको छ । ‘नेपाल भारत सम्बन्ध र भारत’ पुस्तकमा समेटिएको यस लेख निकै पठनीय छ ।
अनिल (वीरगञ्ज) द्वारा लिखित ‘जनतालाई चुस्ने विभिन्न किसिमका व्याजहरू’ शीर्षकको लेखले साहुले लिने व्याज र कोसेली शोषणकै रूप हो भन्ने सन्देश दिन्छ । नेपाली समाजमा प्रचलित ढ्याके व्याज, नुने व्याज, चोके व्याज, धाने व्याज, तोरी व्याज, कोसेली आदिको जानकारीमूलक व्याख्या गरिएको छ ।
तराईका किसानहरूको वास्तविक अवस्था, जनताको स्वास्थ्यबारे सरकारको हेलचेक्राइँ, भक्तपुर अस्पतालको नाजुक अवस्थाबारे यथार्थ विश्लेषण बुलेटिनमा प्रस्तुत छ ।
विदेशी ऋण र दानमा मात्रै टिकेको अर्थतन्त्र तासको घरमात्र होइन राष्ट्रिय स्वाभिमानको अवमूल्यनको प्रतीक हो । पञ्चायती सरकार विदेशी ऋण र दानकै भरमा अर्थतन्त्रलाई हाँक्ने कुरा गरिरहँदा बुलेटिनले ‘पञ्चायती सरकारको ल·डो आर्थिक नीति’ भनी तीखो व्यङ्ग्य गरेको छ । यो आजको गणतन्त्रमा पनि सान्दर्भिक विषय बन्दैछ ।
जनताको जग्गाको मुआब्जामा भ्रष्टाचार हिजो जति थियो आज त्योभन्दा अझ बढेको महसुस गरिइँदै छ । भक्तपुर जिल्लामा चीन सरकारले इँट कारखाना बनाउने भएपछि सरकारले जग्गा लियो । अहिले त इँट कारखाना नै निजी क्षेत्रलाई दिएर भ्रष्टाचार गरेको छ र जनतालाई धोका दिएको छ ।
यो वर्ष पनि मई १ को दिन संसारका सारा काम गरी खाने श्रमिकहरूले उत्साहका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाए । मई १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस किन, कहाँ र कसरी सुरु भयो भन्ने ऐतिहासिक पृष्ठभूमि उषाकुमारी लिखित निबन्धमा पाइन्छ ।
जनलेखक हरिबहादुर श्रेष्ठको कविता ‘प्रिय, तिमीलाई अन्तिम चिट्ठी’ एक सच्चा देशभक्तको हृदयावाज हो । जनताको सेवा गर्ने विचारको पक्षमा उभिने साँचो मानिसको आह्वान हो । परिवार र घरभन्दा देश माथि हुन्छ । पद र पैसाभन्दा स्वाभिमान माथि हुन्छ भन्ने सन्देश दिने यस कविता ‘आकाश बाँधिएको छैन’ कवितासङ्ग्रहमा सङ्ग्रहित छ । कवि श्रेष्ठ भन्छन्–
‘…तिमीले सहने हरेक हण्डर र कष्ट आखिर
इस्पात बन्ने हनाई हो भन्ने बुभ्mनेछौ
तिमी झन मनले बलिया हुनेछौ,
हामीले देश र जनतासँगै युगयुग जिउन पाउने छौँ,
त्यो इज्जत र गौरवको जीवन, सुखको जीवन हुनेछ’
‘हाम्रो घर हाम्रो देश’ शीर्षकको प्यालिस्टिनी कविता सन्देशमूलक र मार्मिक छ । लेवनानको प्यालिस्टिनी जनताको शरणार्थी बस्ती तेल अल–जाआतारमा प्यालिस्टिनी जनताको आफ्नो देश फिर्ता लिने सङ्घर्षको कविता बुलेटिनमा छ । कवयित्री श्रीमती रेणु रचित ‘एक मुठी सतुवा’, ‘एक बियाँ घुम्छ’ नामक मैथिली कविताहरू बुलेटिनमा सङकलित छन् ।
यस बुलेटिनमा ५ वटा फुट्कर कविताहरू छन् । ती कविताहरूले नयाँ बिहानीको आशारुपी दीप प्रज्ज्वलित गरेको अनुभूति पाठकले गर्नेछन् । कवितामा सहिदहरूको सम्झना गरिएको छ  ।
पुछार घरे जेठो सहिदको सम्झना गर्दै लेख्छन् –
‘तिमी मरेर पनि बाँचिदियौ
सूर्य पनि अन्धकार छोडेर जान्छ
तर, तिमी ज्योति छरेर गयौ ।
इतिहासको कालो पानामा
तिमीले रातो रङ्ग भरिदियौ ।’
समग्रमा १०८ पृष्ठको ‘जनताको साहित्य’ अङ्क ५ अत्यन्त पठनीय हुनुका साथै सङ्ग्रहणीयसमेत छ । बुलेटिनको गाता मुद्रण पुरानो शैलीको भएपनि त्यसभित्रका प्रत्येक रचना आज पनि ऊर्जा दिने खालका छन् । नेपाली साहित्य जगतमा प्रगतिशील र माक्र्सवादी धार जन्माउने र हुर्काउने ‘जनताको साहित्य’का प्रत्येक पुराना अङ्कहरूको पुनः पठन फलदायी हुनेछ । सम्पादक ‘जीवन श्रेष्ठ’ प्रति पाठक अनुग्रहित नभइरहन सक्दैनन् ।
४०–४५ वर्ष लामो इतिहास बोकेको ‘जनताको साहित्य’को नियमित प्रकाशनको अपेक्षासहित प्रकाशक जनताको साहित्य गोष्ठीप्रति साधुवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *