भर्खरै :

व्यापार वार्तामा अमेरिकासँग तीन बिषयमा मुख्य असहमति रहेको चिनियाँ भनाई

बेइजिङ, चीन, २८ वैशाख (रासस÷एएफपी) :अमेरिका–चीनबीच विगत केही महिनादेखि चलिरहेको व्यापार वार्ताका प्रमुख वार्ताकार तथा चिनियाँ उपप्रधानमन्त्री लिउ हेले वासिङ्टन र बेइजिङबीच प्रमुख तीन असहमति रहेको बताउनुभएको छ ।
वासिङ्टनमा दुई दिन लामो वार्तापछि वासिङ्टनमा शुक्रबार साँझ गरिएको पत्रकार सम्मेलनमा लिउले भन्नुभयो, “वार्ता भङ्ग भएको छैन । तर अमेरिकाले चिनियाँ सामानमाथि थप कर वृद्धि गर्ने घोषणाले दुई देशबीच सामान्य तर फरक मोड निम्त्याएको अवस्था हो । दुई देशबीचको वार्ता अपरिहार्य छ ।”
उहाँले अर्को वार्ता मितिबारे उल्लेख नगरिकन भन्नुभयो, “दुवै पक्षले फेरि बेइजिङमा भेट गर्ने र वार्तालाई अघि बढाउने कुरामा सहमति भएको छ ।”
संयुक्त राज्य अमेरिका र चीनले दुबैतर्फ गरी गत बर्षदेखि करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गरेका छन् । यसबाट अमेरिकी कृषिजन्य सामानहरूको चीन निर्यात ठूलो पैमानामा घटेको छ भने चीनबाट अमेरिका पुग्ने सामानमा पनि उल्लेख्य कमी आएको छ ।
व्यापार विवादका कारण दुवै देशको विनिर्माण क्षेत्रका सामानमा भएको मूल्य वृद्धिका कारण विश्वका दुई ठूला अर्थतन्त्रका साथै विश्व बजारमा पनि यसको प्रभाव परिरहेको छ ।
यद्यपि लिउले दुई दिन लामो पछिल्लो वार्ता ‘लाभदायी’ भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हामीले धेरै कुरामा सहमति जुटाएका छौँ । प्रष्ट भन्नुपर्दा केही क्षेत्रमा मतभिन्नता देखिएको छ । र हामीलाई थाहा छ कि ती मतभिन्नताका बिषय भनेका ठूला सैद्धान्तिक चासोका कुरा हुन् ।”
उहाँले भन्नुभयो, “पहिलो, चिनियाँ पक्षले सम्झौताका लागि दण्डजन्य सबै कर खारेज गरिनुपर्ने अडान राखेको छ जसमा अमेरिकाले सहमति जनाउन मानेको छैन । यद्यपि यो छलफलको क्रममा रहेको छ ।”
“दोस्रो, चीनले आयात गर्ने अमेरिकी सामानको प्रारम्भिक तथ्याङ्कमा अर्जेन्टिनामा भएको व्यापार सम्झौताका लागि भएको घोषणामा नै चिनियाँ राष्ट्रपति सी चिन फिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सहमति बनेको थियो तर अन्त्यमा तथ्याङ्क के हो भन्नेमा दुवै पक्षबीच फरक फरक धारणा देखिएको छ । हामीलाई लाग्छ यो निकै गम्भीर कुरा हो र त्यो सजिलै परिवर्तन हुन सक्दैन ।”
“तेस्रो कुरा सहमतिको बिषयहरू दुवै पक्षका लागि ‘सन्तुलित’ हुनुपर्छ किनकि कुनै पनि मुलुकले आफ्नो प्रतिष्ठा गुमाउन चाहन्न । मलाई लाग्छ यि सबै ठूला सैद्धान्तिक पक्षहरू हुन् । किनकि हरेक राष्ट्रका आ–आफ्ना हिसाबले महत्वपूर्ण एजेन्डा हुनसक्छन् । हाम्रो (चीनको) कुरा गर्दा हामीले सिद्धान्तका बिषयमा सम्झौता गर्न सक्दैनौँ ।”
अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा दुई खर्ब अमेरिकी डलर बराबरको कर वृद्धि यस पहिले नै गरेको बताउनुभएको छ भने चीनले पनि बदलामा अमेरिकी सामानमाथिको करवृद्धि गरेको छ ।
पछिल्लो हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी भन्सार अधिकारीलाई तीन खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा भन्सार वृद्धि गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । योसँगै चीनबाट अमेरिका जाने लगभग सम्पूर्ण सामानमा कर वृद्धि हुने चिनियाँ अधिकारीले बताएका छन् ।
चीनले पनि बदलामा आवश्यक निर्णय लिने अमेरिकी घोषणाको केही मिनेट भित्रमानै जनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *